
अस्ट्रेलियाको सिड्नी शहरमा सुरक्षाकर्मीहरूले नेपाल भ्रमण वर्ष २०२० को आरम्भ गर्न मंगलवार आयोजित जुलूसमा रोक लगाएका छन् । आयोजकहरूले यस्तो जुलूस निकाल्नका लागि अनुमति नलिएको बताइएको छ ।
जुलूसको नेतृत्व पर्यटनमन्त्री योगेश भट्टराई, अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, न्यु साउथ वेल्समा नेपालका महावाणिज्यदूत दीपक खड्का र भिक्टोरियामा नेपालका महावाणिज्यदूत चन्द्र योञ्जनले गरेका थिए ।
न्यु साउथ वेल्स प्रहरीको कार्यक्रम योजना इकाइले आयोजकहरूलाई विभिन्न कारणले गर्दा यो कार्यक्रम नगर्न भनेका थिए । यो कार्यक्रम प्रवर्द्धनात्मक तथा व्यापारिक फाइदाका लागि गरिएको अनि विरोध प्रदर्शन गर्ने अधिकारलाई सुरक्षित गर्ने कानूनअन्तर्गत नपर्ने भएकाले आयोजनामा रोक लगाइएको प्रहरीको भनाइ छ ।
प्रहरीले जुलूसमा भाग लिने सहभागीको संख्या हेरेर पनि त्यसलाई अनुमति नदिएको बताइएको छ । सहभागीहरूले सडकपेटीमा कब्जा जमाएर पैदलयात्रीहरूलाई अप्ठ्यारोमा पार्न सक्ने डर अधिकारीहरूले लिए ।
सिड्नीमा बस्ने लेखा अधिकृत तथा एनआरएनए अस्ट्रेलियाका पूर्व कोषाध्यक्ष डिला खरेललाई प्रहरी तथा अन्य अधिकारीबाट जुलूसका लागि अनुमति लिने जिम्मेवारी तोकिएको थियो ।
उनले आयोजकहरूलाई अनुमति नपाइएको जानकारी दिएको र जुलूसै निकाल्ने योजना नरहेको दाबी गरे । तर जुलूसमा सहभागी कसैले जुलूस निकाल्दा फरक नपर्ने भन्दै अघि बढाउन खोज्दा प्रहरीले रोक्यो अनि पर्यटनमन्त्री भट्टराईले लज्जास्पद स्थितिको सामना गर्नुपर्यो ।