
बाँके – जिल्लामा फौजी कीराको प्रकोपका कारण एकतिहाइभन्दा बढी उत्पादन घट्ने भएको छ ।
कृषि ज्ञान केन्द्र बाँकेका अनुसार कूल धान उत्पादनको ३२ प्रतिशत घट्ने भएको हो ।
जिल्लाको धानखेती हुने ३६ हजार ५०० हेक्टर क्षेत्रफलमध्ये ३२ प्रतिशत अर्थात् १७ हजार हेक्टरमा धान फौजी कीराले नष्ट गरेको छ । फौजी कीराले प्रभावित क्षेत्रमा ५० देखि शतप्रतिशतसम्म धान नष्ट गरेको छ ।
ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार फौजी कीराको प्रकोप सबैभन्दा बढी नेपालगञ्ज, डुडुवा, बैैजनाथ र राप्तीसोनारीमा देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१९ सुँइयालगायतका ठाउँमा शतप्रतिशत धानबाली फौजी कीराले नष्ट गरेको छ ।
डुडुवाको बन्जारे गाउँ, राप्ती सोनारीको फत्तेपुरलगायतका क्षेत्रमा पनि फौजी कीराले धेरै धान नोक्सान गरेको छ ।
जिल्लामा कूल २ लाख २५ हजार ८३६ हेक्टर क्षेत्रफलमध्ये २५ प्रतिशत अर्थात् ५७ हजार २५२ हेक्टरमा खेती हुन्छ । ३६ हजार ५०० हेक्टरमा धानखेती हुँदै आएको छ ।
यस वर्ष बीउ राख्ने र रोप्ने बेलामा पर्याप्त पानी परेकाले धान उत्पादन बढ्ने आँकलन गरिएको बेला फौजी कीराको प्रकोप देखिएको छ । फौजी कीराको प्रकोप बर्दियामा पनि देखिएको छ ।
प्रदेशसभा सदस्य कृष्णा केसीले फौजी कीराको प्रकोपबारे प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद महेश्वर गहतराजले संघीय सरकारका कृषिमन्त्रीलाई भेटेर पीडित किसानलाई राहत उपलब्ध गराउन माग गरेका छन् ।
‘विषादी छरेर फौजी कीराको प्रकोप नियन्त्रण तथा पीडित किसानलाई राहत दिनेबारे योजा बनाउँदै छौं,’ ज्ञान केन्द्र प्रमुख ढकालले भने, ‘राहतका लागि हामीले संघीय र प्रदेश सरकारसँग समन्वय गरिरहेका छौं ।’