
अमेरिकी एमसीसीबारे चीनले भन्यो – नेपालमा आउने बाह्य सहयोगलाई स्वागत छ !
चीनले आतिथेय देशको ऐन कानूनविपरीत गतिविधि गर्ने आफ्नो राष्ट्रका नागरिकको प्रतिरक्षा नगर्ने स्पष्ट गर्दै अपराध गर्नेहरूलाई कानूनको दायरामा ल्याउन सघाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
उसले चीनको राष्ट्रिय स्वार्थ र सुरक्षामा नेपालबाट सुरक्षा जोखिम नरहेको बताउँदै चीनको समृद्धि तथा चीन–नेपालबीचको सुमधुर सम्बन्धलाई नरुचाउने केही तत्वबाट जोखिम भने रहेको जनाएको छ । यस्ता अवाञ्छित तत्वबाट सचेत रहनुपर्ने आवश्यकता पनि बेइजिङले औंल्याएको छ ।
पारस्परिक विश्वास र सहयोगमा आधारित चीन–नेपाल सम्बन्धलाई झिनामसिना मुद्दाले खासै प्रभाव नपार्ने तर युगौँदेखिको द्विदेशीय मैत्रीमा ठेस पुर्याउन प्रयास गर्नेहरूविरुद्ध सजग हुनैपर्ने साझा दायित्वलाई बिर्सन नहुने अभिमत सार्वजनिकरूपमा नै उसले प्रकट गरेको छ ।
नेपाल सरकार र नेपाली जनताको ‘एक चीन नीति’प्रतिको प्रतिबद्धताको सराहना गर्दैै बेइजिङले हङकङ र सिनजियाङ मामिलामा हुने बाह्य हस्तक्षेपको पनि विरोध गर्दैै उसप्रति ऐक्यबद्धता जनाउने अपेक्षा गरेको छ । चीन र नेपाल विकासोन्मुख राष्ट्र भएकाले साझा हित र चासोका विषयमा नेपालको सक्रिय साथ र सहयोगको आशा पनि चीनले गरेको छ ।
नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले शुक्रवार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरेर केही पश्चिमा मुलुकले चीनको समृद्धि देख्न नचाहेको तथा उनीहरूले हङकङ र सिनजियाङको विषय उछालेर चीनमाथि निरन्तर आक्रमण गरिरहेको आरोप लगाइन् । चीन सरकारले आफ्नो संविधानअनुसार ‘एक राष्ट्र दुई पद्धति’ को आधारभूत राष्ट्रिय नीति अवलम्बन गर्दै त्यहाँको शान्ति र एकताका लागि काम गरिरहेको बताइन् ।
सन् २०१९ मा २ देशबीच आर्थिक, सामाजिक, राजनीतिक, व्यापारिक तथा जनता–जनताबीचको सम्पर्क र सम्बन्ध विस्तारमा उल्लेख्य प्रगति भएको बताउँदै लगातार ४ वर्षदेखि चीन नेपालमा सर्वाधिक लगानी गर्ने राष्ट्रका रूपमा रह्यो भने चीन–नेपाल व्यापार विस्तारमा पनि आशातित सफलता हासिल भएको उल्लेख गर्न उनी चुकिनन् ।
चीनका लागि नेपाल इञ्जिनीयरिङलगायत भौतिक पूर्वाधार निर्माणजस्ता प्राविधिक क्षेत्रमा सहयोग प्रवद्र्धन गर्ने प्रमुख थलो बन्यो भने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको मर्मतसम्भार तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चिनियाँ पक्षबाट महत्त्वपूर्ण योगदान भइरहेको जानकारी दिँदै उनले नेपालको सामाजिक–आर्थिक समृद्धिमा सक्दो सहयोग गर्न चीन तत्पर रहेको दोहोर्याइन् ।
सन् २०१९ मा चीन–नेपाल सम्बन्धमा नयाँ आयाम थपिएको, राष्ट्राध्यक्षको तहमा द्विपक्षीय भ्रमण सफलतापूर्वक सम्पन्न भएका, राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला द्विपक्षीय साझेदारी, सहकार्य र सहयोगसम्बन्धी २० सम्झौता एवं समझदारीपत्रमा हस्ताक्षर भई तिनलाई चाँडोभन्दा चाँडो कार्यान्वयन गर्न नेपाल सरकारका सम्बद्ध निकायसँग निकट सम्पर्कमा रहेर आफूले काम गरिरहेको चिनियाँ राजदूतले बताइन् ।
चीन र नेपालबीच अनन्तकालसम्म कायम रहने रणनीतिक साझेदारी र सहयोगले द्विपक्षीय हितलाई नै मुखरित गरेको, भूपरिवेष्टित नेपाललाई भू–जडित तुल्याएर यहाँको समृद्धि र विकासमा केन्द्रित ‘बेल्ट एण्ड रोड इनिसिएटिभ्स्’ प्रभावकारी हुने विश्वास उनले व्यक्त गरिन् ।
चीन र नेपालबीच उच्चस्तरमा भएका सहमति कार्यान्वयनमा दुवै देश लागिपरेका, सीमापार रेलमार्ग निर्माण तथा सडक सञ्जाल विस्तारलगायत दूरगामी महत्त्वका परियोजनाको सम्भाव्यता अध्ययन द्रुतगतिमा भइरहेको जानकारी दिँदै उनले भूकम्पपछिको पुनःनिर्माण, स्याफ्रुबेँसीसम्म पुग्ने सुरुङमार्ग बनाउन सम्भाव्यता अध्ययन पनि प्रारम्भ भइसकेको बताइन् ।
एक पृथक प्रसङ्गमा उनले ‘टु प्लस वान’ अर्थात् चीनसहित भारत वा अन्य देशबीचको साझेदारी सम्बन्धित देशको समृद्धि र त्यस राष्ट्रका जनताको जीवनस्तर उकास्नेमा नै केन्द्रित हुनुपर्ने तथा आकारले सानो वा ठूलो नहुने र त्यसमा विशालताको प्रभाव पर्न नहुने तर्क गरिन् ।
उनले अमेरिकी सरकारद्वारा नेपालको भौतिक पूर्वाधार विकासका खातिर उपलब्ध गराइने अनुदान स्वीकार वा अस्वीकार गर्ने सार्वभौम अधिकार नेपाल सरकारमा रहेको बताउँदै त्यसमा सकारात्मक निर्णय गर्न नेपाल सक्षम रहेको उल्लेख गरिन् । ‘नेपालको विकासका लागि अन्तर्राष्ट्रिय आर्थिक सहयोग अपरिहार्य छ, त्यस्ता सहयोगले नेपालको राष्ट्रिय हित सुनिश्चित हुनुपर्छ भन्ने मेरो मान्यता छ, नेपालको विकासका निम्ति प्राप्त हुने बाह्य सहयोगको चीन स्वागत गर्छ,’ राजदूत हउले भनिन् । – शरच्चन्द्र भण्डारी/रासस
गुण्डागर्दीमा संलग्न ‘राते’ पक्राउ
विगत लामो समयदेखि गुण्डागर्दी र आपराधिक क्रियाकलापमा संलग्न राते भन्ने सुजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले उनलाई बिहीवार राति काठमाडौंको नयाँबजारबाट पक्राउ गरेको छ ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाका अनुसार उनी यसअघि प्रहरीको इन्काउन्टरमा मारिएका दिनेश अधिकारी ‘चरी’ समूहमा बसेर गुण्डागर्दीमा सक्रिय थिए ।
पछिल्लो समयमा भने गत वर्ष चैत १८ गतेको एक आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो । त्यो बेला श्रेष्ठ र सहयोगी रेम्बो भन्ने अजय गुरुङले काठमाडौं महानगरपालिका–२६ आइओडी क्लब अगाडि स्थानीय विष्णु कठायतलाई पछाडिबाट रडले प्रहार गरेर फरार भएको प्रहरीले जनाएको छ । गुरुङ भने यसअघि नै पक्राउ परिसकेका छन् ।
पीडितको उजुरीका आधारमा खोजी गर्ने क्रममा उनलाई राति पक्राउ गरी थप कारवाहीका लागि शुक्रवार महानगरीय प्रहरी वृत्त लैनचौर बुझाइएको थापाले जानकारी दिए ।
राष्ट्रिय गौरवका आयोजना सम्बन्धमा उच्चस्तरीय निर्देशक समिति गठन गर्न सरकारलाई निर्देशन
राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवका आयोजनामा देखिएका नीतिगत तथा प्राविधिक समस्या समाधानका लागि उच्चस्तरीय निर्देशक समिति गठन गर्न सरकारलाई निर्देशन दिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ, मन्त्तालयका सचिव देवेन्द्र कार्की तथा सडक विभागका महानिर्देशक केशवकुमार शर्मा समेतको उपस्थितिमा शुक्रवार बसेको समिति बैठकले यस्तो निर्देशन दिएको हो ।
सभापति दिलकुमारी रावल थापा 'पार्वती'को अध्यक्षतामा बसेको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरूबारे छलफल भएको थियो ।
सम्बन्धित आयोजना प्रमुखहरूले आयोजनाको प्रगति विवरणसम्बन्धी प्रस्तुति दिएका थिए भने सांसदहरूले उठाएका प्रश्नको जवाफ मन्त्री नेम्वाङले दिएका थिए ।
छलफलपछि समितिले सरकारलाई तीन बुँदे निर्देशन दिएको छ ।
अकूत सम्पत्ति कमाएको आरोपमा अर्थ मन्त्रालयका उपसचिवमाथि अख्तियारको एक्सन
सरकारको ढुकुटी भरिपूर्ण गर्ने निकायका तत्कालीन उपसचिव नै भ्रष्ट होला भन्ने सामान्य मानिसले अनुमान गर्न सक्दैनन् ।
त्यसमाथि अर्थ मन्त्रालय र अत्यावश्यक सेवामा काम गर्ने सरकारी कर्मचारीलाई राज्यले थप सेवा तथा सुविधा पनि दिएको छ ।
सरकारले दिएको सेवा सुविधाभन्दा बढी कमाउने सोच राखेर भ्रष्टाचारलाई नै कर्म बनाएपछि अन्ततः त्यस्ता व्यक्ति कानूनको फन्दामा पर्छन् नै ।
यस्तै भएको छ, अर्थ मन्त्रालयका राजेन्द्र ढुङ्गानामाथि । उपसचिव ढुङ्गानाको कमाइ अस्वाभाविक देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेको थियो ।
छानबिनका क्रममा ढुङ्गानासँग स्रोत नखुलेको सम्पत्ति अधिक भएको पाइएपछि आज आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
ढुङ्गाना २०४९ साल साउन १९ गते सार्वजनिक सेवामा प्रवेश गरेका थिए । सार्वजनिक सेवामा उनी २०७५ साल असार ३२ गतेसम्म कायम थिए । सो अवधिमा उनको वैध आय रु ७९ लाख ५४ हजार ७९५ रहेको छ तर सोही अवधिमा ढुङ्गानाले रु ५ करोड ४८ लाख ३ हजार ३५१ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ ।
आयोगले गरेको खोजबिनमा उहाँको खर्च तथा लगानीमध्ये रु ४ करोड ६८ लाख ४८ हजार ५५६ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको छ ।
आयोगले स्रोत नखुलेको उक्त रकम बराबरको बिगो कायम गर्न तथा सो बराबरको सम्पत्ति जफत गरिपाऊँ भनी विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले सार्वजनिक सेवाको पदमा रहँदा आफ्नो पदको दुरुपयोग गरी स्रोत नखुलेको सम्पत्ति आर्जन गरी आफूलगायत श्रीमती मधु कोइरालाका नाममा समेत राखेको पाइएको छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सार्वजनिक पदको दुरुपयोग गरी अकूत सम्पत्ति कमाएको अभियोगमा ढुङ्गानाविरुद्ध हदैसम्मको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
पर्यटन भ्रमण वर्षको शुरुवात उत्साहजनक भएको भन्दै भावुक भए योगेश - हजार माइलको यात्रा पनि एक पाइलाबाट शुरू हुन्छ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’ को भव्य शुभारम्भ समारोहमा आम जनसमुदायको अभूतपूर्व र उत्साहजनक सहभागिताले थप उत्साहित बनाएको बताएका छन् ।
‘नेपाल भ्रमर्ण वर्ष–२०२०’ मूल आयोजक समितिका अध्यक्षसमेत रहेका मन्त्री भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै भ्रमण वर्षको भव्य उद्घाटन समारोहमा सक्रियता जनाएर उत्साह प्रदान गर्ने सम्पूर्ण महानुभावलाई हार्दिक धन्यवाद ज्ञापन गरेका हुन् ।
उनले भ्रमण वर्षलाई राष्ट्रिय उत्सवको रुपमा मनाउने सरकारको संकल्पको सुखद् शुरुआत भएको बताए । सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।
‘संख्या त छँदैछ, हामीले त्योभन्दा बढी विश्व समुदायमा नेपालको बारेमा दिइने सन्देश र देशभित्र पैदा गर्ने जागरण र सचेतनालाई प्रमुख मानेका छौँ । यसका लागि समुद्घाटन कार्यक्रममा जस्तै गरी अभियान भरि सबैको यस्तै सहयोग र सहभागिताको अपेक्षा सरकारले गरेको छ,’ पर्यटनमन्त्रीले विज्ञप्तिमा भनेका छन् ।
उनले भ्रमण वर्षको यही ७ जनवरी २०२० विश्वभरी नै भव्य उद्घाटन हुने र त्यसलाई सम्पन्न गर्न विदेशस्थित नेपाली कूटनीतिक निगोग तथा गैरआवासीय नेपाली सङ्घलगायत प्रवासमा रहेका नेपाली शुभचिन्तकलाई हार्दिक आग्रह गरेका छन् ।
पर्यटन नेपालको अर्थतन्त्रको प्रमुख आधारमध्येको एक हो । मुलुकको राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना पूरा गर्नका लागि पर्यटनलाई प्रमुख आधार मानिएको उल्लेख गर्दै मन्त्री भट्टराईले यसका लागि आगामी दिनमा पनि यस्तै सहभागिता, सक्रियता र प्रतिबद्धता अपेक्षा गरिएको उल्लेख गरे ।
उनले भने, ‘भनिन्छ, ‘हजार माइलको यात्रा एक पाइलाबाट शुरु हुन्छ । समुद्घाटन कार्यक्रमलाई हामीले हजार माइलको यात्राको भव्य र सुखद् शुरुआत मानेका छौँ । अन्तमा हजार माइलको उज्यालो यात्रामा यही उचाइका साथ सहयोग, सहभागिता र प्रतिबद्धताका साथ निरन्तर सहभागी भई दिन हुन अपिलसमेत गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।
पर्यटनमन्त्री भट्टराईले विशेष गरी काठमाडौँको दशरथ रङ्गशालामा उपस्थित भएर कार्यक्रमको समुद्घाटन गरिदिनुहुने राष्ट्रपति विद्यादेवी भण्डारीप्रति हार्दिक आभार प्रकट गरेका छन् ।
भ्रमण वर्षको मार्गदर्शनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीप्रति पनि आभार प्रकट गरेका छन् । पर्यटनमन्त्रीले तयारीदेखि उद्घाटनसम्म सहभागिता जनाउने नेपालस्थित विभिन्न देशका राजदूत र वैदेशिक साझेदार संस्थाका प्रमुखप्रति पनि हामी आभार प्रकट गरेका छन् ।
भ्रमण वर्षको अङ्ग्रेजी नयाँ वर्ष सन्–२०२० जनवरी १ तारिख (पुस १६ गते) काठमाडौँको दशरथ रङ्गशालासँगै सातै वटा प्रदेशको मुख्य पर्यटकीय स्थानमा उद्घाटन भएको थियो । दशरथ रङ्गशालासँगै प्रदेश नं १ को मोरङस्थित विराटनगर रङ्गशाला, प्रदेश–२ को जनकपुरस्थित जानकी मन्दिर जनकपुरधाम, प्रदेश–३ को चितवनस्थित सौराहा र गण्डकी प्रदेशको कास्कीस्थित लेकसाइड पोखरामा समुद्घाटन भएको थियो ।
यसैगरी प्रदेश नं ५ को बर्दियास्थित ठाकुरद्वारा, कर्णाली प्रदेशको सुर्खेतस्थित बुलबुल ताल र सुदूरपश्चिम प्रदेशको धनगढीमा भ्रमण वर्षको भव्य समुद्घाटन भएको पर्यटनमन्त्रालयले जनाएको छ ।
व्यक्तिका नाममा दर्ता गरिएका सरकारी जग्गा देखाइदिन जनतालाई आग्रह गर्दै सरकार
नेपाल सरकारद्वारा गठित सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोग–२०७६ ले अतिक्रमित सार्वजनिक जग्गाको खोजीमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।
आयोगद्वारा आज वीरगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रममा आयोगले कुन ठाउँमा, कहाँ, कति ? सरकारी जग्गा अतिक्रमण भएको छ यसबारे जानकारी दिन राजनीतिक दलका प्रतिनिधि, सम्बन्धित कार्यालयका प्रमुख तथा सञ्चारकर्मीलगायत सबैसँग आग्रह गरेको हो ।
कार्यक्रममा नेपाली काँग्रेस पर्साका सभापति अजय द्विवेदीले वीरगञ्जको आदर्शनगरस्थित हजारी मल धर्मशालाको जग्गा अतिक्रणमा ट्रष्टीहरु नै लागेकाले सो धर्मशालाको जग्गा संरक्षण गरी सरकारले आफ्नो मातहतमा लिनुपर्ने बताए ।
पर्साका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले सार्वजनिक सम्पत्ति अतिक्रमण गरी आफ्नो नाममा लिने व्यक्तिबारे उजुरी आएका सम्बन्धित व्यक्ति र जग्गा नामसारी गर्ने कर्मचारीलाई कारवाही गर्ने बताए ।
आयोगका सदस्य जानकीबल्लभ अधिकारीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सहभागीहरुले संविधानले सरकारी जग्गा संरक्षण गर्ने जिम्मा स्थानीय सरकारलाई समेत अधिकार दिएकाले अतिक्रमणमा परेका जग्गाको अभिलेख राखी संरक्षण गर्नुपर्ने र जग्गा अतिक्रमण गरी बिक्री वितरण गर्नेलाई कानूनको दायरामा ल्याएर कारवाही गर्नुपर्नेलगायत सुझाव दिएका थिए ।
आयोगका सदस्य जानकीबल्लभ अधिकारीको नेतृत्वमा आएको टोलीमा सदस्यद्वय दुर्गाकुमारी दाहाल र जगतबहादुर देउजा रहेका छन् ।
उखु किसान र सरकारबीच पाँच बुँदे सहमति, माघ ७ गतेभित्र उखुको पैसा भुक्तानी
सरकारले आन्दोलनरत उखु किसानसँग ५ बुँदे सहमति गरेको छ ।
उद्योगमन्त्री लेखराज भट्टसँग किसानहरूले वार्ता गरेर सहमति गरेका हुन् ।
सहमतिमा माघ ७ गतेभित्र सबै किसानहरूले उखुको मूल्य पाउने उल्लेख गरिएको छ ।
त्यससँगै सहमतिपत्रमा सरकारले दिने अनुदान समयमै उपलब्ध गराउनुपर्ने, सरकारले उखुको स्वचालित मूल्य तोकिनुपर्ने लगायतका बुँदा उल्लेख गरिएका छन् ।
एक सातादेखि काठमाडौँमा आन्दोलन गरिरहेका किसानहरू सहमतिसँगै खुसी देखिएका छन् ।
राष्ट्रिय सभा निर्वाचन तालमेल - राजपा नेकपासँग, समाजवादी कांग्रेससँग
राष्ट्रिय सभा निर्वाचनका लागि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मधेशकेन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा)सँग सहकार्य गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भर्खरै सरकारबाट समर्थन फिर्ता लिएको समाजवादी पार्टीसँग सहकार्य गर्ने भएको छ ।
शुक्रवार नेपाली कांग्रेस र समाजवादी दलबीच प्रदेश २ मा हुने चार सीटको निर्वाचनमा सहकार्य गर्ने सहमति जुटेको हो ।
नेपाली कांग्रेसको तर्फबाट महिला र अल्पसंख्यक एवं समाजवादी पार्टीको तर्फबाट दलित र अन्य उम्मेदवारको बीचमा तालमेल गर्ने सहमति भएको हो ।
दुवै पार्टीबीच भएको एकबुँदे सहमतिपत्रमा समाजवादी पार्टीका तर्फबाट अध्यक्ष उपेन्द्र यादव र कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका छन् ।
दुई साताअघि राजपा र नेकपाबीच राष्ट्रिय सभाको निर्वाचनमा तालमेल गर्ने सहमति भएको थियो ।
धनुषा बम विस्फोट काण्डका योजनाकार विप्लव समूहका नेता पक्राउ
धनुषामा एक प्रहरी निरीक्षकसहित तीनजनाको मृत्यु भएको बम विस्फोटका योजनाकार पक्राउ परेका छन् । प्रहरीले मुख्य योजनाकार मानेका आदम राइन पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा बम विस्फोटको करिब तीन सातापछि घटनाको मुख्य योजनाकारको आरोपमा पक्राउ परेका आदम राईन नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको केन्द्रीय सदस्यसमेत रहेको प्रहरीले जनाएको छ । राइनलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।
गत मङ्सिर २७ गते राति टाइम बम प्रयोग गरी घटना घटाउने मुख्य योजनाकारसहित नौजनाको पहिचान भइसकेको प्रदेश नं २ का प्रहरी प्रमुख प्रद्मकुमार कार्कीले बताए ।
महेन्द्रनगर बजारमा रहेको राजेश साहको घरमा टाइम बम राखेर विस्फोट गराइएको थियो । सो बम विस्फोटनमा परी प्रहरी निरीक्षक अमिरकुमार दाहालसहित घरधनी राजेश साह निजको छोरा आनन्द साह गरी तीनजनाको मृत्यु भएको थियो भने दुईजना घाइते भएको थियो ।
सो घटनामा साह बाबुछोराको घटनास्थलमै मृत्यु भएको थियो भने घाइते भएका प्रहरी निरीक्षक दाहालको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि तीनजनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा विप्लव समूहका प्रदेश नं २ संयोजक ५१ वर्षीया सीतादेवी महरा, केन्द्रीय सदस्य ४१ वर्षीया ललिता महरा र रामशोभित गाहा रहेका छन् ।