२६ जेठ २०८३, मंगलबार

लोकसेवा आयोगले ६ महिनासम्म नतिजा प्रकाशन नगर्दा उम्मेदवार मर्कामा

कात्तिक २०, २०७४
लोकसेवा आयोगले ६ महिनासम्म नतिजा प्रकाशन नगर्दा उम्मेदवार मर्कामा

काठमाडौँ, २४ चैत– लोकसेवा आयोगले अन्तरवार्ता भएको ६ महिना बितिसक्दा पनि नतिजा प्रकाशन नगर्दा परीक्षामा सहभागी उम्मेदवार मर्कामा परेका छन् ।

आयोगले स्वास्थ्य सेवातर्फको पाचौँ तहको हेल्थ असिस्टेन्ट (एचए) पदको गत कात्तिकमा अन्तवार्ता सम्पन्न गरेपनि नतिजा अहिलेसम्म प्रकाशन नगर्दा उम्मेदवार मर्कामा परेका हुन् ।

अन्तवार्ता भइसकेको अवस्थामा आयोगले अझैसम्म नतिजा ननिकाल्दा आफूहरु अन्यौलमा रहेको पीडित उम्मेदवार शंकर विष्टले बताए ।

उनका अनुसार आयोगले सोही तहको मध्यमाञ्चल र पूर्वाञ्चल विकास क्षेत्रको नतिजा प्रकाशन गरेपनि अन्य विकास क्षेत्रको नतिजा प्रकाशित नगर्दा करिव एक हजार उम्मेदवार पीडित बनेका छन् ।

विसं २०७२ माघ २७ गतेको विज्ञापनबाट खुलाइएको उक्त पदको लिखित परीक्षा उत्तीर्ण गरेका उम्मेदवारको अन्तवार्तासमेत भइसकेको छ । आयोगले सोही पदका लागि पुनः विज्ञापन गरेपनि अहिलेसम्म गत वर्षको विज्ञापनबाट नै पदपूर्ति गर्न सकेको छैन ।

हेल्थ असिस्टेन्ट एसोसियसन नेपाल (हान)का उपाध्यक्ष प्रकाश परियारले सोही तहको परीक्षाको नतिजा प्रकाशित गरेर अन्यले जागिर खाएपनि आफूहरु आयोगले नतिजा प्रकाशित नगर्दा मर्कामा परेको बताए ।

‘अहिले हामीसँगका साथीहरु जागिर खाइरहेका छन्,’ उनले भने, ‘तर हाम्रो नतिजा आयोगले प्रकाशित नगर्दा त्यतिकै रहेका छौं ।’ आयोगले नतिजा प्रकाशन नगर्दा सोही तहको यो वर्ष खुलाइएको विज्ञापनमा पनि आवेदन दिएको उनले बताए ।


आयोगका सहप्रवक्ता गीताकुमारी हुमागाईले केही उम्मेदवारले सर्वोच्च अदालतमा रिट दायर गरेकोले नतिजा प्रकाशनमा ढिलाई भएको बताइन । ‘अन्तवार्तामा सहभागी नगराइएका वरिष्ठ अहेबले सहभागीताको माग गर्दै रिट दायर गरेका छन्’ उनले भनिन्, ‘त्यो रिट अहिले अदालतमा विचाराधीन रहेकोले नतिजा प्रकाशन नभएको हो ।’

वरिष्ठ अहेब देवनारायण उपाध्यायसहित १७ जनाले आफूहरु पनि अन्तवार्तामा सहभागी हुन पाउँ भन्ने रिट दायर गरेका छन् ।

स्वास्थ्य सेवा नियमावली २०५५ मा छ महिना अनिवार्य तालिम लिएकाले मात्र परीक्षामा सहभागी हुनपाउने व्यवस्था भएता पनि उनीहरुको तालिम नभएपछि रिट दायर गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्