
प्रमुख सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवादका कारण लामो समयदेखि सभामुखको उम्मेदवार तय हुन सकेको छैन ।
अध्यद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र केपी शर्मा ओलीको भिन्दाभिन्दै अडानका कारण सभामुखको उम्मेदवार चयन गर्न नेकपालाई हम्मेहम्मे परेको हो ।
अध्यक्षद्वयबीच सभामुख चयनकै विषयलाई लिएर पटक-पटक छलफल हुने गरेको छ ।
यौन दुर्व्यवहारको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले भदौको पहिलो साता राजीनामा दिएका थिए । महरा अहिले पुर्पक्षका लागि डिल्लिबजार कारागारमा थुनामा छन् ।
सभामुख चयनमा राजनीतिक सहमति नजुटेको भन्दै संसद बैठक पुस २७ गतेसम्म सूचना टाँस गरेर स्थगित गरिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेका कतिपय नेताहरूले सत्तारूढ दलको अकर्मण्यताका कारण संसद् बन्धक बनेको आरोप लगाएका छन् ।
पूर्वसभामुखसमेत रहेका नेता सुवासचन्द्र नेम्वाङलाई अहिले पनि मुख्य दावेदारका रूपमा हेरिएको छ । तर नेम्वाङ भने सभामुख चयनको प्रक्रियामा अध्यक्षद्वयबीच के चलिरहेको छ, त्यो आफूलाई थाहा नभएको बताउँछन् ।
लोकान्तरसँग कुरा गर्दै नेम्वाङले भने, 'सभामुखको उम्मेदवार चयनको प्रक्रियामा ढिलाई भएको सत्य हो, तर अन्तिम निर्णय अध्यक्षद्वयले नै लिनुहुनेछ । उहाँहरू छलफलमै हुनुहुन्छ । केही दिनमा सबै टुंगो लाग्ने मैले बुझेको छु ।'
तपाईं पनि प्रमुख दावेदार हो नि ? भन्ने प्रश्नमा नेम्वाङले भने, 'त्यो तपाईंहरूको सदासयता हो । मैले दाबी प्रस्तुत गरेको छैन ।'
नेम्वाङले पार्टीभित्र सभामुख चयनको प्रक्रियालाई लिएर घनीभूत बहस भएको भएपनि बाहिर देखिएजस्तो ठूलो विवाद नभएको बताए ।
इगोको लडाईं
सभामुख चयनको विषय पूर्वएमाले र पूर्वमाओवादी पक्षबीच 'इगो'का रूपमा विकसित हुँदै गइरहेको चर्चा राजनीतिक वृत्तमा चल्न थालेको छ ।
यसअघिका सभामुख महरा पूर्वमाओवादीबाट भएकाले अहिले पनि पूर्व माओवादीबाटै बनाउनुपर्ने लबिङ प्रचण्डनिकट केही नेताहरूले गर्दै आएका छन् ।
'सहमतिको नाममा प्रचण्ड कमरेड धेरै विषयमा चुकिरहनु भएको छ,' नेकपाका एक स्थायी कमिटी सदस्यले भने, 'पार्टी एकीकरणकै प्रक्रियामा रहेकाले दुवै पक्षबीच शक्ति सन्तुलन कायम हुन जरूरी छ । आलोपालो प्रधानमन्त्री बन्ने सहमति पनि खारेज भइसकेको अवस्थामा संसद र सरकारमा दुवै पक्षको शक्ति सन्तुलन कायम राख्न हामीले सभामुख पूर्व माओवादीपक्षबाट बनाउनुपर्ने अडानसहित प्रचण्ड कमरेडको ध्यानाकर्षण गराएका छौं ।'
उनले प्रचण्ड बारम्बार चुक्ने गरेकाले आफूहरूले ध्यानाकर्षण गराउनु परेको स्पष्ट पारे ।
सभामुखको विषयलाई पूर्व एमाले पक्षले पनि इगोको विषय बनाइरहेको छ ।
पार्टी एक भइसकेकाले अब पूर्वएमाले र पूर्वमाओवादी भन्दै भागबण्डाको राजनीति गर्न नहुने तर्क पूर्वएमाले पक्षका कतिपय नेताहरूको छ ।
पूर्वएमाले पक्षका एक नेताले लोकान्तरसँग भने, 'सरकारको नेतृत्व प्रधानमन्त्री ओलीले गर्नुभएको छ । समृद्ध नेपाल, सुखी नेपालीको उहाँको नारालाई सहयोग गर्ने गरी सभामुखको चयन हुन जरुरी छ । यसमा यो पक्ष र ऊपक्ष भनेर विवाद गर्नुको कुनै अर्थ छैन ।'
त्रिपक्षीय भिडन्त !
सभामुख चयनको विषयलाई लिएर नेकपाभित्र तीनवटा शक्तिले प्रभाव पार्न खोजेको चर्चा चलिरहेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पनि सभामुख चयनको विषयलाई निकै चासो दिएर हेरिरहेको नेकपा उच्च स्रोत बताउँछ ।
राष्ट्रपति भण्डारीले उपसभामुख तुम्बाहाम्फेलाई नै सभामुख बनाउनुपर्ने पक्षमा लबिङ गर्दै आइरहेको स्रोतले दाबी गर्यो ।
राष्ट्रपतिलाई भेट्न तुम्बाहाम्फे पटक-पटक शीतल निवासमा जाने गरेकी छन् ।
'पछिल्लो दुई महिनामा उहाँ(तुम्बाहाम्फे) लगभग ४ पटक यहाँ आइसक्नुभयो,' शीतलनिवास स्रोतले लोकान्तरसँग भन्यो ।
त्यसो त नेकपाका महिला नेतृहरूले पनि तुम्बाहाम्फेलाई नै सभामुख बनाउनुपर्ने भनी सार्वजनिकरूपमै दबाब दिने गरेका छन् ।
नेम्वाङकै पल्ला भारी !
राजनीतिक संक्रमण उच्च रहेका बेला दुई-दुईपटक संविधानसभाको सभामुखको जिम्मेवारी निर्वाह गरेका नेम्वाङकै सम्भावना उच्च रहेको बालुवाटार स्रोतले बताए ।
'अहिलेसम्म उहाँको चान्स ९० प्रतिशत भन्दा धेरै छ,' प्रधानमन्त्री ओलीनिकट एक नेताले दाबी गरे, 'अग्नि सापकोटा, देव गुरुङ लगायतका नेताहरूका बारेमा कुनै छलफल भएको मैले थाहा पाएको छैन । बरू एकपटक प्रचण्ड कमरेडले पम्फा भुसालको नाम लिनुभएको थियो ।'
बुधवार दुवै अध्यक्षबीच भएको भेटमा पनि नेम्वाङकै वरिपरी छलफल भएको उनले दाबी गरे ।