०५ साउन २०८३, मंगलबार

रूप ज्योति थप ५ दिन थुनामा रहने, सरकारी वकिलसँग भने– हिरासतमै ध्यान गर्छु !

कात्तिक २४, २०७६
रूप ज्योति थप ५ दिन थुनामा रहने, सरकारी वकिलसँग भने– हिरासतमै ध्यान गर्छु !

काठमाडौं– हाउजिङका नाममा ठगी गरेको आरोपमा पक्राउ परेका व्यापारी रूप ज्योतिलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

पूर्वअर्थ सहायक मन्त्री समेत रहेका रूप ज्योतिलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आइतवार अनुमति दिएको हो ।

ल्याण्डमार्क डेभलपर्सका नाममा काठमाडौं महानगरपलिका– ४ बालुवाटारका विज्ञेन्द्रकृष्ण मल्लसँग हाउजिङ बूकिङका नामा लिएको रकम ठगी गरेको आरोप लागेका रूप ज्योतिलाई प्रहरीले गत बिहीवार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । उनी अमेरिकाबाट नेपाल फर्किंदै थिए ।

यसअघि दिएको ३ दिनको म्याद सकिएपनि आइतवार ५ दिनको म्याद थप भएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले बताए । 

रूप ज्योतिकी छोरी सुरुचि ज्योतिलाई पनि हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ । सुरुचि शुक्रवार काठमाडौंबाट पक्राउ परेकी थिइन् ।

‘आफैं बहस गर्छु’

आज (आइतबार) सरकारी वकिलको कार्यलयमा उपस्थित गराइएका रूप ज्योतिले आफ्नो मुद्दामा आफैंले बहस गर्ने बताएका छन् ।

रूप ज्योतिले ‘अरू २० दिन ध्यान गरेर बस्छु तर आफ्नो मुद्दामा आफैं बहस गर्छु, अरू कसैलाई पनि राख्दिनँ’ भन्ने जवाफ दिएको स्रोतले बतायो ।

दाजु भन्छन्– भाइले बिरायो

ठगीको आरोप लागेका रूप ज्योतिका दाजु पद्म ज्योति भने आफ्नो भाइ (रूप ज्योति)ले गलत काम गरेको स्वीकार्छन् ।

उनले पीडितलाई क्षतिपूर्ति भराइदिने आश्वासन पनि दिएका छन् ।

‘उहाँ (पद्म ज्योति)ले बिहान विज्ञेन्द्रकृष्ण मल्ललाई भेटेर भाइले बिरायो, तपाईंको के कति हो क्षतिपूर्ति म दिन्छु, जसरी पनि छुटाउनुपर्‍यो भनेर भने,’ स्रोतले लोकान्तरसँग भन्यो ।

यस्तो छ रूप ज्योतिको ‘ठगी महात्म्य’

विक्रम संवत् २०७१ सालमा ल्यान्डमार्क लेभलपर्स प्रालि नामको कम्पनीले बाँसबारीमा हाउजिङको लागि बुकिङ खुला र्गयो । बुकिङ खुला गरेपछि काठमाडौं महानगरपालिका–४ बालुवाटारका विज्ञेन्द्रकृष्ण मल्ल पनि हाउजिङको घरमा बस्ने योजना बनाएर ल्याण्डमार्कको हाउजिङको घर बुकिङ गर्न १० लाख रूपैयाँ बोकेर गए । 

उनीहरूले छुट्याएको जग्गामध्येको प्लट नम्बर १९ को क्षेत्रफल ०–६–३–२–२.१६ कित्ताको जग्गामा २ करोड १४ लाख १९ हजार ७ सय ५० रूपैयाँ तोकेको जग्गालाई कम्पनीले राखेको अग्रिम रकम १० लाख रूपैयाँ २०७१ जेठ २ गते शम्भुप्रसाद फुयाँललाई बुझाए । फुयाँल हाउजिङका घर बनाउने जिम्मा लिएको सीई कन्सट्रक्सनका अख्तियार प्राप्त व्यक्ति हुन् ।

सीई कन्स्ट्रक्सन र ल्यान्डमार्कबीच भएको सम्झौतामा सीईले हाउजिङ निर्माणदेखि बिक्री गर्नेसम्मको अधिकार राख्ने उल्लेख छ । नाफामा प्रतिशत बाँडेर लिने सम्झौता दुवै कम्पनीबीच भएको थियो ।

त्यसपछि फेरि ल्याण्डमार्कबाट जिम्मा पाएको सीई कन्सट्रक्सनलाई विज्ञेन्द्रले अन्तिम किस्ताको रूपमा २०७१ भदौ १७ गते १ करोड २६ लाख ७५ हजार गरी कुल १ करोड ३६ लाख ७५ हजार रूपैयाँ बुझाए ।

सीई कन्सट्रक्सनले विज्ञेन्द्रलाई किस्ता लिएको २ वर्ष भित्रमा डिजाइन अनुसारको घर बनाएर दिने जिम्मा लियो तर कम्पनीले सम्झौता अनुसारको घर निर्माण नगरी आलटाल गर्दै आयो ।

करीब २२ वटा घर निर्माण गर्ने हाउजिङका लागि सबै घर ‘बूक’ भइसकेका थिए । यसबीचमा २०७२ वैशाख १२ गतेको भूकम्पले काम प्रभावित भयो । १ वर्षसम्म त ठप्प भयो ।

भूकम्पको १ वर्षपछि अघि बढेको काम विक्रम संवत् २०७४ सालतिर अन्तिम चरणमा पुग्यो । जब घर निर्माण भइसकेर हस्तान्तरण हुनुपर्ने बेला आयो, त्यसपछि उनीहरूको नियतमा खोट देखियो ।

२ वर्षमा हस्तान्तरण गर्नुपर्ने घर ३ वर्ष हुँदासम्म पनि कम्पनीले घर नबनाउँदा विज्ञेन्द्रको मनमा चस्को पस्यो । उनले सञ्चालक मध्येका पद्म ज्योति, डा। रूप ज्योति र अख्तियार प्राप्त सीई कन्सट्रक्सनका प्रतिनिधि शम्भु प्रसाद फुयाँललाई भेटे तर उनीहरूले हाउजिङको काम ‘फाइनल’ हुन बाँकी छ भन्दै आलटाल गर्दै आए ।

यसबीच रूप ज्योतिले विज्ञेन्द्रलाई ‘म ठूलो व्यापारी हुँ । ठूला–ठूला मानिसहरू चिनेको छु । किचकिच नगर तिमीलाई ठीक पारिदिउँला’ भन्दै धम्की दिँदै आए ।

विज्ञेन्द्रलाई अब आफ्नो पैसा पनि नआउने जग्गा पनि नआउने भएपछि उनले २०७५ मंसिर १६ गते महानगरीय प्रहरीले परिसर काठमाडौंमा रूप ज्योति, पद्म ज्योति लगायतका ल्याण्डमार्क डेभलपर्सका १० जनाविरुद्ध ठगी गरेको भन्दै जाहेरी दिए ।

जाहेरीको कारवाही प्रक्रिया अघि बढ्ने क्रममा जिल्ला अदालत काठमाडौंले २०७५ मंसिर २० गते रूप ज्योतिलाई पक्राउ आदेश दियो । आफूमाथि हुनसक्ने कानूनी कारवाहीबाट बच्न रूप ज्योतिले निषेधाज्ञाको मागसहित सर्वोच्चमा रिट दायर गरे ।

रूप ज्योतिले दायर गरेको निषेधाज्ञाको रिट सर्वोच्चले कात्तिक २० गते खारेज गरिदिएपछि जिल्ला अदालत काठमाडौंको आदेश सदर भयो ।

सर्वोच्च अदालतले निषेधाज्ञाको रिट खारेज गरेपछि विज्ञेन्द्रले फेरि महानगरीय प्रहरी परिसर काठमाडौंमा २०७६ कात्तिक २१ गते पुरक जोहरी दिएपछि महानगरीय प्रहरी परिसरले रूप ज्योति पक्राउ गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्