
काठमाडौं, २७ चैत — दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा हजारौंजनाले विपक्षी नेता अनरिक काप्रिलेसलाई राजनीति गर्न १५ वर्ष प्रतिबन्ध लगाइएपछि विरोध प्रदर्शन गरेका छन् ।

राजधानी काराकासमा प्रहरीले विरोधकर्ताहरूलाई राष्ट्रिय मध्यस्थकर्ताको कार्यालय पुग्न नदिनका लागि अश्रूग्यास प्रहार गरेको थियो ।
सरकारविरोधी प्रदर्शनको एक हप्तापछि शनिवारको विरोध कार्यक्रम आयोजना भएको थियो ।
राष्ट्रिय सभाको अधिकारलाई नियन्त्रण गर्ने सर्वोच्च अदालतको फैसलाको विरोधमा एक हप्ताअघिदेखि विरोध प्रदर्शन भइरहेको थियो । अदालतले पछि फैसला उल्ट्याएको थियो ।
प्रहरीले काराकासको एक प्रमुख क्षेत्रमा विरोधकर्ताहरूमाथि अश्रूग्यास प्रहार गरेको थियो अनि सान क्रिस्टोबाल शहरमा रबरको गोली प्रहार गरेको थियो ।
धेरैजनाले ‘निरंकुशता मनाही छ’ र ‘राष्ट्रपतिका लागि काप्रिलेस’ लगायतका नारा लगाएका थिए ।
राष्ट्रपति निकोलास मादुरोलाई काप्रिलेसले हराउने सम्भावना भएकाले उनीमाथि प्रतिबन्ध लगाइएको विपक्षीहरूको आरोप छ ।
काप्रिलेसले भने आफू मिरान्दा राज्यको गभर्नरका रूपमा काम गरिरहने र प्रतिबन्धविरुद्ध पुनरावेदन गर्ने बताए ।
भेनेजुएलाका महालेखापरीक्षकले काप्रिलेसले प्रशासनिक अनियमितता गरेका कारण उनीविरुद्ध प्रतिबन्ध लगाइएको स्पष्टीकरण दिए ।
बीबीसीबाट