२६ जेठ २०८३, मंगलबार

पुस मध्यबाट काठमाडौंमा बिजुलीका तार जमिनमुनि गाडिँदै

कात्तिक २८, २०७६
पुस मध्यबाट काठमाडौंमा बिजुलीका तार जमिनमुनि गाडिँदै

काठमाडौं –नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका मुख्य सहरी क्षेत्रमा बिजुलीका तार भूमिगत गर्ने कार्य २०२० को जनवरीबाट शुरूगर्ने भएको छ ।  

काठमाडौं उपत्यका वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत तार भूमिगत कार्य शुरूगरेको दुई वर्षमा सम्पन्न हुने बताइएको छ । उपत्यकाको महाराजगन्ज तथा रत्नपार्क वितरण केन्द्रअन्तर्गतका तार भूमिगत गर्ने जिम्मा पाएको कम्पनी केइआई इन्डिस्ट्री इन्डियाले जनवरीबाटै काम शुरूगर्ने गरी निर्माणपूर्वका सम्पूर्ण तयारी पूरा गर्न लागेको प्राधिकरणले जनाएको छ । आयोजनाअन्तर्गत चार सय भोल्ट क्षमताको वितरण लाइन ५ सय किलोमिटरभन्दा बढी र ११ किलो भोल्टको चार सय किलोमिटरभन्दा बढी लाइन भूमिगत गर्न लागेको हो । यसका लागि मध्य तथा उत्तर, पूर्व तथा दक्षिण र पश्चिम गरी ३ आयोजना सञ्चालन भइरहेका छन् । 

प्राधिकरणले बिजुलीका तार भूमिगत गरेसँगै हाल प्राधिकरणको पोलबाटै प्रसारण भइरहेका इन्टरनेट, केबुल टेलिभिजन, टेलिफोनलगायत सेवाप्रदायकका केबुल (तार)समेत भूमिगत गर्न मिल्ने गरी सुरुङभित्र पाइप जडान गर्ने जनाएको छ । आयोजना सफल भए पोलमा जेलिएको तारले सहर कुरुप बनेका मुख्य सहरको सुन्दरता बढ्ने विश्वास गरिएको छ । तर, यसका लागि अन्य सेवाप्रदायक निकायले समेत समन्वय गर्नुपर्ने देखिएको छ । त्यस्तै, स्थानीय निकाय, प्रहरी, प्रशासन सबैको समन्वय आवश्यक हुने काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजना प्रमुख पियुस मालाकारले बताए । 

पूर्व, मध्य र दक्षिण क्षेत्रमा जनवरीदेखि काम 
उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत महाराजगन्ज वितरण केन्द्रअन्तर्गत  जनवरीदेखि  विभिन्न भोल्टेजस्तरका लाइन भूमिगत गर्ने इन्जिनियर राजकुमार केसीले बताए । उनका अनुसार यस आयोजनाले बालुवाटार, लाजिम्पाट, टिचिङ हस्पिटल, गैह्रीधारा, बाँसबारीलगायत स्थानमा वितरण लाइन भूमिगत गर्नेछ । त्यस्तै, धापासी, सामाखुसी, गोंगबु, ओम अस्पताल, तारेभिर, सुन्दरीजल, शिवपुरीलगायत स्थानसम्मका लाइन भूमिगत गरिनेछ । 

आयोजनाको ठेकेदार कम्पनी केइआई इन्डिस्ट्री इन्डियाले सर्बे गरी डिटेल डिजाइन तयार गरिसकेको छ । आयोजनाको डिजाइनलगायत विषयमा कन्सल्टिङ भारतको सरकारी कम्पनी पावर ग्रिड अफ इन्डियाले गरिरहेको छ । यो आयोजना एसियाली विकास बैंकको साढे ३ अर्ब ऋण सहयोगमा निर्माण हुन लागेको हो । आयोजना हेर्ने कर्मचारी, कार्यालयलगायतको सञ्चालन खर्च भने नेपाल विद्युत् प्राधिकरणले व्यहोरिरहेको छ ।  

त्यस्तै, उपत्यकाको पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत रत्नपार्क वितरण केन्द्रबाट विद्युत् प्रावाह हुने लाइन भूमिगत गरिनेछ । यो कामको जिम्मेवारीसमेत केइआई इन्डिस्ट्री इन्डियाले नै लिएको छ । आयोजनाको आवश्यक सर्बे, डिटेल डिजाइनलगायत अध्ययनका सम्पूर्ण काम पूरा गरिरहेको आयोजनाका इन्जिनियर पूजन कट्टेलले बताए । 

‘पाइप, केबुललगायत जडान उपकरणसमेत ल्याउन केइआईले शुरूगरिसकेको छ,’ उनले भने, ‘मंसिरदेखि नै काम शुरूगर्ने उसले जनाएको छ ।’ उनका अनुसार ड्रिलिङका लागि आवश्यक होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ (एचडिडी) मेसिनसमेत १/२ दिनभित्रै ल्याउने कम्पनीले जनाएको छ । आयोजनाअन्तर्गत रत्नपार्क वितरण केन्द्रबाट विद्युत् वितरण गरिने थापाथली, माइतीघर, रातोभाले, सिंहदरबार, पुतलीसडक, भत्केको पुल, ज्ञानेश्वर क्षेत्र वरपर पूर्व तथा दक्षिण क्षेत्रको लाइन भूमिगत गरिनेछ । यस आयोजनाका लागि पौने ४ अर्ब बजेट अनुमान गरिएको छ । नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्