
भारतीय राजदूत पुरीको विदाइ भेटः देउवाको ‘लन्च’, प्रधानमन्त्रीको ‘करुवा’ उपहार
नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी आफ्नो तीन वर्षे कार्यकाल पूरा गरेर १५ पुसमा स्वदेश फर्किने तयारीमा छन्।
आफ्नो कार्यकाल सकिनै लाग्दा उनी अहिले विदाइ भेटमा व्यस्त छन्। केही दिन अघिसम्म बहालवाला मन्त्रीहरूसँग भेट गरेका पुरीले सोमबार मात्र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटे।
उनले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिदाइ भेट गरेका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रम ओलीले राजदूत पुरीलाई करुवा उपहार दिए।
राजदूत पुरी कांग्रेस सभापति देउवालाई भेट्न सोमबार उनकै निवास बूढानीलकण्ठ पुगेका थिए। सो अवसरमा देउवाले उनलाई लन्च पनि खुवाए। लन्चमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका शीर्ष नेता पनि सहभागी थिए।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पुरीको बिदाइमा दरबारमार्गस्थित होटल याक एण्ड यतीमा कार्यक्रम गरेको थियो।
सरकारको ८ बुँदे निर्देशनः छाउगोठमा राख्नेकाे भत्ता र सहुलीयत कर्जा रोक्नु
महिनावारी भएका बेला घरभन्दा टाढा गोठमा राख्ने कुरुती रोक्न संघीय सरकारले परिपत्र गरेको छ।
विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा महिलालाई छाउगोठमा राख्ने प्रचलन रहेकोमा यसले गर्दा विभिन्न घटना हुने क्रम बढेपछि गृह मन्त्रालयले मंगलबार जिल्ला प्रशासन कार्यालयलाई ८ बुँदे परिपत्र गरेको हो।
गृहले यसरी महिलालाई छाउगोठमा राख्नेको सामाजिक सुरक्षा भत्ता रोक्न र सहुलियत कर्जा लगायतका सरकारी सेवासुविधा रोक्न पनि निर्देशन दिएको छ।
सरकारले प्रहरी, समुदाय र स्थानीय तहसँग समन्वय गरी तत्काल छाउगोठ नष्ट गर्न भनेको छ।
मुलुकी अपराध संहिताको दफा १६८ को उपदफा ३ मा ‘महिलाको रजस्वला भएको वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा कुनै किसिमका भेदभाव, छुवाछुत र अमानवीय व्यवहार गर्नु गराउनु हुँदैन । छाउगोठमा बस्ने वा बस्न लगाउन बाध्य पार्ने व्यक्तिलाई ३ महिनासम्म कैद र ३ हजारसम्म जरिवाना सजाय हुने कानुनी व्यवस्था समेत छ।
घिसिङ र डा रुइतलाई ‘हेमबहादुर मल्ल सम्मान’
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आँखा चिकित्सक डा सन्दुक रुइतलाई ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने भएको छ।
नेपाल जन–प्रशासन संघ र साल्टटे«डिङ कर्पोरेशन लिमिटेडद्वारा स्थापित उक्त पुरस्कार तथा सम्मानको राशि जनही २ लाख रहेको छ । यसपटक २ वर्षको सम्मान एकैपटक प्रदान गर्न लागिएको हो ।
ऊर्जाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै घिसिङलाई विस २०७३ को र आँखा उपचारमा योगदान पुयाएको भन्दै डा रुइतलाई २०७४ सालको हेमबहादुर मल्ल सम्मान प्रदान गर्न लागिएको हो।
सम्मान छनोट समितिका संयोजक कृष्णहरि बाँस्कोटाले पुस ११ गते उपराष्ट्रपति नन्दबहादुर पुनबाट उनीहरुलाई सम्मान प्रदान गरिने जानकारी दिए।
यसअघि उक्त सम्मान राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुन, पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, पूर्व सभामुख दमननाथ ढुङ्गाना, पूर्व प्रधानन्यायाधीश तथा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, नागरिक अगुवा देवेन्द्रराज पाण्डे, चाँदनी जोशी, केदारभक्त माथेमा, डा विमल कोइराला, डा भगवान कोइरालालगायतलाई प्रदान गरिसकिएको छ ।
नेपाल-चीन संयुक्त अप्रेसनबाट १२२ चिनियाँ पक्राउ : चीन
चीनले नेपाल र चीनको संयुक्त अप्रेसनमा काठमाडौँबाट १ सय २२ चिनियाँ नागरिक पक्राउ परेको बताएको छ।
शंकास्पद गतिविधिमा संलग्न रहेको अभियोगमा प्रहरीले सोमबार काठमाडौँबाट १ सय १६ पुरुष र ६ महिला गरी १ सय २२ चिनियाँलाई पक्राउ गरेको थियो।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुवाङले मंगलबार भनेका छन्, ‘सीमा अपराध र साइबर क्राइममा संलग्नलाई पक्राउ गर्न दुवै देशको प्रहरीको संयुक्त अप्रेसन सञ्चालन गरिएको थियो।’
पक्राउ परेकामाथि ‘क्रसबोर्डर साइबर क्राइम’को अभियोगमा अनुसन्धान भइरहेको चिनियाँ सरकारी पक्षको भनाइ छ।
पक्राउ परेकाविरुद्ध मंगलबार काठमाडौं जिल्ला अदालतले ‘ ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
उनले नेपालसँग सहकार्य गरेर सीमा अपराधविरुद्ध लड्न र दुई मुलुकबीच मैत्रीपूर्ण आदानप्रदानलगायतका विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धिसम्बन्धी निरन्तर काम गरिरहने समेत बताए।
प्रहरी आयुक्तको कडा निर्देशन : संगठनभित्र गल्ती गरे माफी हुँदैन
महानगरीय प्रहरी कार्यालय अन्तर्गतका प्रहरीलाई कमीकमजोरी सच्चाउन आयुक्त प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले निर्देशन दिएका छन् ।
मंगलवार प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा मातहतका विभागीय प्रमुखलाई निर्देशन दिँदै उनले प्रहरी संगठनले जनताको अपेक्षा अनुसार सेवा दिन चुक्दा आलोचनाको पात्र बनेकाले आचरण सुधार्नुपर्ने बताए ।
निर्देशन दिँदै आयुक्त पोखरेलले प्रविधिको विकाससँगै अपराधका घटना पनि बढेकाले प्रहरीले अझ सशक्त रुपमा कर्तव्य पूरा गर्नुपर्ने बताए । १ जना प्रहरीले गरेको नराम्रो कामले ७९ हजार प्रहरीलाई दाग लाग्ने बताउँदै उनले गल्ती गरे कुुनै पनि हालतमा सह्य नहुने बताए ।
‘तपाईंहरूलाई हजारौं जनताले प्रत्यक्ष हेरिरहनुभएको छ, कमीकमजोरी मबाट हुने छैन, यदि तपाईंहरूको कमीकमजोरी देखेमा म कुनै हालतमा पनि क्षमा दिने छैन,’ पोखरेलले भने ।
कुनै प्रहरीले भ्रष्टाचार गरेको, आर्थिक लाभमा परेको कतैबाट पनि सूचना आएमा सुक्ष्म अनुसन्धान हुने र गल्ती भेटिएमा प्रहरी कर्मचारीसहित सम्बन्धित प्रहरी कमाण्डर पनि कारवाही पर्ने डीआईजी पोखरलेले बताए ।
आयुक्त पोखरलले कानून सबैभन्दा माथि हुने भएकाले कानूनको पालना गर्नु र गराउनु प्रहरीको कर्तव्य भएकाले जिम्मेवारीमा नचुक्न निर्देशन दिए । ‘म महानगरीय प्रहरीको प्रमुखको रुपमा हाजिर भएको दिनदेखि क्षमा भन्ने व्यक्तिगत रुपमा हटाएकाले व्यावसायिक कार्यबाहेक गलत कार्य कसैबाट भएको खण्डमा माफी र क्षमा हुँदैन,’ पोखरेलले मातहतका प्रमुखलाई निर्देशन दिँदै भने ।
उपेन्द्रले साथ छोड्दा ओली सरकारले गुमायो दुई तिहाइको हैसियत
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले सरकार छाडेसँगै वर्तमान सरकारले दुई तिहाइको सरकारको हैसियत गुमाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अब बहुमतको सरकारमा सीमित भएको छ, यद्यपि यसले सरकारलाई खासै ठूलो फरक भने पर्ने देखिँदैन । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग स्पष्ट बहुमत छ ।
नेकपासँग १ सय ७४ सांसद् छन् । यस्तै कांग्रेसका ६३, राजपा र समाजवादीका समान १७ तथा नेमकिपा, राप्रपा, राजमो र एक स्वतन्त्र गरी स्वतन्त्र हैसियतका ४ सांसद छन् ।
नेमकिपा, राप्रपा र राजमो तीनैले राष्ट्रिय दलको मान्यता पाएका छैनन् ।
यसमध्ये नेकपा, कांग्रेस र राजपाका १/१ सांसद क्रमश: कृष्णबहादुर महरा, आफ्ताब आलम र रेशम चौधरी जेलमा छन् भने समाजवादी पार्टीका हरिनारायण रौनियार निलम्बित अवस्थामा छन् ।
यसअघि प्रधानमन्त्रीका रूपमा विश्वासको मत लिँदा ओलीले ३ चौथाइ सांसदको समर्थन पाएका थिए । ओलीको पक्षमा २०८ र विपक्षमा ६० मत परेको थियो ।
त्यतिबेला ओलीलाई समर्थन गरेको राजपाले यसअघि समर्थन फिर्ता लिइसकेको छ ।
नेकपाकै बागी बनेर चुनाव जितेका छक्कबहादुर लामा र गठबन्धनकै राजमो उम्मेदवार दुर्गा पौडेलको मत जोड्दा पनि सरकारको पक्षमा १७६ मत मात्र पुग्छ ।
दुई तिहाइका लागि १८४ सांसदको समर्थन चाहिन्छ । अहिलेको अवस्थामा दुई तिहाका लागि कम्तिमा ८ सांसद अपुग भएको देखिएको छ ।
प्रतिनिधि सभा कुल २७५ सदस्यीय हो ।
उपेन्द्र यादवले दिए नैतिकताको आधारमा राजीनामा
उपप्रधान तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् ।
संविधान संशोधन प्रक्रिया अगाडि बढाउने गरी मन्त्रिपरिषद् बैठकमा आफूले राखेको प्रस्तावमाथि छलफल नभएपछि मन्त्री यादवले राजीनामा दिएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरेर लेखिएको राजीनामा पत्रमा आफ्नो प्रस्ताव अगाडि नबढेकाले नैतिकताको आधारमा राजीनामा दिएको उल्लेख छ ।
राजीनामा पत्रमा यादवले पार्टी सरकारमा सहभागी हुँदा भएको सहमतिलाई समेत स्मरण गराएका छन् । संविधान संशोधनमा सहमति भएर सरकारमा सहभागी भएको जनाउँदै यादवले सरकार सहमतिबाट पछाडि हटेको र एकतर्फी रुपमा सहमति तोडेकाले राजीनामा दिएको जनाएका छन् ।
यसअघि समाजवादी पार्टी नेपालको पदाधिकारी बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । उपेन्द्र यादवले पार्टी संसदीय दलको बैठकमा समेत सरकारबाट बाहिरिने विषयमा छलफल गरेका छन् ।
गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारामा मंगलवार बिहान नम्बर नखुलेको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
गाडीको ठक्करबाट प्रदेश नम्बर ३–०२–००९ प ७६२१ नम्बरको मोटरसाइकल चालक ४० वर्षीय अर्जुनबहादुर केसीको घटनास्थलमै ज्यान गएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।
मोटरसाइकलमा सवार श्रेष्ठका १४ वर्षीय छोरा अमिन भने सकुशल छन् ।
प्रहरीका अनुसार कलंकीतर्फ आइरहेको मोटरसाइकललाई सोही दिशातर्फ आइरहेको गाडीले ठक्कर दिएको प्रारम्भिक अनुसन्धानमा देखिएको जनाइएको छ । ठक्कर दिने गाडीको पहिचान नभएकाले खोजी जारी रहेको उनले बताए ।
संघीय संंसद् संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्य पदमा प्रस्तावित लक्ष्मीबहादुर ‘निराला’ खड्काको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
सुुनुवाइ प्रक्रियालाई अघि बढाउने सन्दर्भमा बैठकले सदस्य पदका लागि प्रस्तावित निरालाप्रति कुनै सिकायत भए १० दिनभित्र उजुरी दिन सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।
न्याय परिषद् सदस्यको संसदीय सुनुवाइ गर्ने संवैधानिक व्यवस्था छ ।
परिषद्का सदस्य पदम वैदिकले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्रीले निरालाको नाम प्रस्ताव गरी सुनुवाइका लागि समितिमा पठाएका हुन् । निराला मुलुकका पुराना र वरिष्ठ वकिल हुन् ।
यसअघि केही समय उनले महान्यायाधिवक्ताको जिम्मेवारी समेत सम्हालेका थिए । समितिले उजुरी प्राप्त भएपछि उजुरीकर्तासँग छलफल सकेपछि निरालासँग सुनुवाइ गर्नेछ । यी सबै प्रक्रिया करीब १५ दिनमा पूरा हुनेछ ।
द्रुतमार्ग निर्माणका लागि काटिए २८ हजार रूख
नेपाली सेनाको व्यवस्थापनमा बन्दै गरेको निजगढ–काठमाडौं द्रुतमार्ग निर्माणका क्रममा २७ हजार ६९ रूख काटिएका छन् ।
करीब ७७ किलोमिटर निजगढ–काठमाडौं द्रु्रतमार्ग निर्माणका क्रममा सो क्षेत्रमा पर्ने करीब ३८ हजार ६६४ रूखमध्ये २७ हजार ६९ रूख काटिएको दु्रतमार्ग आयोजना कार्यान्वयन माहाशाखाका प्रमुख तथा प्रमुख सेनानी विश्वबन्धु पहाडीले बताए ।
तत्काल काट्नैपर्ने भएकाले रूख काटिएको र बाँकी ११ हजार १ सय रूख सुरुङ निर्माणका क्रममा काटिने उनको भनाइ छ ।
सडक निर्माणको सिद्धान्तअनुसार पहाडी क्षेत्रमा ५० मिटर र तराई क्षेत्रमा १ सय मिटरसम्मका रूख काट्नुपर्ने भएकाले वन मन्त्रालयसँग अनुमति लिएर ती परिमाणको रुख काटिएको माहाशाखा प्रमुख पहाडीले बताए ।
दु्रतमार्ग निर्माणका क्रममा काटिएका रूखको व्यवस्थापनका लागि सम्बन्धित निकायको जिम्मा लगाइएको उनले जानकारी दिए । वन मन्त्रालय मातहत रहेका रूख जिल्ला वन कार्यालयमा र सामुदायिक वन मातहतमा रहेका तथा काटिएका रूख सामुदायिक वन सरोकारवाला निकायको रोहवरमा बुझाएको नेपाली सेनाले जनाएको छ ।
वातावरणीय मापदण्डअनुसार एउटा रूख काट्दा २५ रूख रोप्नुपर्ने भएका कारण नेपाली सेनाले निजगढ र राजदरबारमा करीब १ लाख ५० हजार बिरुवा उत्पादन गरिरहेको छ । सेनाले काटिएका रूखको ठाउँमा वृक्षरोपणको काम पनि शुरू गरिसकेको छ । सोअनुसार कोहल्वी नगरपालिकाका विभिन्न स्थानमा करीब ५ हजार बिरुवा रोपिसकेको जनाएको छ ।
बिरुवा उत्पादन गरिसकेपछि रोप्ने स्थानको छनोटको काम पनि निरन्तर भइरहेको सेनाले जनाएको छ ।
नेपालको एक इञ्च भूमि पनि अतिक्रमण गर्न दिदैनाै : गगन थापा
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्ने बताएका छन् ।
तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस नेपाल विद्यार्थी सङ्घ एकाइले आज आयोजना गरेको नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रममा नेता थापाले नेपालको एक इञ्च भूमि पनि अतिक्रमण गर्न नदिइने र भारतले अतिक्रमण गरेको जमिन फिर्ता ल्याएरै छाड्ने बताए। 'सीमाको विषयमा छलफल गर्न भारत तयार भएको छ', नेता थापाले भने, 'हाम्रो पुस्ता नेपाली भूमि रक्षाका लागि सङ्घर्ष गर्छ ।'
नेपाललाई सिङ्गापुर बनाउँछु भनेर नेताले भाषण गरे पनि एउटा व्यक्तिले चाहेर मात्र नेपाल समृद्ध बन्न नसक्ने थापाले ठोकुवा गरे। 'नायक महानायकले देश बनाउन सक्दैनन्, लोकतन्त्रको बाटोेबाट मात्र नेपाल समृद्ध बन्न सक्छ', थापाले भने।
कार्यक्रममा नेपाली काङ्ग्रेस तनहुँ सभापति वैकुण्ठ न्यौपानेले युवा अध्ययनशील बनेर नेतृत्व विकासतर्फ अगाडि बढ्नुपर्ने बताए। सङ्घका एकाइ सभापति सुदर्शन पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका जिल्ला अध्यक्ष चूडामणि खनाल, आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका अध्यक्ष ब्रह्मदत्त तिमिल्सिनालगायतले विद्यार्थीको हकहितको लागि नेपाल विद्यार्थी सङ्घ सधैं क्रियाशील रहने बताए।
प्रदेश सरकारले पुस १० गते दियो सार्वजनिक बिदा
पुस १० गते बिहीवार परेको भुवा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै बिदाबारे जानकारी दिएको छ ।
प्रदेश सरकारले साउन ८ गते गरेको निर्णय अनुसार भुँवा पर्वमा बिदा दिइएको मन्त्रालयले जनाएको छ ।