
चितवन – भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरेर ठूलो संख्यामा विदेशी पर्यटक नेपाल भित्र्याउन विश्वभर प्रचार अभियानमा सरकार जुटेको छ ।
भ्रमण वर्षको संघारमा पर्यटकीय क्षेत्र सौराहामा ७१ देशका संरक्षणकर्मी जुटेका छन् ।
यसैलाई अवसरका रुपमा लिएर सरकारी र गैरसरकारी क्षेत्रबाट चितवनका पर्यटकीय महत्त्वका बारेमा उनीहरूमार्फत सन्देश पुर्याउने काम भइरहेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक संरक्षण अधिकृत विष्णु थपलियाले भ्रमण वर्षको पूर्व तयारी भइरहेका बेला भएको यो जमघट निकै महत्त्वपूर्ण रहेको बताए ।
बुधवार बिहानसम्म ७१ देशबाट ४९१ विदेशी अन्तर्राष्ट्रिय रेन्जर सम्मेलनमा सहभागी भएका उनले जानकारी दिए । सबैभन्दा बढी अस्ट्रेलियाबाट ११२ सहभागी छन् । सबै सहभागी प्राकृतिक सम्पदामा काम गर्ने संरक्षणकर्मी रहेका र नेपालको पर्यटन वन तथा वन्यजन्तुमा बढी केन्द्रित हुने भएकाले उनीहरूमार्फत राम्रो सन्देश जाने छ । उनीहरूको सामाजिक सञ्जालमार्फत एउटै देशका हजारौं जनतालाई यहाँको पर्यटकीय महत्त्वका बारेमा सन्देश प्रवाह हुने देखिन्छ ।
भ्रमण वर्ष तयारी समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले विश्वभरका संरक्षणकर्मीलाई यहाँको पर्यटकीय महत्वका बारेमा जानकारी दिँदै ती देशमा हाम्रो निम्ता पुग्ने बताए । नेपालको पहिलो निकुञ्ज चितवन भएको भन्दै उनले वास्तविक रमाईलोपन ७१ देशका प्रतिनिधिले एकैसाथ पाएका उनको भनाइ छ ।
यससँगै आउँदो वर्ष यहाँ आउने पर्यटकको संख्या बढाउन सकिने डल्लाकोटीले बताए । सुनसानसँगै एकाएक विदेशी पर्यटकले भरिएपछि सौराहाका पर्यटन व्यवसायीमा उत्साह बढेको छ । क्षेत्रीय होटल संघ सौराहा च्याप्टरका अध्यक्ष दीपक भट्टराईले सहभागीलाई जति सक्दो धेरै पर्यटकीय महत्वका वस्तु देखाएर ती देशमा सन्देश पठाउन लागिएको बताए ।
सहभागीलाई जंगल सफारी, डुंगा सयर, सांस्कृतिक कार्यक्रमको प्रस्तुतिकरण गरिँदैछ भने सम्भव भए जतिलाई रातको समयमा मध्यवर्ती वनभित्र निर्माण गरिएका स्तम्भमा राखिँदै छ । उनीहरूमार्फत ती सन्देश आ–आफ्ना देशमा पुग्ने छ ।
रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले संसारभर एकै पटक पर्यटकीय महत्त्वका बारेमा सन्देश पुग्न लागेको बताए । आफूले कार्यक्रमको उद्घाटन सत्रमा सबैलाई स्वागत गर्दै आ–आफ्ना देशवासीलाई भ्रमण वर्षको सन्देश पुर्याउन आग्रह गरेको उनले जानकारी दिए ।
उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेश फर्किएर आफन्त र साथीभाइलाई भ्रमण वर्षको निम्तो पुर्याइदिन आग्रह समेत गरेका थिए ।
भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ विश्व सुवेदीले जिल्लाको पर्यापर्यटनका विषयमा सहभागीले आफ्ना देशमा सामाजिक सञ्जालमार्फत अरुलाई जानकारी दिने हुनाले विना खर्च विश्वभर राम्रो प्रचार हुन लागेको बताए । यससँगै नेपालमा भ्रमण वर्षमा आउने पर्यटकको संख्यामा वृद्धि हुने सुवेदीको अपेक्षा छ ।
वन र वन्यजन्तु क्षेत्रका विज्ञको सहभागिता भएको हुनाले उनीहरूमार्फत यहाँको महत्त्वका बारेमा राम्रो गरी सन्देश जाने देखिएको छ । संरक्षणकर्मीले दुर्लभ एकसिङ्गे गैंडा, बाघ, घडियाल गोही जस्ता वन्यजन्तु र चरा अवलोकन गर्ने अवसर पाएका छन् । जाडो छल्न विश्वका विभिन्न देशबाट यहाँ आएका चरा उनीहरूका लागि अध्ययन र अवलोकन गर्न निकै महत्त्वपूर्ण सावित हुने छन् ।
निकुञ्जसँगै सौराहामा रहेको थारु संस्कृति विश्वका जोसुकैका लागि नौलो र महत्त्वपूर्ण हुने गर्दछ । मंगलवारबाट शुरू भएको रेन्जर सम्मेलन ५ दिनसम्म चल्नेछ । नेपाल सरकार र अन्तर्राष्ट्रिय रेञ्जर फेडरेसनले कार्यक्रमको आयोजना गरेको हो । एसियामा पहिलोपटक यो कार्यक्रमको आयोजना गरिएको हो । – नारायण अधिकारी/रासस