
मनाइयो काग तिहार
कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व शनिबार यमराजको दूतका रूपमा कागलाई मीठा– मीठा चिजबिज खान दिएर मनाइएको छ ।
काग तिहार पर्वदेखि नै नेपालीको दोस्रो महान् चाड यमपञ्चक शुरु हुने भए पनि यस वर्ष तिथिको घटबढका कारण शुक्रबारदेखि नै यमपञ्चक शुरु भएको थियो । कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकासम्म नेपालीले दोस्रो ठूलो पर्वका रुपमा तिहार मनाउने गर्छन् । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर मीठा–मीठा खान दिई खुशी पार्ने गरिएको पनि उनले बताए । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गरिन्छ ।
बाकु घोषणापत्र जारी
असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवम सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनले शनिबार वर्तमान भूराजनीतिक परिस्थितिमा नयाँ वास्तविकतासँग मुखरित हुन आरम्भमा राखिएकै अवस्थामा सही र सान्दर्भिक रहिआएको यसका आधारभूत सिद्धान्तलाई कायम तथा प्रवद्र्धन गर्दै ३१ उद्देश्य प्राप्त गर्न आन्दोलनको भूमिका सक्रिय बनाउने घोषणापत्र जारी गरेको छ ।
घोषणापत्रमा दिगो शान्ति, एकता तथा समन्वय बलियो बनाउन मुलुकहरुबीच दुईपक्षीय राजनीतिक वार्ता, आपसी समझदारी तथा सहयोगका आधारमा शान्ति तथा विश्वास प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय समुदायको प्रयासलाई परिचालन गर्ने उपायका रुपमा सन् २०२१ लाई ‘अन्तर्राष्ट्रिय शान्ति तथा विश्वासको वर्ष’का रुपमा मनाई मुलुकहरुबीच शान्तिको संस्कृति प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ ।
बाकु सम्मेलन केन्द्रमा आयोजित सम्मेलनमा नामका १२० सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवम सरकार प्रमुख, परराष्ट्रमन्त्री, १७ पर्यवेक्षक राष्ट्र र १० पर्यवेक्षक सङ्गठनका प्रतिनिधिको सहभागिता रहेको छ । घोषणापत्रमा अन्तर्राष्ट्रियरुपमा युद्धको विरोध गर्न र शान्तिलाई समर्थन गर्ने आन्दोलनको स्थिति तथा भूमिकालाई विस्तार गर्ने उद्देश्य राखिएको छ । घोषणापत्रमा विकासशील मुलुकको अभिरुचिलाई अगाडि बढाउन, न्याय तथा सबै मुलुकको समान सहभागितामा आधारित उचित, समावेशी, पारदर्शी, तथा प्रभाकारी विश्व सञ्चालन प्रणाली निर्माण गर्न, विश्वव्यापी सुरक्षाका चुनौती, सशस्त्र द्वन्द्व, वातावरणीय समस्या, मौसम परिवर्तन, सङ्क्रमणकारी रोग, अति गरीबीका साथै वर्तमान समस्यालाई सम्बोधन गर्न सदस्य मुलुकहरुबीच थप समन्वय गर्ने उद्देश्य राखिएको छ ।
सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको छ । प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य रहनुभएको छ । घोषणापत्रमा विकासको अधिकार प्रवद्र्धन गर्ने तथा प्राप्त गर्ने महत्वपूर्ण तत्वका रुपमा रहेको, बहुआयामिक र एकीकृत उपाय आवश्यक पर्ने तथा दिगो विकासका लागि नभई नहुने आवश्यकता र सबैभन्दा ठूलो विश्वव्यापी चुनौतीका रुपमा रहेको अति गरीबीका साथै सबै प्रकारका र सबै आयामका गरीबी निवारणलाई सबै तरिका तथा पक्षबाट सहयोग गर्नुपर्ने कुरालाई स्वीकार गर्ने उद्देश्य राखिएको छ ।
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागी, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका स्थायी प्रतिनिधि अमृत राई र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहनुभएको छ । अठारौँ शिखर सम्मेलनको मूल विषय ‘समसामयिक विश्वका चुनौतीलाई एकीकृत तथा पर्याप्तमात्रामा सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि बाङ्डुङ सिद्धान्तको अनुपालन’ रहेको छ । शिखर सम्मेलनअघि कात्तिक ४ गतेदेखि ५ गतेसम्म बाकुमा उच्च अधिकारीहरूको बैठक तथा ६ र ७ गते मन्त्रिस्तरीय पूर्वतयारी बैठक भएको थियो । यस सम्मेलनमा १७औँ शिखर सम्मेलनले गरेका निर्णयको कार्यान्वयनका दिशामा भएका प्रगति एवम समीक्षा गरी बाकु घोषणापत्र जारी गरिएको छ ।
घोषणापत्रमा मौसम परिवर्तनलाई वर्तमान समयको सबैभन्दा ठूला समस्यामध्येको एक भएकोलाई पुनःपुष्टि गरेको छ र हरितगृह ग्यासको चुहावट विश्वव्यापीरुपमा अझै बढिरहेको उल्लेख गरिएको छ । घोषणापत्रमा मौसम परिवर्तनको नकारात्मक प्रभावले गरीबी निवारण गर्ने र दिगो विकास प्राप्त गर्ने विकासशील मुलुकको प्रयासमा अझै नकारात्मक प्रभाव पारेको उल्लेख छ ।
सन्ध्या आचार्य ‘छमछमी सिजन–४’ को विजेता
काठमाडौं । हेटौँडाकी सन्ध्या आचार्य नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो ‘छमछमी सिजन ४’को विजेता बनेकी छिन् ।
शनिबार काठमाडौँमा भएको अन्तिम प्रतिष्पर्धामा उत्कृष्ट पाँच प्रतिष्पर्धीलाई उछिन्दै आचार्य विजेत बनेकी हुन् । उनलाई पुरस्कारस्वरुप शनिबारै अल्टो के–१० गाडी प्रदान गरिएको छ । उनलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गाडीको चाबी हस्तान्तरण गरेका थिए ।
प्रतिष्पर्धामा महोत्तरीका नेशन सुश्लिङ मगर फष्ट रनर अप हुँदै नगद रु पाँच लाख र झापाकी दिलमाया लिम्बू सेकेण्ड रनर अप हुँदै नगद रु तीन लाख प्राप्त गरेका छन् ।
विसं २०७५ कात्तिक १७ गतेदेखि शुरु भएको यस प्रतियोगितामा देशका सातवटै प्रदेशका ११ स्थानमा अडिसन राउन्ड गरिएकोे थियो । अन्तिम पाँच प्रतियोगीमा दाङका आकाश विक, झापाकी दीलमाया लिम्बू, महोत्तरीका नेशन सुश्लिङ मगर, पोखराकी सपना थापा र मकवानपुरका सन्ध्या आचार्य हुनुहुन्थ्यो । विसं २०६६ देखि नेपाल टेलिभिजनले उक्त कार्यक्रम शुरु गरेको थियो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले क्षमताको प्रफुटन हुने महत्वपूर्ण स्थान नेपाल टेलिभिजन भएको भन्दै अझै यस्ता कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।
उपसभापति गच्छदारको भनाइ
नेपाली काङ्गे्रसका उपसभापति विजयकुमार गच्छदारले ‘एक मधेश एक प्रदेश’मा जान नहुने बताएका छन् ।
ललितपुरको गोदावरी नगरपालिकाले तिहार, नेपाल सम्वत् ११४० एवम छठ पर्वको अवसरमा शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उपसभापति गच्छदारले पार्टीको स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताए ।
उनले भने, “मभन्दा ठूलो पार्टी हो । पार्टीभन्दा ठूलो मधेश हो । मधेशभन्दा ठूलो मेरो देश भएकाले यसलाई विभाजन गरेर मुलुकले समृद्धि हासिल गर्न सकिदैन ।” थारु र जनजातिको हकहितका लागि लडेको मान्छे समग्र मुलुकको हितमा लड्नुपर्छ भनी काङ्ग्रेसमा लागि परेको उपसभापति गच्छदारको भनाइ थियो ।
भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच शनिबार बाकु कङ्ग्रेस केन्द्र परिसरभित्र भेटवार्ता भएको छ ।
बाकुमा भएको असंलग्न अभियानको अठारौँ शिखर सम्मेलनका क्रममा उनीहरूबीच सो भेटघाट भएको हो । भेटघाटमा ऊर्जा सहयोग, पारवहन सहयोगको सही उपयोग, व्यापारिक क्रियाकलापलाई गति दिनुपर्ने पक्षका साथै दुईपक्षीय सम्बन्ध र आपसी अभिरुचिका विषयमा छलफल भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
दुई नेताबीच हाल अवरुद्ध भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को प्रक्रिया र यसलाई पुनःआफ्नो मार्गमा ल्याउन नेपाल तथा बङ्गलादेशले संयुक्तरुपमा गर्नसक्ने कार्यका विषयमा पनि छलफल भएको थियो ।
यसैगरी बाकु कङ्ग्रेस केन्द्रमै प्रधानमन्त्री ओली र पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीबीच शनिबारै भेटवार्ता भएको छ ।
बैठकका समयमा नेताहरुले सार्कका सदस्य मुलुकबीच मतभेद कम गरी यसलाई पुनःसक्रिय बनाउनुपर्ने तथा क्षेत्रीय शान्तिलाई प्रवद्र्धन गर्नुपर्ने कुरामा छलफल भएको मन्त्री ज्ञवालीले बताए ।
महाकवि देवकोटाको १११ औँ जन्मजयन्ती
नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्मजयन्ती शनिबार स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो ।
दश वर्षको उमेरमा कविता लेख्न शुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिए । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाए ।
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो ।
नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उनका सृजनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।
भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गरेका थिए भन्ने मान्यता छ । नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका थिए ।
कात्तिक ११ गते लक्ष्मी पूजा शास्त्रविपरीत
यस वर्ष केही समूहले लक्ष्मीपूजा कात्तिक ११ गते मनाउने भनी शास्त्रीय मान्यताविपरीत पर्व मनाउन उत्पे्ररित गरी प्रचारप्रसार गरेको नेपाल पंचांग निर्णायक समितिका सदस्य कीर्तिमदन जोशीले जानकारी दिएका छन् । लक्ष्मीपूजा आइतबार नै मनाउनु शास्त्रसम्मत हुने बताइएको छ ।
“केही समूहले राजनीतिक उद्देश्यप्राप्तिका लागि धार्मिक विषयमा अशास्त्रीय मान्यता स्थापित गर्न खोजेका छन्, तिथिमा घटबढ यसअघि विसं २०६६, २०६७ र त्यसअघि पनि भएको हो, यस वर्षको पात्रो गत वर्ष माघमै निस्किए पनि तिहारको मुखमा विवाद निकाले”, उनले भने ।
राजनीतिक उद्देश्यबाट प्रेरित भई गरिएको आह्वान पुराना पात्रोसम्मत समेत नभएकाले यसअघि लक्ष्मीपूजा, आत्म (म्ह) पूजा र भाइटीका मनाएको तिथिमिति हेर्न सदस्य जोशीले अनुरोध गरेका छन् । राजनीति गर्नेहरुले चाडपर्वको निर्णय गरेर समाजलाई भ्रमित गर्न खोजेको उनको आरोप छ ।
चितुवाको छालासहित एक पक्राउ
चितुवाको छालासहित शनिबार सिरहाको लहानबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको सादा पोसाकका टोलीले लहान नगरपालिका– १ स्थित गोपाल सेवा समितिको कोठा नं ६ बाट दुई वटा चितुवाको छालासहित लहान नगरपालिका– १७ तरेगना निवासी ३७ वर्षीय शिवकुमार रामलाई पक्राउ गरेको हो ।
चितुवाको छाला बेचबिखन र ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीको टोलीले चितुवाको छालासहित रामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
बैतडीमा नेकपाले उम्मेदवारको नाम टुङ्गो लगायो
यही मङ्सिर १४ गते हुन गइरहेको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दोगडाकेदार गाउँपालिका–४ र सुर्नया गाउँपालिका–१ मा उम्मेदवारको टुङ्गो लगाएको छ ।
सम्बन्धित पालिका कमिटीको सिफारिसअनुसार दोगडाकेदार–४ मा नरेन्द्रप्रसाद भट्ट र सुर्नया गाउँपालिका–१ मा धनबहादुर चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको नेकपाका कार्यालय सचिव प्रजापति जोशीले जानकारी दिए ।
नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्र पालको अध्यक्षतामा शनिबार बसेको जिल्ला कार्यसमितिको बैठकले दुबै उम्मेदवारको नाम स्वीकृत गरेको हो । बैठकले केही दिनभित्रै पुर्चौंडी नगरपालिका–४ मा पनि उम्मेदवारको टुङ्गो लगाउने जनाएको छ ।
नेकपाले दुई वटा वडामा उम्मेदवारको टुङ्गो लगाए पनि अन्य दलहरुले भने अहिलेसम्म उम्मेदवारी टुङ्ग्याउन सकेका छैनन् । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि बैतडीमा चहलपहल पनि बढ्दै गएको छ । सुर्नया गाउँपालिका–१, दोगडाकेदार गाउँपालिका–४ र पुर्चौंडी नगरपालिका–४ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।
उपल्लो डोल्पाबाट दुई जर्मन नागरिकको उद्धार
डोल्पामा लेक लागेर बिरामी भएका दुई जना जर्मन नागरिकलाई उद्धार गरिएको छ ।
माथिल्लो डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा पर्ने सुला तथा मुकोट ताल पुगेर लेक लागेका कारण बिरामी भएका दुई जना जर्मन नागरिकलाई शनिबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ लगिएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए ।
पूर्वप्रधानमन्त्री नेपालको धारणा
नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको गुनासो र भावनाअनुसार सरकार सञ्चालन हुनुपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले जनताको मन जितेर, कमी कमजोरी सुधार गर्दै अगाडि बढ्नुपर्ने आवश्यकतामाथि जोड दिए ।
वरिष्ठ नेता नेपालले नेपाली जनता आफ्नो समस्या समाधान गर्न सक्षम रहेको उल्लेख गर्दै स्वाभिमानी नेपाली जनताले कोही कसैको हस्तक्षेप स्वीकार्य गर्दैनन् भने ।
एक प्रश्नको जवाफमा रौतहट हत्या काण्ड कानूनी प्रक्रियामा गइसकेकाले कसैले हस्तक्षेप गर्नु हुँदैन भन्दै विगतमा नेपाली काङ्ग्रेसको सिफारिसमा आफूले मोहम्मद अफताव आलमलाई मन्त्रिमण्डलमा समावेश गरेको हो भने ।
एकीकृत नमूना बस्ती निर्माणबाट हात झिकेका छैनौँ : अध्यक्ष पन्त
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले गोरखाको लाप्राकमा भूकम्पपछि निर्माण भइरहेको एकीकृत नमूनाबस्ती निर्माणको कामबाट आफूहरुले हात नझिकेको बताएका छन् ।
गोरखा सदरमुकाममा शनिबार पत्रकारहरुसँगको भेटघाटमा अध्यक्ष पन्तले गुप्सीपाखामा निर्माणाधीन एकीृकत बस्ती निर्माणको काम अन्तिम चरणमा पुगिसकेको भन्दै अबको दुई महीनाभित्र निर्माणको काम सम्पन्न हुने बताए ।
“लाप्राकको गुप्सीपाखामा एनआरएनएले निर्माण अघि बढाएको नमूनाबस्ती निर्माणको कामबाट पछि हट्ने कुरै हुँदैन,” उनले भने, “हामीले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग सम्झौता गरेका छौँ, सम्झौताअनुसार काम सम्पन्न गर्छौं ।” अध्यक्ष पन्तले लाप्राकको नमूनाबस्ती निर्माणका क्रममा त्यहाँ स्थानीयवासीले उपलब्ध गराउनुपर्ने केही सामग्री उपलब्ध गराउन ढिलाइ भएका कारण पुनःनिर्माणको काममा ढिलाइ भइरहेको बताए ।
भारतमा नेपालीलाई कुटपिट
सामान किनमेलका लागि भारतीय सीमावर्ती बजार गौरीफन्टा बनगाउँ पुगेकी नेपाली युवतीलाई त्यहाँका व्यापारीले शनिबार दुव्र्यवहार गर्दै कुटपिट गरेका छन् ।
गौरीफन्टा बनगाउँस्थित ‘नेशनल फैन्सी स्टोर’का सञ्चालकले देवी विष्टलाई कुटपिट गरेका हुन् । “पसलमा विष्टले किनमेल गरिरहेकी थिइन्,” प्रत्यक्षदर्शी पुष्पराज पाण्डेले भने, “सामानको मूल्यबारे विवाद भएपछि पसलेले कुटपिट गरेका हुन् ।” जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले विष्टलाई कुटपिट गरिएको र पीडकलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए ।
श्रीमान्को हत्याको आरोपमा महिला पक्राउ
श्रीमान्को हत्या गरेको आरोपमा प्रहरीले बर्दियाको बाँसगढी नगपालिका–६ का ५० वर्षीया दिलमाया दरैलाई पक्राउ गरेको छ । दिलमायालाई श्रीमान् ५२ वर्षीय समला दरैको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो ।
हत्यापछि फरार रहेकी दिलमायालाई बाँकेको खजुरा गाउँपालिका–७ गुनानाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।