१० असार २०८३, बुधबार

टर्कीको जनमत संग्रह : स्थिरताको प्रयास कि निरंकुशतातर्फको यात्रा ?

कात्तिक २०, २०७४
टर्कीको जनमत संग्रह : स्थिरताको प्रयास कि निरंकुशतातर्फको यात्रा ?

टर्कीमा आगामी वैशाख ३ गते एउटा जनमत संग्रह हुन गइरहेको छ । संसदीय लोकतान्त्रिक व्यवस्था रहिरहेकोमा जनमत संग्रहले टर्कीको संविधान संशोधन गरेर राष्ट्रपतीय प्रणालीमा लाने उद्देश्य लिएको छ । जनमत संग्रहमा १८ वटा संशोधन प्रस्ताव गरिएका छन् । यी संशोधनहरू पारित गर्नका लागि संसद्को दुई तिहाइ बहुमत नपुगेपछि जनतासमक्ष लगिएको हो ।


यो जनमत संग्रह सन् १९२३ मा टर्की गणतन्त्रको घोषणा भएपछिको पहिलो महत्त्वपूर्ण राजनीतिक विकास हो । टर्कीका राष्ट्रपति रेचेप तैय्यीप अर्दोगान जसरी भएपनि जनमत संग्रहमा विजयी हुन चाहन्छन् ।

अहिलेको व्यवस्था अनुसार प्रधानमन्त्रीको पद सबभन्दा शक्तिशाली छ र राष्ट्रपति चाहिँ सेरेमोनियल मात्र हुन् । तर अर्दोगानले आफ्नो व्यक्तित्वको प्रभाव देखाएर राष्ट्रपति नै कार्यकारी भएको आभास दिएका छन् । प्रधानमन्त्री बिनाली यिल्दिरिमको खासै शक्तिशाली भूमिका देखिँदैन ।

अर्दोगान जस्टिस एन्ड डिभेलोपमेन्ट पार्टी (एकेपी)का सहसंस्थापक हुन् । यो पार्टीले संसदमा प्रचण्ड बहुमत हासिल गरेको छ । जनमत संग्रह अर्दोगानको पक्षमा गयो भने उनले राष्ट्रपतिको पदलाई सशक्त बनाउनेछन् र प्रधानमन्त्रीको पद नै खारेज हुनेछ ।

त्यसपछि राष्ट्रपतिले नै मन्त्रिपरिषद् नियुक्त गर्नेछन् र उनलाई सघाउन धेरै उपराष्ट्रपतिहरू हुनेछन् । संसद्ले मन्त्रीहरूको अनुगमन गर्नेछैन किनकि अविश्वासको प्रस्ताव ल्याउने उनीहरूको अधिकार कटौती हुनेछ ।
अनि राष्ट्रपतिले राजनीतिक रूपमा तटस्थ पनि भइरहनु पर्दैन र आफ्नो पार्टीप्रति बफादारी बनाइरहन सक्छन् ।


संसद् सदस्यको संख्या ५५० बाट बढाएर ६०० पु–याइनेछ र उनीहरूको न्यूनतम उमेर १८ निर्धारण गरिनेछ । राष्ट्रपतिलाई संसद्ले महाभियोग लगाउन पाउनेछ । अहिले चाहिँ उनले देशद्रोह गरे भने मात्रै संसद्ले उनलाई अभियोजन गर्न सक्छ ।

यसका अलावा सैनिक अदालतहरू खारेज गरिनेछन् र राष्ट्रपतिले देशको सर्वोच्च न्यायिक बोर्डमा रहेका १३ मध्ये चार न्यायाधीश नियुक्त गर्न सक्नेछन् ।

यी सब परिवर्तनले राष्ट्रपतिलाई अत्यन्तै शक्तिशाली बनाउनेछन् । अर्दोगान यसरी नै सशक्त भएर अबको १२ वर्षसम्म टर्कीको सर्वोच्च पदमा आसीन हुने अभिलाषा राखेर बसेका छन् ।

अर्दोगान टर्कीका लोकप्रिय नेता हुन् । गत वर्ष सैनिकहरूले कू गरेर उनलाई हटाउन खोजेका भएपनि जनताले अर्दोगानलाई साथ दिएकाले कू असफल भयो । त्यतिखेर भड्केको हिंसामा २४८ जनाको मृत्यु भएको थियो भने करीब १४ सयजना घाइते भएका थिए ।

कू गराउनमा फेतुल्लाह ग्युलेन नामक एक धर्मगुरुको हात रहेको टर्केलीहरू विश्वास गर्छन् । ग्युलेन अमेरिकामा लुकेर बसेका छन् र उनको सेमात वा हिज्मत अभियान संसारभरि फैलिएको छ । ग्युलेन भने कूमा आफ्नो कुनै हात नरहेको बताउँछन् ।


कू असफल भएपछि अर्दोगानले ग्युलेनसँग आबद्ध रहेका भनिएका दशौं हजार मानिसलाई पक्राउ गरेर जेलमा कोचेका छन् । सरकारी सेवा, सेना, न्यायपालिका, प्राज्ञिक क्षेत्र र मिडियामा रहेका मानिसलाई छानीछानी सजाय दिइएको छ । अहिले त विपक्षी दलका जोकोहीलाई पनि लक्ष्य बनाउने गरिएको छ ।

यसैबीचमा आतंकवादी संगठन इस्लामिक स्टेटले टर्कीमा विभिन्न आक्रमण गरेर त्रास फैलाएको छ । पछिल्लो घटनामा अंग्रेजी नयाँ वर्षको पार्टी चलिरहेको रेइना नाइटक्लबमा भएको आक्रमणमा ३९ जनाको मृत्यु भएको थियो ।

त्यसबाहेक आतंकवादी घोषित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके)ले टर्कीविरुद्ध दक्षिणपूर्वी इलाकामा हिंसक विद्रोह गरिरहेको छ । सन् २०१५ मा शान्तिवार्ता भंग भएपछि हिंसा जारी नै छ ।

यससँगै टर्कीको छिमेकी मुलुक सिरियामा चर्केको द्वन्द्वका कारण लाखौं शरणार्थीहरू टर्कीमा आएर बसेका छन् । शिया मूलका सिरियाली राष्ट्रपति बशर अल–असदलाई सुन्नी मूलका अर्दोगानले मन नपराउने भएकाले हटाउन चाहेका छन् र शरणार्थीहरूलाई बस्न दिएर असदविरुद्ध नैतिक विजयको घोषणा गरेका छन् ।


जनमत संग्रहबाट आउने परिवर्तनका समर्थकहरू राष्ट्रपति बलियो हुने र उसैले शक्तिशाली टर्की हाँक्ने मान्यता राख्छन् । राष्ट्रपतिले आर्थिक विकास प्रवर्द्धन गर्ने र आतंकवादलाई परास्त गर्ने उनीहरूको विश्वास छ । सन् १९९०को दशकमा गठबन्धन सरकारहरूका कारण टर्कीमा आर्थिक मन्दी आएको जनताले भुलेका छैनन् ।

फ्रान्स, अमेरिका वा मेक्सिकोको जस्तो शक्तिशाली कार्यकारी हुँदा आतंकवादको जोखिमको सामना गर्न सकिने अर्दोगान समर्थकहरूको दाबी छ । कूको प्रयास, कुर्दिशबहुल इलाकामा हिंसा वृद्धि र आईएस आतंकवादीहरूको लगातार आक्रमणलाई सामना गर्न तथा टर्कीलाई स्थिर बनाउन सत्तारूढ एकेपीकै शासन चलिरहनुपर्ने उनीहरू बताउँछन् ।

समर्थकहरूका अनुसार सैनिक शासनअन्तर्गत तयार भएको पुरानो संविधानमा परिवर्तन आउनु जरूरी छ । प्रधानमन्त्री र राष्ट्रपतिको दुईथरी कार्यकारी व्यवस्थाले सरकारको निर्णयक्षमतालाई कमजोर बनाउने उनीहरूको तर्क छ । प्रस्तावित व्यवस्थामा अनुगमन र सन्तुलनको प्रशस्त व्यवस्था भएको अनि एक व्यक्तिले पूरै शासनसत्ता हातमा लिने सुविधा नरहेको उनीहरू बताउँछन् । राष्ट्रपतिमाथि महाभियोग लगाउन सकिने र समयअगावै राष्ट्रपतिको चुनाव गर्न सकिने व्यवस्था रहेको उनीहरूको दाबी छ ।

अर्दोगानका समर्थकहरूले उनलाई जनतामा भिजेको नेता र पश्चिमविरुद्ध उभिने क्षमता भएका व्यक्तिका रूपमा लिन्छन् । हुन पनि अर्दोगानका मन्त्रीहरूले जर्मनी तथा नेदरल्यान्ड्समा रहेका टर्किश मतदाताहरूको भेलालाई सम्बोधन गर्न नपाएपछि ती दुई देशलाई थर्काएका थिए र जर्मनी त प्रतिरक्षात्मक अवस्थामा पुग्यो । उनले गरीब तथा असहायलाई सशक्त बनाउँछन् र इस्लामको मूल्यमान्यतामा आस्था राख्छन् भन्ने समर्थकको मान्यता छ ।


उता विपक्षी दलहरू भने जनमत संग्रहमा राखिएका प्रावधानको विरोध गरिरहेका छन् । रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) र एचडीपीले राष्ट्रपतीय व्यवस्था ल्याएमा अर्दोगानको एकल शासन चल्ने दाबी गरेका छन् । अर्दोगान पछिल्ला केही वर्षदेखि अत्यन्तै निरंकुश हुँदै गएको र कूपछि उनले सबै किसिमका विरोधीहरूको चरम दमन गरेको उनीहरू बताउँछन् । आफूमाथि हुने व्यक्तिगत आक्रमणप्रति अत्यन्त संवेदनशीलता देखाउने अर्दोगानले आलोचनाप्रति असहिष्णुता देखाउने गरेको उनीहरूको दाबी छ ।

संविधान संशोधन भएमा राष्ट्रपतिले विरोधीहरूलाई पक्राउ गरेर दमन गर्ने अनि विपक्षी दललाई उठ्नै नदिने उनीहरूको डर छ । यसका अलावा जनमत संग्रह नै डरको वातावरणमा भइरहेको र विपक्षीहरूलाई बोल्नै नदिइएको उनीहरूको भनाइ छ ।

प्रस्तावित प्रणालीमा अनुगमन र सन्तुलनको सुविधा रहेको दाबीलाई पनि विपक्षीहरूले खारेज गरेका छन् । यो व्यवस्थाले राष्ट्रपतिको शक्तिलाई नियन्त्रण नगर्ने, संसद्लाई राष्ट्रपति तथा कार्यपालिकामाथि निरीक्षणको अधिकार नदिने, राष्ट्रपतिले धेरै न्यायाधीश नियुक्त गर्ने शक्ति पाएको र आफ्नो पार्टीको सदस्य रहिरहेर राजनीतिका सबै पक्षमा अर्दोगानले नियन्त्रण जमाइरहने विपक्षीहरूको तर्क छ ।

चुनाव कसले जित्छ भन्ने सुनिश्चित छैन किनकि मतदाताहरू पूरै विभाजित देखिन्छन् ।


युरोपेली संघको सदस्य बन्नका लागि वर्षौंदेखि प्रयास गरिरहेपनि सफलता हासिल नगरेको टर्कीले अर्दोगान बलियो भएपछि संघलाई बेवास्ता गर्न सक्ने सम्भावना छ । युरोपेली संघको साटो टर्कीले युरेसियाका प्रभावशाली मुलुक इरान, रुस र चीनसँग साझेदारी गर्नसक्छ । रुस र चीनसँग उसको अहिले नै राम्रो सम्बन्ध छ भने इरानसँगको सम्बन्ध पनि सुधार हुन सक्छ ।

नेटो मुलुक भएको नाताले अनि द्वन्द्वग्रस्त मध्यपूर्वको संवेदनशील भूक्षेत्रमा रहेका कारण टर्कीलाई अमेरिकाले साथ लिनैपर्ने हुन्छ । यस्तोमा अर्दोगान शक्तिशाली राष्ट्रपति बने भने देशको भूराजनीतिक स्थिरता कायम हुनसक्ने देखिन्छ । तर उनले शक्तिको मातमा चरम निरंकुश बन्दै दमनको बाटोमा लागेर विद्रोहको वातावरण बनाउन सक्ने जोखिम पनि उत्तिकै छ ।

'द गार्डियन'मा करीम शाहीनले चैत २८ गते प्रकाशित गरेको लेख ‘टर्किश रेफरेन्डम : अल यु नीड टु नो’ मा आधारित

salt training

कमेन्ट गर्नुहोस्