
काठमाडौं,१५ मंसिर– संगीत प्रवीण नरराज ढकाल स्मृति प्रतिष्ठानले नेपाली शास्त्रीय संगीतमा योगदान पु–याएका दुई संगीत स्रष्टालाई सम्मानित गरेका छन् ।
संगीत प्रवीण नरराज ढकालको ९६ औं जन्मजयन्तीको अवसरमा नाचघरमा बुधवार आयोजित कार्यक्रममा प्रतिष्ठानले शास्त्रीय संगीतमा योगदान पु–याउने दुई संगीत स्रष्टालाई पुरस्कारसहित नगदले सम्मान गरेका छन् ।

संगीत प्रवीण नरराज ढकाल स्मृति प्रतिष्ठानको छैटौं बार्षिक उत्सव पारेर प्रतिष्ठानले ‘संगीत प्रवीण नरराज ढकाल पुरस्कार–२०७३’ बाट वरिष्ठ शाास्त्रीय गायिका रत्नकुमारी गुरुङ र ‘नरराज –रामेश्वर युवा संगीत पुरस्कार–२०७३’ बाट युवा तबलावादक लक्ष्मीप्रसाद डँगोललाई सम्मान गरेका छन् ।
पुरस्कृत गायिका गुरुङलाई पुरस्कार सहित नगद २० हजार र युवा तबलावादक डँगोललाई पुरस्कार सहित नगद १० हजार प्रदान गरेका थिए ।
कार्यक्रममा नेपाल संगीत नाट्य प्रतिष्ठानका कुलपति सरुभक्त,वरिष्ठ संगीतकमी मोहनप्रसाद जोशी,संगीत प्रवीण स्व.नरराज ढकालकी धर्मपत्नी ज्योति ढकाल लगायत वरिष्ठ पत्रकार प्रकाश सायमीले शास्त्रीय संगीत विषयक पुस्तक लोकार्पण गरेका थिए ।
शास्त्रीय संगीत साधकहरुको उचित मूल्यांकन तथा सम्मान गर्न राज्यपक्ष र निजी संगीत उद्योगले ध्यान दिन नसकेकोप्रति स्मृति प्रतिष्ठानका अध्यक्ष प्रभुराज ढकालले गुनासो गरे ।

शास्त्रीय संगीतमा अनवरतरुपमा लागेर नेपाली शास्त्रीय संगीतलाई उँचो स्तरमा पु–याउन संगीत प्रवीण नरराज ढकालको योगदान महत्वपूर्ण रहेको भन्दै नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले आउने २०७७ सालमा संगीत प्रवीण नरराज ढकालको शतबार्षिकीलाई भब्यरुपमा मनाउन सरकारीतवरबाट पहल गर्ने बताए ।
नेपाली शास्त्रीय संगीतमा योगदान पु–याउने विशिष्ट व्यक्तित्व लगायत युवा संगीतकर्मीलाई प्रोत्साहन स्वरुप प्रतिष्ठानले २०६८ सालदेखि उक्त शास्त्रीय संगीत पुरस्कार प्रदान गर्दै आएको हो ।
कार्यक्रममा पुरस्कृत युवा तबलावादक लक्ष्मीप्रसाद डँगोलले एकल तबला प्रस्तुति गरेका थिए भने गायक सतीस महर्जन लगायत अन्य कलाकारले संगीत प्रवीण नरराज ढकालको गीत प्रस्तुत गरेका थिए ।