
काठमाडौं, २३ चैत — मलेसियाका एक सांसदले बलात्कारीसँग विवाह गर्दा पीडितलाई राम्रो हुने अनि १२ वर्षीया बालिकाहरू विवाहका लागि शारीरिक र आध्यात्मिक रूपमा तयार रहेको बताएपछि हंगामा मच्चिएको छ ।

सत्तारूढ बारिसान नासनाल गठबन्धनका शाबुदिन याहायाले उक्त विवाहका कारण पीडितले राम्रो जीवन पाउन सक्ने बताएका छन् ।
मुसलमानबहुल देश मलेसियाले बालबालिकाविरुद्ध यौन दुर्व्यवहारसम्बन्धी एक नयाँ कानून भर्खरै पारित गरेको छ ।
विपक्षीहरूको कोशिशका बाबजुद कानूनले बालविवाहमा रोक लगाएको छैन ।
मलेसियामा विशेष परिस्थितिमा मुसलमानहरूले १६ वर्षको उमेरमुनि विवाह गर्ने अनुमति पाउँछन् ।
विधेयकमाथि छलफलको क्रममा संसदमा मंगलवार बोल्दै शाबुदिनले बलात्कार फौजदारी अपराध भएपनि बलात्कारी र पीडितलाई नयाँ अध्याय शुरु गर्न दोस्रो मौका दिनुपर्ने बताए ।
‘विवाहमार्फत दुवैले अझ स्वस्थ र राम्रो जीवन बाँच्न सक्छन् । अनि बलात्कृत व्यक्तिको भविष्य नराम्रो हुने छैन,’ उनले भने ।
मलेसियन भोइस अफ द चिल्ड्रेन गैरसरकारी संस्थाकी अध्यक्ष शर्मिला सेकरनले सांसदको वक्तव्यले किशोरीहरूका लागि चिन्ताको विषय भएको बताइन् ।
बीबीसीबाट