
जिल्लाका उच्च हिमाली भेगमा हिमपात भएको छ । हिमाली भेगमा हिमपात शुरू भएसँगै जिल्लामा चिसो बढेको छ ।
हिमपात बिहीवार साँझदेखि शुरू भएको हो । हिमाली भेगमा हिमपातसँगै तल्लो क्षेत्रमा पानी पर्न थालेको छ ।
असोजपछि पहिलोपटक पानी पर्न थालेको हो । आकाशको पानीले खेती गर्नु पर्ने हुँदा किसानले हालसम्म पनि पाखो जमीनमा हिउँदे खेती गरेका छैनन् । पानी पर्न थालेपछि किसानलाई केही आश थपिएको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रशासन अधिकृत मीनप्रसाद जैशीले जानकारी दिए ।
किसान आकाशे पानी कुरिरहेका छन् तर उच्च हिमाली भेगमा परेको हिमपातसँगै चिसोले जनजीवन सामान्य भए पनि प्रभावित बनेको छ ।
बिहीवार साँझपखबाट एकाएक मौसम बदली भएको थियो । अहिले बिहानसम्म बाजुराको आकाशमा घामसमेत देखिएको छैन । बडिमालिका, बूढीनन्दा, पोरखे, बढालेक लगायतका हिमालमा हिउँ पर्न शुरू भएको छ ।