०२ साउन २०८३, शनिबार

श्रीलंकाको सत्तामा महिन्दा राजपक्षको पुनरागमन, के होला तमिलहरूको भविष्य ?

श्रीलंकाको सत्तामा महिन्दा राजपक्षको पुनरागमन, के होला तमिलहरूको भविष्य ?

श्रीलंकामा १० वर्षसम्म राष्ट्रपतिका रूपमा शासन चलाएका महिन्दा राजपक्ष फेरि एकपटक सत्तामा फर्किएका छन् । यसपालि उनी प्रधानमन्त्री बनेका छन् । 

बहालवाला राष्ट्रपति गोताबाया राजपक्षले आफ्ना दाइ महिन्दालाई नयाँ प्रधानमन्त्रीका रूपमा नियुक्त गरेका हुन् । श्रीलंकामा जनवरी महिनामा संसदीय चुनाव हुँदैछ । 

अनेकौं मानवअधिकारहरू हनन गरेको गम्भीर आरोप महिन्दामाथि लागेको छ । 

तर महिन्दाका बारेमा नकारात्मक कुरा मात्र गर्न मिल्दैन । उनको व्यक्तित्व आकर्षक छ । 

बीबीसीका पत्रकार चार्ल्स हेभील्यान्डले महिन्दालाई घरै गएर भेटेका थिए । त्यतिखेर उनका छोरा र राजनीतिक उत्तराधिकारी नमलले हेभील्यान्ड र सहयोगीलाई स्वागत गरे अनि पितासँग भेटघाट गराए । महिन्दा त्यतिखेर एउटा कोठामा आराम गरिरहेका थिए । 

लामो कुराकानी चलिरहँदा महिन्दाले एकपटक पनि घडी हेरेनन् । उनले पत्रकारहरूलाई गइदिए हुन्थ्यो भन्ने किसिमको भाव देखाएनन् । 

पछि पत्रकारहरूबाट घेरिँदा पनि उनको व्यवहार त्यस्तै रह्यो । 

आफ्नो यही मेलजोलपूर्ण प्रवृत्तिका कारण महिन्दा सिंहाली जनतामाझ अत्यन्तै लोकप्रिय रहे । 

सिंहालीहरू श्रीलंकामा ७० प्रतिशत छन् । तमिल टाइगरविरुद्धको युद्धमा जीत हासिल गरेपछि महिन्दाको लोकप्रियता चरमचुलीमा पुग्यो । 

जीतले उनलाई महान् त बनायो तर जित्नका लागि उनले अपनाएको तरिकालाई पनि जायज ठहर्‍याउन थालियो । 

सन् २००९ को मे महिनामा तमिल टाइगरविरुद्धको युद्ध सकिएको खुशियाली कोलम्बोका सडकमा जति मानिसले मनाइरहेका थिए, लगभग त्यति नै मानिस चुपचाप दुःखमनाउ पनि गरिरहेका थिए । 

त्यस्तो दुःखमनाउ गर्नेमा श्रीलंकाका अल्पसंख्यक तमिल समुदायका मानिस थिए । उनीहरूले आफ्ना बालबालिका, आमाबुवा, पतिपत्नी, दाजुभाइ तथा दिदीबहिनी गुमाएका थिए । 

गृहयुद्धका अन्तिम दिनहरूमा लिट्टेको कब्जामा रहेको सानो क्षेत्रमा श्रीलंकाली सेनाले पूरै शक्ति लगाएर कारवाही चलाएको थियो । लिट्टे सैनिकहरूलाई भाग्नका लागि कुनै बाटो थिएन । 

अन्तिम युद्धमा तमिलहरूले आफ्नो घर ध्वस्त भएको देख्नुपर्‍यो । लिट्टेले उनीहरूका प्रियजनलाई जबर्जस्ती आफ्नो सशस्त्र गुटमा भर्ना गरेका थिए । 

श्रीलंकाली सेनासमक्ष आत्मसमर्पण गरेपछि उनीहरूका प्रियजन बेपत्ता बनाइए । 

उनीहरूले सेतो झण्डा फर्फराएका तमिल टाइगर्सका लडाकूहरूलाई हिरासतमा लिनुअघि र पछि मारिएको समेत देखेका थिए ।

सरकारले अस्वीकार गरेको भए पनि गृहयुद्धको अन्तिम चरणमा यसो गरिएको भिडियो सार्वजनिक भएको थियो ।

महिन्दा राजपक्ष सरकारप्रमुख हुँदा शिक्षामन्त्री बनेका एसबी दिशानायकेले सार्वजनिक मञ्चमै अनेकौं एलटीटीई विद्रोहीहरूलाई सेनाको हिरासतमा मारिएको बताएका थिए । 

श्रीलंकाको उत्तरी क्षेत्रमा ठूलो संख्यामा पूर्व विद्रोही र तमिल नागरिकहरू बेपत्ता थिए । तमिलबहुल क्षेत्रमा मात्र यसो भएको हैन । 

मानिसहरू कोलम्बोबाट पनि गायब भइरहेका थिए । 

त्यतिखेर एक वरिष्ठ प्रहरी अधिकारीले सरकारविरोधी प्रदर्शन रोक्नका लागि पर्याप्त संख्यामा सेतो रंगका भ्यानहरू भएको कुरा मिडियालाई बताएका थिए । 

सरकारको छत्रछायाँमा गरिने अपहरणमा यिनै सेता रंगका भ्यानहरू उपयोग गरिन्थे र ती भ्यान अहिलेसम्म पनि बदनाम छन् । 

सन् २०१५ मा महिन्दा राजपक्ष र उनका सहयोगीहरू सत्ताबाट बाहिरिएपछि मानवअधिकार हननका विषयमा कुनै पनि प्रगति भएको छैन । 

तमिलहरू र मानवअधिकार अभियन्ताहरू श्रीलंकामा अहिले पनि कुनै परिवर्तन नआएको बताउँछन् ।

बीबीसीबाट 

salt training

कमेन्ट गर्नुहोस्