
गोरखा – भीमसेन थापा गाउँपालिका–६ अश्राङकी सीता लम्साललाई बचाउन जापानमा रहेका युवाले १ लाख ५० हजार सहयोग प्रदान गरेका छन् ।
दुवै मिर्गौला फेल भएकी लम्सालको उपचारका लागि आर्थिक अभाव भएपछि जापानमा रहेका गोर्खाली युवाले आर्थिक संकलन गरी उक्त रकम पीडित परिवारलाई प्रदान गरेको हो ।
गोरखा समाज जापानको अगुवाइमा संकलन भएको डेढ लाख रुपैयाँ गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेमार्फत पीडित परिवारलाई हस्तान्तरण गरिएको नेपाल कतार सेवा समाज नेपालका अध्यक्ष कैलाशबाबु श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष पाण्डेले लम्साललाई गाउँपालिकाका तर्फबाट पनि सहयोग गर्ने आश्वासन दिएका थिए ।
लम्सालको मिर्गाैला डायलासिस गर्न आर्थिक क्षमता नभएपछि सहयोगको याचना गर्नुपरेको छोरी अम्बिकाले बताइन् । गत जेठ महिनादेखि दुवै मिर्गाैलाले काम गर्न छोडेपछि अस्पताल भर्ना भएकी लम्सालको उपचारमा आर्थिक अभाव हँुदै आएको छ । ‘भएको सबै रकम सकिसक्यो, हालसम्म १० लाख रुपैयाँभन्दा बढी खर्च हुँदा पनि आमालाई निको भएको छैन, थप उपचारका लागि पैसा समस्या छ,’ अम्बिकाले भनिन् ।
जेठमा दुवै मिर्गाैला फेल भएपछि शुरूमा काठमाडाँंस्थित मनमोहन अस्पतालमा उनको उपचार गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि भारत लगिएको थियो । भारतमा २ महिना राख्दा भएको रकम सकिएपछि पैसाको अभावमा नेपाल फर्काइएको छोरी अम्बिकाले जानकारी दिइन् ।
लम्सालको शारीरिक अवस्था नाजुक भएपछि हाल पोखरास्थित फिस्टेल अस्पताल राखिएको छ । गोरखाका विभिन्न पालिकामा घर भई हाल जापानमा रहेका युवाहरुको सक्रियतामा केही वर्षअघि स्थापना भएको समाजले आर्थिक कारणले उपचारमा समस्या रहेका विपन्नहरुलाई विभिन्न अभियान सञ्चालन गरेर सहयोग गर्दै आएको छ ।