
विदुर (नुवाकोट) २५ चैत–
२०७२ वैशाख १२ गतेको विनासकारी भूकम्पले धेरै क्षति गरेको जिल्लामध्ये नुवाकोट पनि एक हो । निजी घरमात्र होइन भूकम्पले अन्य संरचना र सामाजिक मनोविज्ञानमा पनि उत्तिकै क्षति पुर्याएको थियो । पुनर्निर्माणको काम सुस्त हुँदा भूकम्पले दिएको चोट अझै निको हुन सकेको छैन ।
नुवाकोटको विदुर नगरपालिकास्थित आंघापुटारका स्थानीयलाई झण्डै २ वर्षअघि गएको विनासकारी भूकम्पको मनोवैज्ञानिक त्रास भने केही कम भएको देखिन्छ । तर, त्यही भूकम्पले निम्त्याएको क्षति पुनस्र्थापित हुने विषयमा भने स्थानीयहरु अझै आशावादी हुन सकेका छैनन् ।
आंघापटारवासीको स्थानीयको जिविकाको एकमात्र माध्यम खेतीपाती हो । नियमित अन्नबालीबाहेक मौसमी तथा बेमौसमी तरकारी खेती र फलफूल पनि यस क्षेत्रमा वासिन्दाहरूको आयआर्जनको भरपर्दाे बैकल्पिक स्रोत हो ।
यहाँका स्थानीयले नजिकैको अँधेरीखोलाको पानीबाट खेतीमा सिचाइँ गर्ने गर्छन् । करिव अढाइ सय वर्ष अगाडि (पृथ्वीनारायण शाहको पालामा) बनेको ‘राज कुलो’ स्थानीयले आफ्नो खेतबारी सिञ्चित गर्ने एकमात्रै विकल्प थियो । तर, उक्त कुलो १२ वैशाख २०७२ को भूकम्पले क्षतिग्रस्त भयो । जसकारण स्थानीयले २ वर्षदेखि आफ्नो खेतबारीमा सिचाइँ गर्न पाएका थिएनन् ।
भूकम्पले १ हजार २ सय मिटरको उक्त कुलोका विभिन्न स्थानमा क्षति पु¥याएपछि खेतबारीमा लगाएको अन्नबाली तथा तरकारीबालीमा ठूलो क्षति पुगेको स्थानीयहरू बताउँछन् ।
सिचाइँका लागि नियमित पानी आपूर्ति हुने कुलो नै भत्किएपछि आफ्नै बलबुताबाट कुलो मर्मत गरी पानी आपूर्ति गर्ने कोसिस गरेपनि दिगो रुपमा मर्मत गर्नका लागि आवश्यक स्रोतसाधनको जोहो गर्न सकेका थिएनन् ।
झण्डै अढाइ सय वर्षको इतिहास बोकेको यो कुलो मर्मतका लागि सम्बन्धित निकायमा पटकपटक जानकारी गराए पनि आफूहरूको माग सम्बोधन नभएको स्थानीय कृषक सावित्री अधिकारीले बताईन ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वल्र्ड भिजनको आर्थिक सहयोगमा राजकुलो मर्मत भएपछि भने अहिले स्थानीय खुसी देखिन्छन् । बल्र्ड भिजनको सहयोग पछि पृथ्वीनारायण शाहको पालाको कुलामो पानी बग्न थालेको छ ।
कुलो मर्मतका लागि वल्र्ड भिजनले झण्डै पौने ९ लाख रुपैयाँ सहयोग गरेको हो । राजकुलोको मर्मत पछि अहिले यहाँका स्थानीयमा खुसीको रंग छाएको छ । वल्र्ड भिजनले स्थानीयकै श्रम सहभागीता रहने गरी आर्थिक र प्राविधिक सहयोग प्रदान गरी कुलो मर्मत गरिदिएको थियो । स्थानीयलाई कामबापतको रकम (क्याँस फर वर्क) मोडलमा वल्र्ड भिजनले कुलोको मर्मत गरेको थियो ।
भूकम्पका कारण पहिरो जाँदा र बीचबीचमा चिरा परेर भत्किँदा बन्द भएको पानी आपूर्ति कुलो मर्मतपछि सहज भएको छ ।
भूकम्पको कारण कुलो भत्किँदा १ वर्ष कृषि उत्पादनमा ह्रास आएको स्थानीय बताउँछन् । राजकुलो भत्किदा यस क्षेत्रका झण्डै ३ सय घरधुरी प्रत्यक्ष रुपमा प्रभावित भएका थिए ।
‘कुलो बनेपछि कृषकलाई धेरै राहत मिलेको छ,’ राजकुलो मर्मत समितिका अध्यक्ष अमृत बहादुर बोगटीले बताए । जिल्लास्थित जिल्ला कृषि विकास कार्यालयसँग समन्वय गरेर वल्र्ड भिजनले कुलो मर्मत गरिदिएको थियो ।
त्यस्तै, वल्र्ड भिजनले नुवाकोटकै हल्देकालिका वडा नं ४ देखि भदौरे चौतारासम्मको करीव ५ सय मिटर सडकको पनि मर्मत गरेको छ । करीव २८ लाख रुपैयाँ लागतमा उक्त सडक निर्माण गरिएको वल्र्ड भिजनका एड्भोकेसी एण्ड एक्स्ट्रनल रिलेसन शाखा संयोजक देवेन्द्र प्रसाद गुरुङले बताए ।
यस क्षेत्रका किसानलाई राहत मिल्नेगरी वल्र्ड भिजनले ६८ वटा हाते ट्याक्टरसमेत वितरण गरेको छ । एउटैको करीव ६० हजार रुपैयाँ पर्ने ती ट्याक्टर कृषक समूहमार्फत वितरण गरिएको छ । त्यस्तै, वल्र्ड भिजनले ४ वटा बालमैत्री शौचालय निर्माण र २ वटा विद्यालय मर्मतसमेत गरेको छ । गाउँघर क्लिनिक मोडलको एक स्वास्थ्य संस्था पनि वल्र्ड भिजनले स्थानीयलाई हस्तान्तरण गरेको छ । १२ वटा नयाँ खानेपानी आयोजना पनि निर्माण गर्ने योजना रहेको वल्र्ड भिजनले जनाएको छ ।
भूकम्पपछि वल्र्ड भिजनले उक्त क्षेत्रमा स्थानीयलाई तत्कालिन आवास निर्माण, जनजिविका, सरसफाई तथा स्वच्छता, कृषि उत्पादन अभिवृद्वि, महिला तथा बालबालिका उत्थान, शिक्षा, स्वास्थ्यलगायतका विभिन्न क्षेत्रमा सहायता गर्दै आएको छ । नुवाकोटको साविकका नर्जामण्डप, हल्देकालीका, सुन्दरादेवी गाविस र विदूर नगरपालिकामा वल्र्ड भिजनले विभिन्न गतिविधि गर्दै आएको छ ।