३२ असार २०८३, बिहीबार

सुदूरपश्चिममा 'नेपाल भ्रमण वर्ष २०२०' को भव्य उद्घाटनको तयारी

पुस १२, २०७६
सुदूरपश्चिममा 'नेपाल भ्रमण वर्ष २०२०' को भव्य उद्घाटनको तयारी

सुदूरपश्चिम प्रदेश सरकारले नेपाल भ्रमण वर्ष २०२० को भव्यताका साथ उद्घाटनको तयारीमा जुटेको छ ।

प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टको संयोजकत्वमा रहेको प्रदेशस्तरीय प्रबद्र्धन समितिले भ्रमण वर्ष उद्घाटनको तयारीमा जुटेको हो ।

भ्रमण वर्ष जनवरी १ (पुस १६) आउन ३ दिन बाँकी छ । प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट संरक्षक रहेको प्रवर्द्धन समितिको पुस ८ गतेको बैठकले तयारीका लागि विभिन्न उपसमितिहरू गठन गर्दै उद्घाटनमा केन्द्रीत भएको छ । उद्घाटनको लागि विभिन्न कार्ययोजना बनाएको सो समितिले भ्रमण वर्षको लोगो, भव्य रूपमा उद्घाटन गर्नका लागि सांस्कृतिक झाँकी तथा र्‍याली गर्ने, मञ्च तथा गेट बनाउने, मञ्चमा भाषण तथा सांस्कृतिक प्रस्तुति गर्ने कार्ययोजना बनाएको भ्रमण वर्षका फोकल पर्सन भोजराज पाठकले जानकारी दिए ।

फोकल पर्सन पाठकका अनुसार धनगढीको ट्राफिक चौराहादेखि शहिदगेट तथा क्याम्पस रोड लगायतका स्थानबाट शोभा र्‍याली निकाल्ने र संघीय प्रहरी इकाईको मैदानमा कार्यक्रम कार्यक्रम आयोजना गरिने भएको छ ।

एक निकाय एक अभियान सञ्चालन गर्न सबै सरकारी, गैरसरकारी, नीजि क्षेत्र लगायतका सरोकारवालाहरूलाई आह्वान गरिएको छ । प्रदेशभित्रका सम्पूर्ण सरकारी कार्यालयहरूलाई अनिवार्य रूपमा गेटमा कलश राख्न अनुरोध गरेको जनाइएको छ ।

यसैबीच प्रचारप्रसारमा जोड दिइएको छ । प्रदेशमा पर्यटकलाई आकर्षण गर्न नेपाल भ्रमण वर्ष २०२० प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समितिको फेसबुक पेज सञ्चालन गरेको छ । पर्यटन गतिविधिहरूको सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्न, पर्यटन सम्बन्धी जानकारीमूलक सूचना, गतिविधि तथा तस्वीरहरू पोष्ट गर्न प्रचारप्रसार उपसमितिका संयोजकको जिम्मेवारीमा फेसबुक पेज सञ्चालन गरिएको छ । 

त्यस्तै सुदूरपश्चिमका ५ स्थानमा स्वागतद्वार निर्माण गरिने भएको छ । कञ्चनपुरको गड्डाचौकी नाका, धनगढीको भन्सार नाका, चिसापानी, झुलाघाट बैतडी र धनगढी विमानस्थलमा स्वागतद्वार निर्माण गरिँदै छ ।  

सुदूरपश्चिम प्रदेशको पर्यटकीय गन्तव्यहरू झल्कने गरी तस्वीरहरू प्रयोग गर्दै आवश्यकता अनुसार होर्डिङ बोर्ड निर्माण गर्ने, प्रदेशका सबै जिल्लाहरूको प्रतिनिधित्व हुने गरी पर्यटकीय गन्तव्यहरूको फोटो, यस प्रदेशको कला संस्कृति झल्काउने तस्वीर, यस प्रदेशका पुरातात्विक सम्पदाहरू झल्कने तस्वीरहरू समावेश हुने गरी प्रचारप्रसार उपसमितिले तस्वीरहरू संकलन गरि फोटोमा क्रेडिड उल्लेख गराई स्टिकर, पोस्टर, ब्याच, होर्डङ बोर्ड निर्माण गर्ने समितिले निर्णय गरेको छ । साथै समितिले पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्नका लागि प्रोमोसनल भिडियो र गीत बनाउने र सो मार्फत् पर्यटकलाई आह्वान गर्ने समेत निर्णय गरेको छ ।

उद्घाटनको लागि भव्य तयारी गरिए पनि भ्रमण वर्ष मनाउने वार्षिक कार्ययोजना भने बनाउन सकिएको छैन । हालसम्म पर्यटन प्रवर्द्धन तथा विकासको लागि वर्षभरी के–के गर्ने भन्ने योजना बनाउन नसकिएको हो । प्रदेश सरकारको सो मन्त्रालय तथा समितिले अझैसम्म ठोस रूपमा भ्रमण वर्षका लागि पर्यटन गन्तव्य पहिचान, गन्तव्यमा पुर्वाधार निर्माण, गन्तव्यको प्रचार प्रसार लगायतका योजनाहरू बनाउन सकेको छैन । तर भ्रमण वर्षका फोकल पर्सन पाठकले भ्रमण वर्षमा सुदूरपश्चिम प्रदेशका पर्यटकीय गन्तव्य कुन–कुन स्थान रहने भन्ने निर्णय नभएपनि १ निर्वाचन क्षेत्र १ पर्यटन गन्तव्य बनाउने लक्ष्य रहेकोे दाबी गरे । ७ बहिनी भगवती, ५ शिव धाम, शुक्लाफाँटा, घोडाघोडी, खप्तडसहित यहाँको प्रत्येक गाउँ, सहर, परम्परागत कला, संस्कृति, भेषभुषा पर्यटन गन्तव्यको आधार भएको उनको भनाइ छ ।

त्यस्तै मन्त्रालयले तराईका मानिसलाई पहाड घुमाउने कार्ययोजना बनाएको छ । तर कति जनालाई कुन–कुन स्थानमा घुमाउन लगिनेबारे कार्ययोजना बनाउन सकेको छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्