
चीनका एक विमानयात्रुले विमानको इन्जिनमा दुईवटा सिक्का फोलेपछि उनीमाथि लगभग २० लाख रुपैयाँको जरिवाना लगाइएको छ । उनले सिक्का फालेपछि उडान रद्द गर्नुपरेको थियो अनि १६० जना यात्रुहरू रातभरि विमानस्थलमै अड्किएका थिए ।
लु चाओ नामक २८ वर्षीय पुरुष पहिलोपटक हवाईयात्रा गरिरहेका थिए । पत्नी र छोराका साथ यात्रा गरिरहेका उनले पूर्वी चीनमा उड्न लागेको विमानमा सिक्का फालेको एक क्षेत्रीय अदालतले जनायो ।
उनको बेवकुफीपूर्ण कामका कारण डोमेस्टिक फ्लाइटमा रहेका सबै यात्रुहरू विमानस्थलमै अड्किएका थिए । विमान उड्न नसकेपछि एयरलाइनले यात्रुहरूलाई होटलमा राख्न परेको थियो र अर्को फ्लाइटमा राखेर पठाउनुपरेको अदालतले जनायो ।
लुलाई आनकिङ पब्लिक सेक्युरिटी ब्यूरोले १० दिनसम्म हिरासतमा राख्यो र एयरलाइनले गत मे महिनामा मुद्दा हालेको थियो ।
चीनको आन्हुई प्रान्तमा गत जुलाई महिनामा एक क्षेत्रीय अदालतले उक्त मुद्दामा फैसला दिएको थियो । फैसलालाई हालै चाइना जजमेन्ट्स अन्लाइनमा प्रकाशित गरिएको छ ।
अदालती दस्तावेजका अनुसार, लु लकी एयरमार्फत आनकिङबाट कुनमिङको तीन घन्टा लामो फ्लाइटमा जाँदै थिए । गत वर्षको फेब्रुअरी महिनामा उनले उक्त हर्कत गरेका थिए ।
आनकिङको तियानझुशान विमानस्थलमा कर्मचारीहरूले एक युआनका सिक्काहरू भेटेपछि फ्लाइट नम्बर ८एल९९६० को विमान उड्न पाएको थिएन ।
एउटा सिक्का विमानको ठीकमुनि थियो भने अर्को चाहिँ विमानको देब्रे इन्जिनभन्दा एक मिटर पर थियो ।
एजेन्सी