
चीनको हेनान प्रान्तको सरकारी कार्यालयमा बिहे गरेको एक जोडी विवाह दर्ता गर्न गयो । त्यो उनीहरूको खुसीको दिन थियो । उनीहरूको प्रेम र विवाहले औपचारिकता पाउँदै थियो ।
विवाह दर्ता गर्न आफ्ना श्रीमानलाई लिएर सरकारी कार्यालयमा पुगेकी शाङ जुनजुनको खुशी त्यतिबेला मेटियो जतिबेला कार्यालयको कम्प्युटरले उनको बिहे ५ जनासँग भइसकेको देखायो ।
उनका श्रीमान वाङ चिनफिङ छक्क परे ।
जुनजुनको बिहे २००४ मा २ पटक, २००५ मा २ पटक भइसकेको थियो ।
नाम एउटै परेको होला भनेर कार्यालयका अधिकृतले फोटो हेरे । फोटो पनि जुनजुनकै देखियो ।
उनका श्रीमान् वाङले तत्कालै उनलाई छोडेर हिंडे । उनी भने त्यहीं बसेर रोइरहिन् ।
'म विगत १० वर्षदेखि वाङसँग छु, यो कसरी सम्भव हुन सक्छ ?' उनले चिच्याइन् ।
पछि पत्ता लाग्यो उनको परिचय चोरेर अर्कैले बिहे गरेको थियो । अदालतले शाङकै पक्षमा फैसला गरेपनि विवाह दर्ता कार्यालयमा अझै उनीहरूको बिहे दर्ता भएको छैन ।