
काठमाडौँ - भूकम्पबाट क्षतिग्रस्त राणाकालीन दरबार बबरमहलको प्रवलीकरण शुरु भएको छ । बबरमहल पुरानै स्वरुपमा प्रवलीकरण थालिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना एकाइ (भवन)ले जनाएको छ ।
गत असार २५ गते निर्माण व्यवसायीसँग प्रवलीकरणका लागि सम्झौता भई काम शुरु भएको आयोजना उपनिर्देशक झप्परसिंह विश्वकर्माले जानकारी दिए ।
रु ८६ करोड दुई लाख ५२ हजारको लागतमा दुई वर्षभित्र प्रवलीकरण सम्पन्न हुनेछ । भवनमा भूकम्पअघिसम्म सडक विभाग र महालेखा परीक्षकको कार्यालय सञ्चालनमा थियो ।
महालेखापरीक्षकको कार्यालय रहेको भागमा कम क्षति भएकाले हाल पनि त्यहीँ कार्यालय सञ्चालनमा छ । भूकम्पले क्षति पु¥याएपछि विभाग भने ललितपुरको चाकुपाट सरेको छ । विसं १९७० मा चन्द्रशम्शेरले आफ्ना छोरा बबरशम्शेरका लागि निर्माण गरेकाले भवनको नाम बबरमहल राखिएको हो ।
दरबार परिसरमा फेला परेका इट्टामा ‘श्री ३ चन्द्रशम्शेर १९०३’ लेखिएको पाइएको छ । दरबार क्षेत्रले २१ रोपनी क्षेत्रफल ओगटेको छ । जग्गाको स्वामित्व सरकारका नाममा आइसकेको विभागले जनाएको छ । विसं २००७ देखि नै बबरमहलमा सडक विभागले काम गर्दै आएको थियो । चन्द्रशम्शेरले बकिङ्घम दरबारको स्वरुपमा बबरमहल निर्माण गरेको बताइन्छ ।
दरबारभित्रको आन्तरिक सजावट पनि बेलायती शैलीको रहेको छ । विसं १९९० को भूकम्पबाट पनि बबरमहलमा क्षति पुगेपछि १९९१ सालमा यसको जीर्णोद्वार गरिएको थियो । उक्त भवन सुर्की, चुना, काठ, फलामलगायत परम्परागत सामग्रीले नै प्रवलीकरण गरिनेछ । प्र
वलीकरणमा सिमेन्ट, रडजस्ता आधुनिक निर्माण सामग्री प्रयोग नगर्ने गरी निर्माण व्यसायीसँग सम्झौता भएको विश्वकर्माले बताउनुभयो । भवन प्रवलीकरणका लागि जिसीजिसी÷आशीष÷समानान्तर जेभीसँग सम्झौता भएको छ । यसैगरी भूकम्पले क्षतिग्रस्त सिंहदरबारको पनि प्रवलीकरण भइरहेको छ ।
केशरमहल, बालमन्दिर, शीतलनिवास, बहादुरभवन तथा त्रिचन्द्र क्याम्पसको घण्टाघर भवन पनि प्रवलीकरणका लागि सम्झौताको तयारी भइरहेको आयोजनाले जनाएको छ । लैनचौरस्थित दक्षिण एशियाली सहयोग सङ्गठन (सार्क) सचिवालयको सानो भवन भने प्रवलीकरण सम्पन्न भएको छ ।