काठमाडौं, ५ पुस — अमेरिकाको इलेक्टोरल कलेजले डोनाल्ड ट्रम्पलाई अमेरिकाको राष्ट्रपतिका रूपमा प्रमाणित गरेको छ । उनलाई ह्वाइट हाउस छिर्नबाट रोक्ने विरोधीहरूको अन्तिम प्रयास सफल हुन सकेन ।

निर्वाचनको ६ हप्तापछि ट्रम्पले विजयको औपचारिकताका लागि आवश्यक २७० मत प्राप्त गरेका थिए ।
आफ्नो विजयमाथि प्रतिक्रिया दिँदै ट्रम्पले ‘हाम्रो देशलाई एकताबद्ध राख्नका लागि र सबै अमेरिकीको राष्ट्रपति हुनका लागि कठोर मेहनत गर्ने’ प्रतिज्ञा गरे ।
इलेक्टोरल कलेजका निर्वाचकहरूलाई इमेल र फोन कलबाट ट्रम्पलाई मत नदिन चर्को दबाब आएको थियो ।
यो मतदान प्रक्रिया औपचारिकता मात्र हो तर यस वर्ष रुसका ह्याकरहरूले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा चलखेल गरेको दाबीसँगै यसको महत्व थियो ।
अचम्मको कुरा त डेमोक्रेटिक पार्टीका चारजना निर्वाचकले क्लिन्टनबाहेक अर्कै उम्मेदवारलाई मत दिए ।
यसको परिणाम ५ जनवरीमा कंग्रेसको संयुक्त सत्रका दिन आधिकारिक रूपमा घोषणा गरिनेछ ।
बीबीसी