विराटनगर, २७ चैत - मध्यवर्गीय परिवारको भान्सामा सबैभन्दा बढी प्रयोग हुने चामल जिरा मसिनो हो । बजारबाट खरिद गरेर ल्याएको जिरा मसिनो चामलको बोरामा नेपालको कुनै राइस मिलको उत्पादन भनेर नाम लेखिएको हुन्छ । तर, यो चामल नेपाली उत्पादन नभई भारतीय हुन सक्छ, कान्तिपुरमा खबर छ ।

पूर्वी तराईका झापा, मोरङ र सुनसरी जिल्लामा जिरा मसिनो धान उत्पादन घटदो छ । ‘हाम्रोमा जिरा मसिनो धानको उत्पादन छैन भन्दा पनि हुन्छ,’ क्षेत्रीय कृषि विकास कार्यालयका अधिकृत राजेन्द्र उप्रेतीले भने, ‘यो धानको उत्पादन कम र रोग बढी लाग्ने भएकाले किसानले खेती गर्न नै छाडे ।’
भारतीय चामल ल्याएर नेपालका राइस मिलले आफ्नो उत्पादन र ब्रान्ड दिएर बिक्री गर्ने क्रम बढदो छ । सुनसरी, मोरङ, झापाका अधिकांश राइस मिलहरूले जिरा मसिनो जातको चामल प्याकेजिंग गरि बिक्रि वितरण गर्छन । तर, त्यो धान नेपालमा नै उत्पादन भने भएको हुँदैन । पूर्वमा जिरा मसिनो धानको उत्पादन ५ प्रतिशतमात्रै हुने तर प्याकेजिंग भएर आउने अधिकाश चामल जिरा मसिनो हुने भएकाले उक्त चामल भारतीय भएको बलियो प्रमाण हो ।