१० असार २०८३, बुधबार

बंगलादेशका राष्ट्रपतिको नेपाल भ्रमणका बेला उच्चस्तरीय सुरक्षा

कात्तिक २५, २०७६
बंगलादेशका राष्ट्रपतिको नेपाल भ्रमणका बेला उच्चस्तरीय सुरक्षा

काठमाडौं – बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपाल भ्रमणका बेला सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा कात्तिक २६ देखि २९ गतेसम्म नेपालको ४ दिवसीय सद्भावना भ्रमण गर्न लागेका बंगलादेशका राष्ट्रपति हमिदलाई अतिविशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि–२०७० अनुसार ४ वटै सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको छ ।

आवश्यक तयारीस्वरुप सुरक्षा समन्वयात्मक छलफल भइसकेको र सम्भावित चुनौतीलाई मध्यनगर गर्दै सोमवारैदेखि चौविसै घण्टा रहने गरी सुरक्षाकर्मीलाई विभिन्न स्थानमा खटाइएकोे सुरक्षा निकायले जनाएको छ ।

सैनिक मुख्यालयका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले कार्यविधि अनुसार सुरक्षा समन्वयका लागि रथीको नेतृत्वमा ४ वटै सुरक्षा निकायका अधिकारी सहभागी सुरक्षा समन्वय समितिले समन्वयात्मक रुपमा आवश्यक सुरक्षा व्यवस्था मिलाएको जानकारी दिए । 

मंगलवार अपराह्न काठमाडौं पुग्ने राष्ट्रपति हमिदका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि बस्ने होटल तथा भेटघाटस्थलमा समेत आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको छ । उनले उपत्यकाको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक क्षेत्र र पोखराको समेत भ्रमण गर्ने भएकाले ती क्षेत्रमा समेत आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ । 

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले अन्य विशिष्ट व्यक्तिलाई दिइने सुरक्षा अनुसार नै अहिले पनि सुरक्षा व्यवस्था चुस्त पारिएको जानकारी दिए । भ्रमणका क्रममा हमिदले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

बंगलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन् ।

उनीसँग पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत शिष्टाचार भेट गर्ने जनाइएको छ ।

नेपाल बसाइका बेला बंगलादेशका विशिष्ट अतिथिले पोखराका साथै काठमाडौं उपत्यकाका ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्त्वका क्षेत्रको स्थलगत अवलोकन भ्रमण गर्नेछन् ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले जिल्ला सुरक्षा समितिले आवश्यक सुरक्षा व्यवस्था मिलाइसकेको जानकारी दिए । उनको भ्रमणका लागि यसअघि चिनियाँ राष्ट्रपतिलाई दिइएझैं विमानस्थलका साथै प्रयोग हुने सडक र निवासस्थलसम्म आवश्यक सुरक्षा व्यवस्था मिलाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले बताए ।

भ्रमणको पूर्वसन्ध्यामा उपत्यकाका विभिन्न सडकका प्रत्येक खम्बामा नेपाल र बंगलादेशका राष्ट्रपतिको तस्वीर राखिएको छ । भ्रमण सम्पन्न गरी उनी कात्तिक २९ गते अपराह्न स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

यसअघि गत असोज २५ र २६ गते जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङले नेपालको राजकीय भ्रमण गरेका थिए । उक्त समयमा विमानस्थलसँगै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रका सडक सजाइएको तथा कालोपत्र गरिएको थियो भने ठाउँठाउँमा नयाँ बगैंचासमेत निर्माण गरिएको थियो । – नारायण ढुंगाना/रासस

salt training

कमेन्ट गर्नुहोस्