काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा सुधार हुँदै गएको र आजै डिस्चार्ज हुने बताएका छन् ।
आफ्नो स्वास्थ्य अवस्था बुझ्न पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा ओलीले स्वास्थ्य अवस्था ठीक हुँदै गएको बताएका हुन् ।
‘प्रधानमन्त्रीले मसँग कुरा गर्नुभयो । अलिकति समस्या छिटो–छिटो देखापर्यो । अहिले चाहिँ ठीक भयो, डिस्चार्ज हुँदैछु । अरु त ठिकै छ भन्नभुयो,’ बिहीवार दिउँसो ३ बजे ओलीलाई भेटेर फर्किएका प्रचण्डले भने ।
स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली बुधवार काठमाडौंको ग्राण्डी अस्पताल भर्ना भएका थिए । बुधवार र बिहीवार उनको मिर्गाैलाको डायलासिस गरिएको छ ।

नियमित डायलासिस गर्नुपर्ने/नपर्ने भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले भने, ‘नियमित डायलासिस गर्ने/नगर्ने भन्नेबारे भोलि र पर्सीसम्मको स्थिति हेर्नुपर्छ भन्ने डाक्टरको भनाइ छ ।’
बिहीवार नै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले ओलीलाई भेटेका थिए । ओलीलाई भेट्न पुगेका नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ तथा नेता भीम रावलले ओलीलाई भेट्न पाएनन् ।
गत भदौंमा सिंगापुरको नेसनल मेडिकल हस्पिटलमा ‘प्लाज्मा फेरोसिस’ गरिएको थियो । प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंहको नेतृत्वमा ग्राण्डी अस्पतालमा ओलीको उपचार भइरहेको छ ।