
भारतको राजधानी दिल्लीमा पहिलो अक्सिजन बार खुलेको छ । प्रदूषणग्रस्त शहरमा मानिसहरूले बार गएर १५ मिनेटसम्म ताजा अक्सिजन लिन पाउने भएका छन् ।
अक्सी प्योर बारले एक सेसनमा ३०० भारु तिराएर ८० देखि ९० प्रतिशत शुद्ध अक्सिजन दिन्छ । अक्सिजन लेमनग्रास, ल्याभेन्डर, बेरी र युकालिप्टसको फ्लेवरमा पाइन्छ ।
अक्सिजन बार दिल्लीको दक्षिणतिर रहेको मलमा खोलिएको हो । त्यहाँ पुग्ने ग्राहकहरूको नाकमा ट्युब जडान गरिन्छ अनि सुगन्धित तेलहरूसहितको अक्सिजन बबलहरू उनीहरूको फोक्सोमा पठाइन्छ ।
अक्सी प्योरले प्रदूषण विशेष पजि उपलब्ध गराउँछ र ग्राहकहरूलाई तीनवटा सेसनको पैसामा चारवटा सेसनको सुविधा दिएको छ ।
आर्यवीर कुमारले गत मे महिनामा यो बार खोलेका हुन् र दिनमा ३० देखि ४० ग्राहक आउने गरेको उनले बताए । बोतलमा अक्सिजन भरेर लैजाने मानिसहरू पनि भएको उनले बताए ।
दिल्ली संसारकै सबभन्दा प्रदूषित शहरमध्ये एक हो । अघिल्लो साता स्काईमेट नामक संस्थाले यसलाई संसारको सबभन्दा खराब प्रदूषण भएको शहर घोषणा गरेको थियो ।
एजेन्सी