
डीएभी सुशील केडिया विश्व भारती उच्च माध्यमिक विद्यालयको दोस्रो दीक्षान्त समारोह शनिवार सम्पन्न भएको छ ।
कलेजबाट बीबीए र बीबीएस अध्ययन सकेका विद्यार्थीलाई दीक्षित गर्दै कलेजले उत्कृष्ट भएका विद्यार्थीलाई सम्मान समेत गरेको छ ।
कलेजका अध्यक्ष अनिल केडियाको सभापतित्वमा भएको समारोहमा स्याकार कम्पनीका अध्यक्ष एवं ज्योती ग्रूपका प्रमुख सौरभ ज्योतीले अध्ययनकालका आफ्ना अनुभव सुनाउँदै विद्यार्थीलाई उत्प्रेरणा दिने मन्तव्य राखेका थिए ।
उनले नेपालको भविष्य विद्यार्थी र युवाको काँधमा भएको बताउँदै देशमा धेरै कुराको सम्भावना रहेको धारणा राखे । डीएभी कलेजबाट पढेर दक्ष हुन पाउनु भाग्यको कुरा भएको बताउँदै सौरभ ज्योतीले पढाइ मात्र सबैभन्दा महत्त्वपूर्ण नभएर सीप र व्यावहारिक ज्ञान पनि एकदम महत्त्वपूर्ण भएको बताए ।
आफूले भारतको बैंगलुरुमा अध्ययन गरेको घटना सुनाउँदै अध्ययनकालको समयमा आफूले महसूस गरेका कुरा विद्यार्थीले बुझ्ने गरेर कथामार्फत प्रस्तुत गरेका थिए । द्वन्दकालको बीचमा नेपालमा केही गर्ने सोचका साथ देश फर्किएको बताउँदै उनले देशमा हरेक क्षेत्रमा सम्भावना भएको र त्यति नै चुनौती समेत भएकाले देशमै केही गर्न विद्यार्थीलाई सुझाव दिए ।
कलेजका अध्यक्ष केडिया र ज्योती ग्रूपका मालिक सौरभ ज्योतीले पानसमा दियो बालेर उद्घाटन भएको समारोहमा डीएभी कलेजका कार्यक्रम संयोजक रोजिस शाक्यको स्वागत गरेका थिए भने कार्यक्रममा कलेजका प्रोफेसर डा. मनोजकुमार चौधरी र ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण्लाल महर्जनले शुभकामना मन्तव्य राखेका थिए । कलेजका बीबीएतर्फका ६४ र बीबीएस तर्फका ३९ जना गरी १०३ जना विद्यार्थी दीक्षित भएका थिए ।
समारोहकै क्रममा कलेज टपर हुन सफल बीबीए तर्फकी विद्यार्थी प्रिया सुनुवारलाई गोल्ड मेडल र बीबीएस तर्फकी विद्यार्थी कल्यानी कुँवरलाई शैक्षिक उत्कृष्टता अवार्डले सम्मान गरिएको थियो । उनीहरू दुवै जनाले आ–आफ्नो अनुभव आफ्ना साथीहरू लगायत अभिभावकलाई सुनाउँदै मन्तव्य राखेका थिए । समारोहबीच दीक्षित विद्यार्थी र अतिथिलाई मायाको चिनोसहित सम्मान गरिएको थियो ।