अफगानिस्तानको राजधानी काबुलमा प्रदूषण स्तरमा वृद्धि हुँदा विगत एक सातामा सास संक्रमण र अन्य स्वास्थ्य समस्याका कारण कम्तीमा १७ जनाको मृत्यु भएको छ ।
सार्वजनिक स्वास्थ्य मन्त्रालयले यसको जानकारी दिएको हो । टोलो न्युजका अनुसार, मन्त्रालयले सोमवार प्रदूषणविरोधी अभियान आरम्भ गर्दै रुघाखोकी र फोक्सोको समस्या सहित श्वास संक्रमणका कारण अघिल्लो साता लगभग ८ हजार ८ सय रोगीहरूले काबुलस्थित सरकारी अस्पतालमा उपचार गराएको बताए ।
अन्तर्राष्ट्रिय निगरानी संगठन एयर भिजुअलका अनुसार, काबुलमा विगत एक महिनामा वायु प्रदूषणको स्तर खतरनाक बनेको छ ।
सरकारी भवन, निजी घर र व्यावसायिक प्रतिष्ठानहरूमा कोइला सहित निम्न गुणस्तरीय इन्धन प्रयोग गरिएकाले यो स्थिति उत्पन्न भएको अधिकारीहरूको भनाइ छ ।
मन्त्रालयले शहरका १६ व्यस्त इलाकामा मानिसहरूलाई मास्क बाँडिने जनाएको छ ।
एजेन्सी