
काठमाडौं– संसद् सचिवालयमा काम गर्ने एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको मुद्दामा थुनछेक बहस शुरू भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले महराविरुद्ध जबरजस्तीकरणी उद्योगअन्तर्गतको मुद्दा बिहीवार जिल्ला अदालत काठमाडौंमा दर्ता गरेको थियो ।
न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा महरासम्बन्धी मुद्दाको थुनछेक बहस भइरहेको छ । यसअघि शुक्रवार महराको बयान भएको थियो ।
बयानमा महराले आफू सो दिन बेलुका रोशनी शाही नाम गरेकी ती महिला कर्मचारीको डेरा रहेको क्षेत्रमा गएको तर, घरभित्र प्रवेश नगरेको जिकिर गरेका छन् ।
थुनछेक बहसमा महराका तर्फबाट बहस गर्न २७ जना वकिलले वकालतनामा लिएका छन् । महरा सभामुखको सरकारी निवास बालुवाटारबाट गत असोज १९ गते पक्राउ परेका थिए ।
पक्राउ परेको केही दिनपछिबाटै प्रहरीको निगरानीमा महराको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।