
धनगढी, ५ पुस – धनगढी—डडेलधुरा राजमार्गअन्तर्गत कैलालीको गोदावरीस्थित भ्यागुते सडकखण्डको छेउछाउमा आज ठूलो सङ्ख्यामा गाईगोरु मरेको अवस्थामा फेला परेका छन् ।
चुरे पहाडसंग जोडिएको यो सडक खण्डको छेउछाउ र भीरमा यत्रतत्र छरिएर मरेको अवस्थामा फेला परेका यी चौपाया कसले किन मारेर फालेको हो भन्नेमा एकिन हुन नसकेको कैलालीका प्रहरी उपरीक्षक अर्जुनचन्द ठकूरीले बताए ।
उनका अनुसार, उक्त क्षेत्रमा १३ वटा गोरु र ११ वटा गाई गरी कुल २४ वटा गाईगोरु मरेको अवस्थामा फेला परेका छन् भने १४ वटा गाई मरणासन्न अवस्थामा भेटिएका छन् ।
मरेका गाई गोरुको मुखबाट फिज निस्केको हुँदा यसबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ठकुरीले बताए । उनले उक्त क्षेत्रको जङ्गलमा सय वटा गाई वेवारिसे अवस्थामा फेला परेको जानकारी दिए ।