
चीनको एक अस्पतालमा एक रोगीलाई सर्जनहरूले खतना गराउने क्रममै ५८ हजार युआन तिराएको प्रहरीले जनाएको छ । ती रोगीलाई शल्यक्रिया गर्ने खाटमा पल्टिँदा नै पैसा तिर्न बाध्य बनाइएको थियो ।
शल्यक्रिया कक्षमै ती व्यक्तिलाई क्रेडिट कार्ड घोट्न लगाइएको बताइएको छ । उनलाई अरू रोग पनि लागेको र तत्कालै उपचार गर्नुपर्ने थाहा पाएर चिकित्सकहरूले पैसा तिर्न लगाएको बताइएको छ ।
लिउ नाम गरेका ती व्यक्तिलाई चिकित्सकहरूले नियमित प्रक्रियाभन्दा ३२ गुणा बढी रकम तिर्न लगाएका थिए । पैसा तिरेपछि मात्र उनको घाउ सिउने भनी चिकित्सकहरूले उनलाई भनेको प्रहरी अनुसन्धानलाई उद्धृत गर्दै सदर्न मेट्रोपोलिस डेलीले लेखेको छ ।
यो घटना चीनको गान्सु प्रान्तमा रहेको यिनचुआन शहरमा रहेको ओयुया मेन्स हेल्थ हस्पिटलमा भएको हो ।
यो निजी अस्पतालमा आपराधिक समूहले लगानी गरेको पाइएको छ । अनेकौं रोगीहरूले स्थानीय उपभोक्ता समूहलाई त्यसका बारेमा गुनासो गरेका थिए । शल्यक्रिया चल्दै गर्दा उनीहरूलाई पैसा तिर्न बाध्य बनाइएको गुनासो उनीहरूले गरे ।
त्यस समूहलाई सुरक्षा दिने एक स्वास्थ्य अधिकारीलाई बर्खास्त गरेर दण्डित गरिएको एक सरकारी विज्ञप्तिमा जनाइएको छ ।
एजेन्सी