काठमाडौं, ५ पुस — टर्कीका एक प्रहरीले रुसी राजदूत आन्द्रेई कार्लोभको सोमवार बेलुका हत्या गरेका छन् ।
सिरियाको अलेप्पोमा रुसको संलग्नताको विरोधस्वरूप यो हत्या गरिएको अनुमान छ ।
मेव्लुत मेर्त आइदिन्तासले यो हत्या गरेका हुन् । उनी अंकाराका दंगा प्रहरी हुन् । उनी कुनै समूहसँग संलग्न भए नभएको खुलेको छैन ।
रुसी राजदूत एक फोटो प्रदर्शनीमा भाग लिँदै गर्दा हत्या भएको हो । बन्दुकधारीले ‘अलेप्पोलाई नबिर्स’ भनी चिच्याएको सुनिन्थ्यो ।
रुसले सिरियाली राष्ट्रपति बशर अल—असदलाई समर्थन गरेकोमा टर्कीमा भएको विरोधको एक दिनपछि यो हत्या भएको हो ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले रुससँगको सम्बन्ध बिगार्न यो हत्या गरिएको बताए । एर्दोगानले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरे । दुवैले यो कार्य दुई देशबीच भावना भड्काउन गरिएको बताए ।
दुई देशबीचको सम्बन्धमा हानि पु—याउनखोज्नेहरूले आफ्नो उद्देश्य कहिल्यै पूरा गर्न नसक्ने बताए ।
रुसी अनुसन्धानकर्ताहरूको एक समूहले टर्की गएर मुद्दाको अनुसन्धान गर्ने पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले बताए ।
बीबीसी