२२ जेठ २०८३, शुक्रबार

चुनावी स्टन्टः गाउँमा संस्थाले बाँडेको राहतको श्रेय लिन दलहरूको हानथाप !

कात्तिक २०, २०७४
चुनावी स्टन्टः गाउँमा संस्थाले बाँडेको राहतको श्रेय लिन दलहरूको हानथाप !

सिन्धुपाल्चोक, २९ चैत—
चैतको घाममा बाहिरबाट टलक्क टल्किएका जस्तापाताले छाएका घरभित्र गर्मी सुरु भइसकेको छ । गाउँमा स–साना एकतले छाप्रा । गाउँमा एकाध मान्छेले मात्र घर बनाउने आँट बटुल्न खोजेका छन् । भूकम्प गएको दुई वर्ष पुग्न लाग्दा पनि सरकारी राहत भने भीरमा फलेका फर्सीजस्तै भएको छ यहाँका बासिन्दालाई ।

परिवेशः सिन्धुपाल्चोक सदरमुकाम चौताराको छेउमै रहेको बागबजारको हो । चौतारादेखि नजिकै रहेको यो गाउँलाई सदरमुकामले ओझेलमा पारेको छ । टाढाका गाउँलेले विभिन्न संस्थाबाट सहयोग रकम पनि पाएका छन् । तर यो गाउँका जनताले भने कुनै पनि संस्थाको सहयोग नपाएको गुनासो गर्छन् ।

‘भूकम्प आयो, धनीलाई झन धनी र गरीबलाई झन गरीब बनाएर गयो ।’ सदरमुकाम चौतारामा होटल चलाएर बसेकी जानकी श्रेष्ठ दुखेसो पोख्छिन्, ‘भूकम्प जाँदा एक महिना अरुकै कुखरा पाल्ने छाप्रोमा बसेका थियौं, अहिले आफ्नै छाप्रो बनाएका छौं ।’

उनकी सानी छोरी टिनले बारेर बनाइएको सानो होटलमा आमाको कामका लागि सहयोग गर्छिन् । फुर्सतमा पढ्छिन् । ‘माटोको घर थियो, भुइँचालोले भत्कायो, जग्गा बाटोले खाइदियो, केही गर्न सकिन्छ कि भनेर होटल चलाउन थालेका छौं ।’, श्रेष्ठ सुनाउँछिन् ।

नक्कली भूकम्पपीडितको कारणले सक्कली भूकम्पपीडितलाई अझै बढी समस्या परेको भूकम्पपीडित बताउँछन् । बोल्नेहरुले राहत पाएपनि लाटासोझाले त संस्थाका राहत पनि नपाएको गुनासो उनीहरुको छ ।

बागबजारका स्थानीयहरु आफूले सरकारबाट ‘टेन्ट’ समेत नपाएको गुनासो गरेका छन् । संस्थाहरु पनि टाढाटाढाका गाउँलाई मात्र प्राथमिकतामा राख्न खोजेको उनीहरुको गुनासो छ । गाउँमा चुनावी चहलपहल भने बढ्दै गएको छ । विभिन्न संघसंस्थाले बनाइदिएका योजनालाई पनि हाम्रो पार्टीको पहलमा बनाइदिएको भनेर प्रचार गर्न थालेको स्थानीय बताउँछन् । ‘राहात पनि हामीले बाढेको हो, जस्ता पनि हामीले बाँढेको हो भन्दै दलका कार्यकर्ता आउन थालेका छन’ एक स्थानीयले भने ।

भूकम्पलगत्तै पानीको मूहान सुक्न थालेपछि बागबजारबासीले आधा घण्टासम्म हिँडेर पानी बोक्न परेको स्थानीयको गुनासो छ । ‘हामीसँग त घर बनाउन पैसा नै छैन, दशैंताका दिएको पैसा पनि जस्ता किन्दा र दशैं मनाउँदा सकियो,’ पचास कटिसकेका स्थानीयबासी रणबहादुर लामा भन्छन्, ‘सरकारले दिएको पैसा त्यति हो, तर सरकारले दिएको ढाँचाअनुसार घर बनाउने हो भने जग बसाल्नमात्रै तीनचार लाख लाग्छ रे !’

भूकम्पपीडितलाई घर बनाउने सरकारी निर्णयले पनि अप्ठेरोमा पारेको छ । पहिलो किस्तामा दिएको ५० हजारले जग खन्न पनि नसक्ने स्थिति भएकाले गाउँलेले नयाँ घर बनाउन आँट गर्न सकेका छ्रैनन् । सरकारले दिने भनेको राहतले घर बनाउन नपुग्ने कारणले पनि उनीहरुले घर बनाउन आँट गर्न सकेका छैनन् । ‘पानी पर्दा र हुरी चल्दा त टहरो नै उडाउँछ कि भन्ने डर हुन्छ,’ लामाले लोकान्तरसँग पीडा सुनाए, ‘हामीलाई त घर बनाउन सकिन्छ जस्तो लाग्दैन । खाँबो गाड्ने, खेती किसानी गर्ने, बाख्रा पाल्ने, बस्ने त गर्नेहोला ।’

सदरमुकामले छोएको गाउँ भएर संस्थाका राहतबाट समेत वञ्चित भएका स्थानीयबासीले आफ्नो जिन्दगीको लयलाई भने बिस्तारै समात्न थालिसकेका छन् । पानीको अभावले खेतीमा समेत समस्या हुने गाउँका धेरैजसो युवा कमाउनका लागि विदेशिएको स्थानीय बताउँछन् । धेरैसँग घरको जग खन्न समेत पैसा नभएको गुनासो छ । उनीहरुसँग घरको सपना त छ । तर न पैसा छ, न पैसा आर्जन गर्ने कुनै पूर्वाधार नै छ ।

salt training

कमेन्ट गर्नुहोस्