
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग ब्यास लिग क्रिकेटमा उत्कृष्ट बलिङ गरेका छन् ।
बिग ब्यास लिगमा मेलबर्न स्टार्सबाट खेल्दै आएका उनले शनिवार मेलबर्न रेनेगेड्स विरुद्धको खेलमा उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका हुन् । खेलमा मेलबर्न स्टार्स ८ विकेटले विजयी भएको छ ।
अघिल्लो खेल चोटका कारण गुमाएका सन्दीपले शनिवार ४ ओभर बलिङ गर्दै २६ रन खर्चिए । उनले पहिलो ओभरमा विना कुनै विकेट ७ रन दिए ।
आफ्नो दोस्रो ओभरमा पनि सन्दीपले कुनै विकेट झार्न सकेनन् । उनले सो ओभरमा १२ रन खर्चिए । तेस्रो ओभर भने उनका लागि उपलब्धिपूर्ण रह्यो । उक्त ओभरमा उनले २ विकेट लिँदै ४ रन मात्र खर्चिए । उनले सावन मार्स र डेनियल क्रिस्टिनलाई पेभेलियन फर्काए ।
आफ्नो अन्तिम ओभरमा सन्दीपले टोम कुपरको विकेट लिँदै ३ रन मात्र खर्चिए ।
सन्दीपको टोली मेलबर्न स्टार्सले शनिवार टस जितेर फिल्डिङ राजेपछि मेलबर्न रेनेगेड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४२ रन बनाएको थियो ।
१ सय ४३ रनको विजयी लक्ष्य मेलबर्न स्टार्सले १८ दशमलव ५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । बिग ब्यासमा सन्दीपको टोली मेलबर्न स्टार्स अंक तालिकाको शीर्ष स्थानमा छ । मेलबर्नले हालसम्म ६ मध्ये ५ खेलमा जित निकाल्दै १० अंक बटुलेको छ ।