
काठमाडौं – ताइवानमा प्रहरीले एक परित्यक्त शिशुको हाड फेला पारेका छन् । उक्त शिशुलाई भुस्याहा कुकुरहरूले खाइदिएको आशंका प्रहरीले गरेको छ ।
नवजात बालकलाई प्लास्टिकको झोलामा राखेर फोहर फाल्ने मैदानमा छोडिएको थियो । उसकी १९ वर्षीया आमाले यो कुकृत्य गरेकी थिइन् ।
आमाको छद्मनाम शियाओ मेइ हो र उनलाई हल्का मानसिक रोग रहेको र स्थानीय सोसल अफेयर्स ब्यूरोको रेखदेखमा उनी रहेको बताइएको छ ।
ताइवानी सञ्चारमाध्यम एसईटीएनका अनुसार, शियाओ मेइले अक्टोबर ८ मा छोरो जन्माएकी थिइन् र जन्माएकै दिन त्यागेकी थिइन् ।
शिशुका २८ वर्षीय पिताले बाइकमा राखेर आमाछोरालाई फोहर फाल्ने ठाउँमा पुर्याएका थिए । पिताको छद्मनाम शियाओ ली हो ।
मेइ र लीको भेट इन्टरनेटमा भएको र उनीहरू दुवैजना तन्नम भएको बताइएको छ ।
शिशु फालेपछि उनीहरू शहरबाट भागेको र एक महिनासम्म एउटा इन्टरनेट क्याफेमा लुकेर बसेको बताइएको छ ।
सामाजिक सेवा उपलब्ध गराउनेहरूले किशोरीलाई फेला नपारेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले उनीहरूलाई गत मंगलवार फेला पारेको थियो ।
मेइलाई बच्चाको बारेमा सोध्दा शिशु जन्मेकै दिन फालेको बताइन् ।
त्यसपछि प्रहरी मैदानमा पुग्यो र शिशुको हाडखोर भेट्यो ।
शिशुलाई भुस्याहा कुकुरले खाइदिएको प्रहरीको भनाइ छ ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
एजेन्सी