
वैज्ञानिक शिक्षा र गुणस्तरीय स्वास्थ्यका लागि मानव अधिकार तथा शान्ति समाजले देशव्यापी अभियान थाल्ने निर्णय गरेको छ ।
समाजको २२ औँ राष्ट्रिय परिषद् बैठक (वार्षिक साधारणसभा) ले ११ वटा प्रस्ताव पारित गरेको अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए ।
बैठकमा सीमा अतिक्रमणको विरोध, जलवायु परिवर्तन, विश्वव्यापी उष्णता र हिमालय बचाऔं आन्दोलनलगायतका प्रस्ताव पारित भएको उनले बताए । कार्यक्रममा शान्ति समाज रुपन्देही शाखालाई गत वर्षको उत्कृष्ट शाखाका रूपमा सम्मान गरिएको थियो । विसं २०७५ मा भव्यताका साथ राष्ट्रिय परिषद् सम्पन्न गर्ने मोरङ शाखालाई प्रशंसापत्रले सम्मान गरिएको थियो ।
यही मंसिर २७ र २८ मा दाङको तुलसीपुरमा परिषद् बैठक सम्पन्न भएको हो । विसं २०७७ को परिषद् बैठक कास्की र २०७८ को बैठक कपिलवस्तुमा आयोजना हुने जनाइएको छ ।
‘मानव अधिकार आन्दोलनको गन्तव्य : लागुऔषध/मदिरा दुर्व्यसनको अन्त्य’ भन्ने मूल नाराका साथ आयोजना गरिएको परिषद् बैठकमा देशभरका २७० सहभागीको उपस्थिति थियो ।