काठमाडौं – जापानको माउन्ट फुजी आरोहण गर्ने क्रममा चिप्लेर मृत्युवरण गरेका पर्वतारोहीले यूट्युबमा घटनाको लाइभ स्ट्रीमिङ गरेका छन् ।
उनको लाइभ स्ट्रीमिङ हेरिरहेका दर्शकहरू स्तब्ध भए अनि प्रहरीलाई खबर गरे । उनले पर्वतको चुचुरोनजिक पुगेको दृश्य प्रसारण गरिरहेका थिए ।
भिडियो जापानी स्ट्रीमिङ सर्भिस निकोनिको अनि यूट्युबमा देखाइएको थियो । त्यसमा आफूलाई टेडजु भनी चिनाउने व्यक्ति हिँड्दै गर्दा स्वाँ स्वाँ गरेको देखिन्छ ।
‘म चुचुरोतर्फ दौडिँदैछु,’ उनी भिडियोमा भन्छन् । माइनस डिग्रीको तापक्रममा आफ्नो औंला जमेको उनी बताउँछन् । भिडियो सोमवार अपराह्न खिचिएको हो ।
आफ्नो हात तताउन उनी अनेकौं उपाय अपनाउँछन् ।
हिउँले ढाकिएको बाटो क्रमशः साँघुरो बन्दै जान्छ र बाटो तल्तिर लाग्दा उनी झण्डै लड्ने अवस्थामा पुग्छन् ।
हिँड्दै गर्दा उनी चिप्लिन्छन् र चिप्लिएँ भनी चिच्याउँछन् । उनी चिप्लिएको आवाज भिडियोमा सुनिन्छ ।
उनले टेक्न लिएको लट्ठी पनि हुत्तिन्छ र भिडियो आफैं बन्द हुन्छ ।
दर्शकहरूले प्रहरीलाई दिउँसो ३ः३५ खबर गरेपछि उनलाई खोज्न टोली परिचालित गरिन्छ ।
उनीहरूले नौ हजार ८०० फीटको उचाइमा एक शरीर फेला पारेका छन् ।
माउन्ट फुजी वर्षैभरि हिउँले ढाकिएको हुन्छ र अफसीजनमा पर्वत चढ्नु खतरनाक हुन्छ ।
जापानीहरूले माउन्ट फुजीलाई पवित्र मान्छन् र बर्सेनि हजारौं मानिसले आरोहण गर्छन् ।
एजेन्सी