
सर्लाहीको महालक्ष्मी चिनी उद्योग बुधबारबाट सञ्चालनमा आएको छ । उखु किसानको भुक्तानी गर्न बाँकी रकममध्ये ११ करोड २६ लाख रुपैयाँ बैंक खातामा पठाएपछि बुधबारबाट उद्योग सञ्चालनमा आएको हो ।
स्थानीय किसान रमण मिश्रका अनुसार सोमबार पैसा पठाएपछि बुधबारबाट मिल सञ्चालनमा ल्याउने सहमति भएको थियो । ‘किसानले गरेको सहमतिअनुसार उद्योग बुधबारबाट सञ्चालनमा आएको छ । त्यहाँ किसानले उखु लगेर तौलन थालेका छन्,’ उनले भने । उद्योगले गोडौता बजारमा रहेको सेन्चुरी बैंकमा किसानको नाममा पैसा पठाए पनि पाउन सकेका छैनन् । बैंकले धेरै किसानको नाममा पठाएको रकम फरफारक गरेर किसानको खातामा हालिदिन समय लागेको हो । ‘बैंकका कर्मचारीलाई गएर सोध्दा उद्योगबाट पैसा आएको जनाएका छन् ।
महालक्ष्मी चिनी उद्योग प्रदेश ५ को कांग्रेस संसदीय दलका उपनेता वीरेन्द्रकुमार कनौडियाको हो । सो उद्योगले गत वर्षको २१ करोड रुपैयाँ भुक्तानी दिन आलटाल गरेपछि किसानहरूले गत साता तालाबन्दी गरेका थिए । कनौडियालाई कारबाही गर्न गृह मन्त्रालयले समेत प्रहरीलाई निर्देशन दिएको थियो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गरी कनौडियालाई किसानको रकम भुक्तानी दिन पार्टीका तर्फबाट निर्देशन दिएका थिए ।
त्यसपछि ३ हजारभन्दा बढी किसानको उपस्थितिमा कनौडियाले सोमबार (२१ पुस) मा १५ करोड रुपैयाँ भुक्तानी दिने प्रतिबद्धता जनाएका थिए । उनले ११ करोड १६ लाख रुपैयाँ बैंकमा रकम पठाएका छन् । थप करिब ४ करोड २०–२५ दिनमा दिने कनौडियाले वाचा गरेपछि उद्योग सञ्चालनमा ल्याउन किसानहरूले सहयोग गरेका हुन् ।
उद्योगका महाप्रबन्धक केडी प्रसादका अनुसार गत वर्ष ११ लाख २७ हजार क्विन्टल उखु क्रसिङ भएको थियो । त्यसबापत किसानलाई ६६ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने थियो । तर, उद्योगले ४६ करोडको चिनी मात्र उत्पादन भएको दाबी गर्दै किसानलाई करिब ४० करोड भुक्तानी दिएर बाँकी राखेको थियो । नयाँ पत्रिका दैनिकमा खबर छ ।