
नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली कार्यान्वयनलाई सहयोग गर्दै नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले २४ कमर्सियल बैंकहरू ‘कनेक्ट आरटीजीएस’ प्रणाली जडान गरी सफलतापूर्वक कार्यान्वयनमा ल्याएको छ ।
आरटीजीएस प्रणालीमा भुक्तानी कारोबार प्रविष्ट गर्न तथा बैंकको बैंकिङ सिस्टमसँग अटोमेटेड गर्न बैंकहरूले ‘कनेक्ट आरटीजीएस’ लाई गेटवेको रुपमा प्रयोग गर्ने छन् ।
अधिकांश बैंकले आरटीजीएस कार्यान्वयनका लागि एनसीएचएललाई इन्टिग्रेसन पार्टनरको रुपमा नियुक्त गरेका थिए, जसअन्तर्गत इन्वार्ड, आउटवार्ड र रिपोर्टिङका लागि आवश्यक सिस्टमहरू तथा बैंकहरूलाई स्वसञ्चालन सम्बन्धी सहयोग एनसीएचएलले गरेको छ ।
आरटीजीएस प्रणालीमार्फत ठूलो मूल्य र तत्काल भुक्तानी गर्नुपर्ने कारोबार सदस्य बैंक र वित्तीय संस्थाबीच गरिन्छ । आरटीजीएस प्रणाली सामान्यतया तत्काल फन्ड प्राप्त गर्न र अन्य भुक्तानी प्रणालीको फर्छ्यौट सम्बन्धी जोखिम न्यूनीकरण गर्र्न प्रयोगमा ल्याइने एक राष्ट्रिय भुक्तानी प्रणालीको मेरुदण्डको रुपमा लिइन्छ । नेपाल राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको आरटीजीएस प्रणालीलाई नेपालमा भुक्तानी प्रणाली क्षेत्रको लागि एक महत्त्वपूर्ण कोशेढुंगाको रुपमा लिइएको छ । आरटीजीएस प्रणाली तथा यसमा गरिने कारोबारको वृद्धिको लागि एनसीएचएलद्वारा प्रदान गरिएको ‘कनेक्ट आरटीजीएस’ बैंक तथा वित्तिय संस्थाको बैंकिङ प्रणालीसँग इन्टिग्रेट गराई आरटीजीएस प्रणालीमार्फत भुक्तानी कारोबार फर्छ्यौटलाई टेवा पुर्याउने विश्वास लिइएको छ ।
एनसीएचएलले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्था, गैरबैंकिङ सदस्यहरू जस्तै सरकारी तथा अर्धसरकारी संस्था, पीएसपी/पीएसओ र अन्य सेवा प्रदायकलाई विभिन्न राष्ट्रिय भुक्तानी पूर्वाधारको स्थापना तथा सञ्चालनमार्फत समग्र बैंकिङ क्षेत्रलाई सहयोग पुर्याइरहेको छ ।
एनसीएचएलको ‘कनेक्ट आरटीजीएस’ एक थप प्रणाली हो, जसले उद्योगलाई न्यून शुल्कमा सहयोग पुर्याउँदै आएको छ । एनसीएचएलसँग उपलब्ध भएका पूर्वाधारलाई विस्तार गरी अन्तर्राष्ट्रिय मापदण्डको अनुपालनसहित ‘कनेक्ट आरटीजीएस’ बैंक र वित्तीय संस्थाका लागि न्यून मूल्यमा कार्यान्वयनमा ल्याइएको हो । उक्त प्रणाली पहिलो चरणमा ‘क’ वर्गका बैंकका लागि प्रदान गरिएको छ भने नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपश्चात यसलाई ‘ख’ तथा ‘ग’ वर्गका वित्तीय संस्थालाई पनि उपलब्ध गरिने छ ।
एनसीएचएलले राष्ट्रिय भुक्तानी प्रणालीमध्ये विद्युतीय चेक क्लियरिङ, अन्तर बैंक भुक्तानी प्रणाली, ‘कनेक्ट आरटीजीएस’ इ–पेमेन्ट प्रणाली र नेसनल पेमेन्ट इन्टरफेस सञ्चालन गर्दै आइरहेको छ । जसअन्तर्गत ७५ भन्दा बढी बैंक तथा वित्तीय संस्था र २० भन्दा बढी पीएसपीएस/पीएसओएस लगायत गैरबैंकिङ संस्था सदस्य रहेका छन् ।