
बनेपा – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिलो किस्ता लिएर घर बनाउने समय कात्तिक मसान्तको समयसीमा तोकेर काम गर्न आग्रह गरिरहेका बेला भूकम्पले घर पूर्णरुपमा ध्वस्त भएपछि छिमेकीको घरमा बस्दै आएका पाँचखाल नगरपालिका–६ का देवीकुमारी पौडेलले भने अझै घर बनाउन पाएकी छैनन् ।
भूकम्प गएपछि सर्वेक्षणको लागि गाउँमा खटिएका इञ्जिनीयरले गरेको गल्तीका कारण घर पूर्णरुपमा ध्वस्त भएपनि विवरणमा अर्कैको घरको फोटो खिचेर भरेको कारण प्रवलीकरणमा परेपछि घर निर्माण गर्न नपाएकी हुन् ।
‘उता घर भत्केर बस्ने ठाउँ छैन, यता अर्काको घरमा बसिरहेकी छु, प्राधिकरणले प्रबलीकरण गर्नुपर्छ भन्दैछ,’ उनले भनिन्, ‘मेरो घर भत्केर जग मात्रै छ, गाह्रोसमेत छैन तर इञ्जिनीयरले पठाएको विवरणमा लाभग्राहीको सूचीमा प्रवलीकरण गर्नुपर्ने भनेर आएपछि विवरण सच्याई पाउँ भनेर पुनर्निर्माण प्राधिकरण धाएको ४ वर्ष बित्यो तर अझै घर निर्माण गर्न पाउने हो कि होइन भन्ने टुंगो लागेको छैन । अब चाहिँ भरेर पठाएको विवरण सच्चिएर आउँदा हुन्छ भन्ने छ, खै के हुन्छ, हेरौं ।’
‘अहिले पछिल्लो चरणमा फेरि गाउँका मान्छेहरू बोलाएर सरजमिन गर भनेर भनेकाले अहिले त्यहीँ अनुसारले विवरण तयार गरेर भत्केको घरको जगको फोटोसहित खिचेर वडाबाट सबै कागजात तयार गरेर पेश गरेपछि हुन्छ भन्ने कुरा आएको छ, त्यसैले खुशी छु,’ पौडेलले भनिन्, ‘एकल महिलासमेत रहनुभएका उहाँ सरकारबाट भूकम्पको पैसा आयो भने जग्गा बेचेरै बस्नको लागि भूकम्प प्रतिरोधी घर राम्रो बनाएर बस्ने ठूलो इच्छा भएको उहाँ बताउनुहुन्छ । गरिखान सकिँदैन, बस्ने ठाउँ मात्रै भए पनि बलियो भयो भने त केही न केही त हुन्छ नि !’
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अनुदान व्यवस्थापन एकाइ काभ्रेपलाञ्चोकका प्रमुख सागर आचार्यले आफू कार्यालय प्रमुख भएर आएपछि सो कुरा थाहा पाएको र तयार गर्नुपर्ने विवरण सबै तयार गर्न लगाएर केन्द्रमा पठाएपछि त्यहीअनुसार हुन्छ भन्ने कुरा आएको कारण अब घर बनाउन शुरू गर्न सुझाव दिएको बताए । कार्यालयमा नै आएका पौडेललाई भने, ‘अब तपाईले घर बनाउन शुरू गर्नुस्, यताबाट गर्नुपर्ने काम हामी गरिदिन्छौं ।’
छोराहरू भएपनि विगतदेखि नै एक्लै बस्दै आएकी उनको घर भूकम्पले भत्काएपछि छिमेकी प्रदीप पौडेलको घरमा बस्दै आएकी छन् । केन्द्रमा ४ पटक र जिल्लामा पटक–पटक धाउँदै आएका उनले अब भने केही आशावादी भएको बताइन् ।
यसअघि भरेको गुनासोको पनि फाइल १ वर्षसम्म वडा कार्यालयमा नै रहेको र अहिले अर्को इञ्जिनीयर आएर हेरेपछि बल्ल अगाडि बढेको कारण अब भने हुने खालको प्रतिक्रिया आएको उनले बताइन् ।