काठमाडौं – अयोध्या भूमि विवादमा भारतको सर्वोच्च अदालतले गरेको फैसलाले भारतमा ठूलो सामाजिक तथा राजनीतिक महत्त्व राख्छ । यो फैसला दक्षिणपन्थी सरकार सत्तामा रहेको बेलामा आएको छ ।
दक्षिणपन्थी सरकार बहुमतका साथ सत्तामा विराजमान हुनका लागि अयोध्या भूमि विवादको ठूलो हात छ । अलिकति इतिहासतिर फर्कौं ।
अहिले राजनीतिमा वर्चस्व जमाएको भारतीय जनता पार्टीले राम मन्दिरको मुद्दा उठाउँदा उसको स्थिति अहिलेको कांग्रेसको भन्दा पनि रद्दी थियो ।
सन् १९८४ को आमनिर्वाचनमा कांग्रेसले ४०४ लोकसभा सीट जितेको थियो र ४९ प्रतिशत भोटशेयरका साथ राजीव गान्धी प्रधानमन्त्री बनेका थिए । त्यतिखेर भाजपाले जम्मा ८ प्रतिशत भोट ल्याएको थियो र जाबो दुई सीट जितेको थियो ।
त्यतिखेरको स्थितिबाट अहिलेको स्थितिमा आइपुग्दा भारतको राजनीतिमा वैचारिक परिवर्तन पनि देखिएको छ । समाजशास्त्रीहरूहरूको मान्यता छ : सन् १९८० को दशकको अन्त्यतिरबाट शुरू भएको रामजन्मभूमि आन्दोलनले देशमा दक्षिणपन्थी विचारधारालाई मूलधारमा ल्याउन सहयोग गरेको हो । पूर्व प्रधानमन्त्री राजीव गान्धीका दुईवटा निर्णयले यस विचारलाई बल दिए ।
पहिलो निर्णय शाहबानोका बारेमा थियो । सर्वोच्च अदालतले तलाकमा परेकी मुसलमान महिला शाहबानोलाई उनका पतिले गुजारा भत्ता दिनुपर्ने निर्णय गरेको भए पनि राजीवले त्यसलाई पल्टाइदिएका थिए । उक्त निर्णय मुसलमान कट्टरपन्थीहरूलाई खुशी गर्न लिइएको स्पष्ट थियो ।
यस निर्णयपछि उनी राजनीतिक जटिलतामा फस्दै गए ।
त्यसपछि उनले अर्को निर्णय लिए । उनले मुसलमानहरूको भावनालाई आफूले महत्त्व दिएको देखाएपछि हिन्दूहरूलाई पनि उत्तिकै महत्त्व दिएको देखाउन सन् १९८६ को फेब्रुअरी महिनामा बाबरी मस्जिदको विवादित परिसरको ताल्चा खोल्ने आदेश दिए अनि हिन्दूहरूलाई पूजा गर्नका लागि मार्गप्रशस्त गरे ।
सन् १९८६ मा पत्रकार नीरजा चौधरीले लेखेकी थिइन्, ‘चुनावी लाभका लागि दुवै समुदायको तुष्टीकरणको नीतिमा सरकार अघि बढिरहेको छ । यो एक किसिमको दुष्चक्र हो र यसलाई भत्काउन गाह्रो पर्छ ।’
विवादित परिसरको ताल्चा खोलिएपछि हिन्दू अतिवादीहरू उत्साहित भए । अनि उनीहरूले त्यहाँ रामजन्मभूमि मन्दिरको माग राख्दै आन्दोलन शुरू गरे ।
यसलाई तीव्र रूपमा अघि बढाउनका लागि विश्व हिन्दू परिषद्, राष्ट्रिय स्वयंसेवक संघ र भारतीय जनता पार्टीले देशभरिबाट राम शिला भन्दै इँटाहरू मगाउन थाल्यो । गाउँगाउँबाट इँटा पुजेर अयोध्या पठाइयो । ती इँटाहरू राम मन्दिर निर्माणमा लगाइने भनियो । त्यससँगै धेरै मानिसहरू सन् १९८७ मा दूरदर्शनमा प्रसारित रामायण धारावाहिकले पनि हिन्दूहरूलाई जागृत गराउन योगदान गरेको बताउँछन् ।
तर राजनीतिशास्त्रका विद्वान् इम्तियाज अहमद यसभन्दा अलिक भिन्न धारणा राख्दै देशको मूलधारमा दक्षिणपन्थको उदय सन् १९७० को दशकमै भएको बताउँछन् । उनी भन्छन्, ‘त्यस समयमा आरएसएस र उसको विचारधारालाई भारतीय राजनीतिमा अछुत मानिन्थ्यो । तर जेपी आन्दोलनका बेलामा संघ विपक्षी दलहरू नजिक आयो । संकटकाल लगाइँदा संघका नेताहरू पनि जेल गए । त्यहाँबाट नै दक्षिणपन्थी विचारधारा राजनीतिको केन्द्रमा आउन थाल्यो ।’
अनि लालकृष्ण आडवाणीको रथयात्राले यसलाई थप उचाइ दियो ।
इम्तियाज अहमद भन्छन्, ‘राजीव गान्धीले ताल्चा खोल्न लगाएर गलत काम गरे होलान् तर त्यो एक घटना मात्र थियो । ताल्चा नखोलिएको भए पनि दक्षिणपन्थी शक्तिहरूले दबाब दिनका लागि तयारी गरिरहेकै थिए ।’
एजेन्सी