११ असार २०८३, बिहीबार

होटल श्रमिकलाई काठमाडौंमै बेहाल, पाउँदैनन् उचित पारिश्रमिक

मंसिर २०, २०७६
होटल श्रमिकलाई काठमाडौंमै बेहाल, पाउँदैनन् उचित पारिश्रमिक

होटल, रेस्टुराँ लगायतका क्षेत्रमा बालश्रमिकको प्रयोग, न्यून ज्यालामा काम गर्नुपर्ने बाध्यता, रातको समयमा सवारी साधनको व्यवस्था नहुनुलगायतका समस्या हट्न सकेको छैन । 

श्रम ऐनमा रोजगारदाताले श्रमिकका लागि दिने सेवा–सुविधाका विषयमा उल्लेख भएपनि कार्यान्वयन नहुँदा समस्या नहटेको यस क्षेत्रमा कार्यरत सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधिको भनाइ छ ।

मनोरञ्जन र सत्कार व्यवसायको विद्यमान अवस्थाबारे बिहीवार विश्वास नेपालले गरेको अन्तर्क्रिया कार्यक्रममा सहभागीले काम गर्ने श्रमिकको अवस्थामा सुधार आउन नसकेको बताएका छन् । यस क्षेत्रका श्रमिकको सेवा–सुविधाका विषयमा कानूनमा उल्लेख भएपनि कार्यान्वयनमा नआएको सहभागी प्रहरी, कर्मचारी, गैरसरकारी संस्थाका प्रतिनिधि लगायतले औंल्याएका छन् ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले जिल्ला प्रशासन कार्यालयले ठमेल, बालाजु, गौशाला लगायतका क्षेत्रमा अनुगमन गर्दै आएको बताए । अनुगमनका क्रममा श्रमिकले आफूले आवश्यक सुविधा पाएको बताएको उनले बताए ।

श्रमिकलाई लगानीकर्ताले आफूले सेवासुविधा पाएको भन्न सिकाएको उनको भनाइ छ । उनले भने, ‘त्यसो नभने जागिरबाट निकाल्ने हुँदा उनीहरूले आफ्ना कुरा भन्न सकेका छैनन् ।’

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले होटल र रेस्टुराँमा दैनिकजसो अपराधका घटना भइरहेको र नेपाल प्रहरीले कडाइका साथ कारवाही गरिरहेको जिकिर गरे । होटलका बन्द कोठामा कुनै पनि व्यक्तिको मृत्यु हुँदा हत्या कि आत्महत्या भन्ने छुट्याउन कठिन हुने उनले बताए ।

विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीले यस क्षेत्रमा कार्यरत सबै संस्थाले ‘म फलानो होटल, रेस्टुराँमा काम गर्छु’ भनेर गर्व गरेर भन्न सक्ने वातावरण बनाउनुपर्ने उल्लेख गरिन् । नेपाल रेस्टुरेन्ट व्यवसायी संघका अध्यक्ष विजय नगरकोटीले दर्ता हुन बाँकी रहेका होटल, रेस्टुराँलाई दर्ता गराउँदै करको दायरामा ल्याउन संघले पहल गरिरहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्