०७ असार २०८३, आइतबार

अतिक्रमित क्षेत्र राज्यको मातहतमा ल्याउन सरकारलाई निर्देशन

पुस १५, २०७६
अतिक्रमित क्षेत्र राज्यको मातहतमा ल्याउन सरकारलाई निर्देशन

संघीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङकन समितिले लिपुलेक, कालापानी र लिम्पियाधुरालगायतका अतिक्रमणमा परेका क्षेत्रमा नेपालको नियन्त्रण सुदृढ तुल्याई आफ्नो मातहतमा ल्याउन सरकारलाई निर्देश गरेको छ ।

भारतले राजनीतिक नक्शामा नेपालको कालापानी क्षेत्र समावेश गरेकामा त्यसलाई हटाउन भइरहेको कूटनीतिक र राजनीतिक प्रयासका सम्बन्धमा हालसम्म भएको प्रगतिबारे गृह, परराष्ट्र, वन तथा वातावरण  र भूमि व्यवस्थापन तथा सहकारी मन्त्रीसगँ जानकारी लिएपछि समितिको बैठकले यस्तो निर्देशन दिएको हो।

 समितिले नेपालका अतिक्रमित भू–भागलाई मुक्त गरी ती स्थानलाई समावेश गरेर तत्काल नयाँ नक्शा जारी गर्ने र त्यसलाई सरकारी कामकाज एवं शिक्षणसंस्थालगायत सबै काममा उपयोग गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । बैठकले अतिक्रमित क्षेत्रमा भएका विदेशी सुरक्षा पोष्ट हटाउनेलगायतका काम गर्न राष्ट्रियहित अनुकूल नेपाल सरकारले राजनीतिक र कुटनीतिक माध्यमबाट प्रभावकारी वार्ता गर्न सुझाव दिएको छ।

नेपालको सीमा क्षेत्र विशेष गरी अतिक्रमण परेको  स्थानमा आवश्यकता अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सबै मौसममा रहनसक्ने गरी सुविधायुक्त प्रहरीचौकी निर्माण गरी तैनाथ गर्न र त्यसका लागि आवश्यक बजेट र जग्गाको व्यवस्था गर्न पनि समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।
 सीमा नियमन र सुरक्षाका लागि योजनाबद्ध ढङ्गबाट निरन्तर काम गर्न आवश्यक प्रबन्ध मिलाउन पनि समितिले सरकारलाई भनेको छ । नेपाल–भारतबीचको समग्र सीमा क्षेत्रमा रहेका सीमा स्तम्भको मर्मत, हराएकाको खोजी, दशगजा खाली गर्ने लगायतका विषयमा यथार्थ अभिलेख तयार गरी नेपालको भौगोलिक अखण्डतालाई सुदृढ गर्न पनि सरकारलाई सुझाव दिइएको छ ।
     
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा अतिक्रमणमा परेका नेपालीलाई शिक्षा, स्वास्थ्य, मालपोत, सुरक्षाजस्ता तत्कालै आवश्यक सेवा सुविधा उपलब्ध गराउन तथा त्यस क्षेत्रमा नेपालको भूमिबाट आवतजावत् गर्नसक्ने गरी बाटो र यातायातका लागि सडक विस्तार गर्न ध्यान पु-याउन पनि सरकारलाई भनेको छ ।

यसअघि बैठकमा गृहमन्त्री रामबहादुर थापाले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था प्रभावकारी तुल्याउने सिलसिलामा  उत्तरतर्फ सात र दक्षिणतर्फ १०५ सुरक्षाचौकी स्थापना गर्न र लिम्पियाधुरा क्षेत्रमा बाटा बनाउन बजेट विनियोजनसहितका कार्यअघि बढिरहेको जानकारी दिए

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमालगायत धेरै समस्या सम्बोधन गर्न र नेपाल भारतबीच असल सम्बन्ध विस्तारका लागि प्रबुद्ध समूहले कार्यन्वयन गर्न आवश्यक रहेको बताए। उनले भन्नुभयो– नेपाल–भारत सीमा समस्यालाई स्वीकार गर्दै कुटनीतिक ढङ्गबाट यसलाई सुल्झाउन तयार छौं, कुटनीतिक माध्यमबाट मिति तयार गर्नुपर्छ भनेर भारतले  पत्र पठाएको छ । भारतसँगको तुलनामा हिमाल क्षेत्र नै सीमा रहेर बसेका हुनाले उत्तरतर्फ ठूलो सीमा समस्या छैन । पत्रका आधारमा समस्या समाधान गर्न वार्तामा बस्न भारत तयार भएको हामीले सकारात्मक रुपमा लिएका छौं ।
 
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय सुरक्षालाई प्राथमिकतामा राखेर कालापानी, कञ्चनपुर र कञ्चनजङ्गा क्षेत्रमा सुरक्षाचौकी राख्न मन्त्रालयले स्वीकृत प्रदान गरिसकेको जानकारी दिए। भूमि व्यवस्थापन तथा सहकारीमन्त्री पद्माकुमारी अर्यालले  परराष्ट्रमन्त्रालयको योजनालाई सहयोग गर्ने र सीमा स्तम्भको नियमित निरीक्षण गर्ने काम भइरहेको बताइन्।

बैठकमा सदस्यहरुले अतिक्रमित नेपाली भू–भाग समेटेर यथाशक्य छिटो नेपालको नक्शा सार्वजनिक गरी कार्यान्वयन गर्ने काममा ढिलाइ नगर्न सुझाव दिए। यसअघि उक्त विषयमा अन्तर्राष्ट्रिय सम्बन्ध समिति, राज्य व्यवस्था तथा सुशसान समितिले पनि सरकारलाई निर्देशन दिइएकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्