३१ जेठ २०८३, आइतबार

हिजो दिनभर : सभामुख चयनमा नेकपालाई ज्वरो ! इरानमा जारी तनावबारे नेपालको गम्भीर चासो र चिन्ता

हिजो दिनभर : सभामुख चयनमा नेकपालाई ज्वरो ! इरानमा जारी तनावबारे नेपालको गम्भीर चासो र चिन्ता

सरकारका प्रवक्ता भन्छन्– कांग्रेससँग सहमति जुटाएर आयोग गठन

सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग गठनमा प्रमुख प्रतिपक्षको पनि सहमति जुटाउन पहल गरिरहेको  छ ।

मन्त्रिपरिषद्को यही पुस २१ को निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले द्वन्द्वकालमा भएका गम्भीर प्रकृतिका घटनाको छानबिन र मेलमिलापका लागि न्यायिक निरुपण गरी दिगो शान्ति स्थापनाको दिशामा मुलुकलाई अगाडि बढाउन सरकारले पहल गरिरहेको जानकारी दिए । 

नेपाल सरकारका प्रवक्ता बाँस्कोटाले समझदारीका आधारमा उक्त आयोग गठन गर्न खोजिएकाले समय लागेको उल्लेख गर्दै भने, “दिगो शान्तितर्फ मुलुकलाई बदलेर भावी पुस्तामा  हस्तान्तरण गर्ने हाम्रो दायित्व हो । यसमा गम्भीर प्रकृतिका अपराधमा संलग्नलाई उन्मुक्ति दिने हो होइन भन्ने विषय पनि जोडिएको छ । हिजो हामी कोही द्वन्द्वमा थियौँ कोही थिएनौँ तर अब दिगो शान्ति स्थापना गर्नु हामी सबैको दायित्व हो ।”

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदावधि गत चैत मसान्तमा सकिएको थियो । 

गगन थापाको आक्रोश– राष्ट्रपति श्री ६ र प्रधानमन्त्री श्री ५ भए !

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई श्री ६ र प्रधानमन्त्री केपी शर्मा ओलीलाई श्री ५ भएको आरोप लगाएका छन् । 

बिहीवार राजधानीको माइतीघर मण्डलामा सूचना प्रविधि विधेयकको विरोध गर्न कांग्रेसको भातृसंगठन नेविसंघले आयोजना गरेको विरोध सभामा बोल्दै थापाले राष्ट्रपति र प्रधानमन्त्री पहिलाका राजा महाराजाभन्दा ठूला बन्न खोजेको आरोप लगाएका हुन् ।

थापाले संविधानले गरेको बोल्न पाउने अधिकारको सुनिश्चिततालाई अहिलेको सरकारले कुण्ठित गर्न लागेको आरोप समेत लगाएका छन् ।

'संविधानले जातीय द्वन्द्व फैलाउनेबाहेक सबै कुरा बोल्न पाउने अधिकारको सुनिश्चितता गरेको छ,' भाषणका क्रममा थापाले भने ।

उनले सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई पनि कटाक्ष गरेका छन् । 'हामी सबै पढेर विरोध गर्न आएका छौं, हामीलाई हेप्ने ?' उनले प्रश्न गरे । 

विरोधसभामा कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी ओलीलाई यति होल्डिङस कम्पनीको सीईओको संज्ञा दिए ।
 

मन्त्री अर्याल भन्छिन्– '१० वर्षमा गरीबीलाई शून्यमा झार्ने लक्ष्य छ'

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारीमार्फत उद्यमशीलता र व्यावसायिकतामा जोड दिन आवश्यक रहेको बताएकी छन् ।

राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको २७औं वार्षिक साधारणसभामा मन्त्री अर्यालले सहकारी अर्थतन्त्रको तीन खम्बामध्येको एक आधारशीला रहेको हुँदा यसमार्फत मुलुकको सबै स्थानमा उद्यमशीलता र व्यावसायिकताको काम अघि बढाउन जरुरी रहेको बताएकी हुन् ।

उनले भनिन्, “नेपालमा त्यसै खाली बसेका महिला र युवाको हितमा उद्यमशीलताको थुप्रै कार्यक्रम अघि बढाउनुका साथै किसानका लागि व्यावसायिकतामा जोड दिनुपर्ने देखिन्छ ।”

अहिले विकासको नाममा जताततै डाँडाकाँडा र बस्ती छियाछिया हुँदै जाँदा दिनप्रतिदिन वातावरण बिग्रँदै गएको मन्त्री अर्यालले औँल्याइन् । मुलुकमा समृद्धिको आधारस्तम्भ नै सहकारी भएकाले महासंघले नयाँ नेतृत्व चयन गर्नुपूर्व यस विषयमा कसलाई अघि बढाउने भनी गहन छलफल गर्न जरुरी रहेकामा मन्त्री अर्यालको जोड थियो ।
 

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक

सरकारले पानीजहाज दर्ता, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमा गर्न स्वीकृति दिएको छ । 

मन्त्रिपरिषद्को गत पुस २१ गते बसेको बैठकले पानीजहाजको दर्ता, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई स्वीकृति दिएको मन्त्रालयमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए । 

इरानमा जारी तनावबारे नेपालको गम्भीर चासो र चिन्ता
सरकारले पश्चिम एशिया क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमप्रति गहिरो चिन्ता र चासो व्यक्त गर्दै त्यहाँ रहेका आप्रवासी कामदारको सुरक्षा नेपालको अति महत्वको विषय भएको बताएको छ । 

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी पश्चिम एसियाको शान्ति र स्थायित्वलाई जोखिममा पार्ने गरी तनाव बढेको भन्दै सम्बद्ध सबै पक्षलाई संयमता अपनाउन आह्वान गरेको छ ।

सरकारले सबै खाले द्वन्द्व र मतभिन्नताको समाधान शान्तिपूर्ण माध्यमबाट खोजिनुपर्ने नेपालको मान्यता दोहोर्‍याएको छ । 

अमेरिकाले इरानी वरिष्ठ सैन्य कमाण्डर कासिम सुलेमानीको हत्या गरेपछि इरान–अमेरिका तनाव उत्कर्षमा छ ।

सभामुख चयनमा नेकपालाई ज्वरो ! 

प्रमुख सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवादका कारण लामो समयदेखि सभामुखको उम्मेदवार तय हुन सकेको छैन ।

अध्यद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र केपी शर्मा ओलीको भिन्दाभिन्दै अडानका कारण सभामुखको उम्मेदवार चयन गर्न नेकपालाई हम्मेहम्मे परेको हो ।

अध्यक्षद्वयबीच सभामुख चयनकै विषयलाई लिएर पटक-पटक छलफल हुने गरेको छ ।

यौन दुर्व्यवहारको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले भदौको पहिलो साता राजीनामा दिएका थिए । महरा अहिले पुर्पक्षका लागि डिल्लिबजार कारागारमा थुनामा छन् ।

सभामुख चयनमा राजनीतिक सहमति नजुटेको भन्दै संसद बैठक पुस २७ गतेसम्म सूचना टाँस गरेर स्थगित गरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेका कतिपय नेताहरूले सत्तारूढ दलको अकर्मण्यताका कारण संसद् बन्धक बनेको आरोप लगाएका छन् । 

पूर्वसभामुखसमेत रहेका नेता सुवासचन्द्र नेम्वाङलाई अहिले पनि मुख्य दावेदारका रूपमा हेरिएको छ । तर नेम्वाङ भने सभामुख चयनको प्रक्रियामा अध्यक्षद्वयबीच के चलिरहेको छ, त्यो आफूलाई थाहा नभएको बताउँछन् । 

लोकान्तरसँग कुरा गर्दै नेम्वाङले भने, 'सभामुखको उम्मेदवार चयनको प्रक्रियामा ढिलाई भएको सत्य हो, तर अन्तिम निर्णय अध्यक्षद्वयले नै लिनुहुनेछ । उहाँहरू छलफलमै हुनुहुन्छ । केही दिनमा सबै टुंगो लाग्ने मैले बुझेको छु ।'

तपाईं पनि प्रमुख दावेदार हो नि ? भन्ने प्रश्नमा नेम्वाङले भने, 'त्यो तपाईंहरूको सदासयता हो । मैले दाबी प्रस्तुत गरेको छैन ।'

नेम्वाङले पार्टीभित्र सभामुख चयनको प्रक्रियालाई लिएर घनीभूत बहस भएको भएपनि बाहिर देखिएजस्तो ठूलो विवाद नभएको बताए । 

नेकपाले संसदको मानहानी गरेको भन्दै अदालत जाने कांग्रेस नेताको धम्की

पार्टीको आन्तरिक विवादका कारण सभामुखको निर्वाचन पर धकेलेको तथा प्रदेशको नाम र राजधानी तोक्ने प्रदेशको अधिकार खोसेको भन्दै नेपाली कांग्रेसले सत्तारुढ नेकपाको आलोचना गरेको छ ।

बिहीवार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा नेपाली कांग्रेसका सांसद जीतेन्द्र नारायण देवले नेकपाले संसदको अधिकार खोसेको र मानहानी गरेको आरोप लगाएका हुन् । 

प्रदेशको राजधानी कसले राख्ने भन्ने संविधानले प्रदेशलाई दिएको छ तर प्रदेश ३ का एक सांसदले विष पिउने वा पार्टी छाड्ने अवस्था आएको भनेर वक्तव्य दिएका छन्,’ सांसद देवले भने, ‘सभामुखको निर्वाचन वा प्रदेशको नामाकरण संविधानको अक्षर र भावनामा हुने कि यो विषय पार्टीको नाममा शीर्ष नेताको निरंकुशताको बन्दी हुने ? संवैधानिक प्रश्न तेर्सिएको छ ।’

सांसद देवले प्रतिनिधिसभा सभामुख चयनमा पनि नेपाले निरंकुशतावादी चरित्र देखाएको आरोप लगाए । ‘सभामुखको चुनाव स्पष्ट संवैधानिक व्यवस्था छ, २७ गतेबाट सभामुख चयनको प्रक्रिया अगाडि बढाइयोस् । सभामुख चयन प्रक्रिया रोकेर संसदको मानहानी भइरहेको छ, यो विषय अदालतमा जान सक्छ । संसदीय लोकतन्त्रको प्रतिष्ठा र अधिकारको अवमूल्यन भइरहेको छ । कम्युनिस्ट पार्टीभित्र केन्द्रीय समितिको नाममा पोलिटब्यूरो, पोलिटब्यूरोका नाममा स्थायी समिति, स्थायी समितिको नाममा सचिवालय र सचिवालयको नाममा १–२ नेताले निर्णय गरेर आम कार्यकर्ता आँसु बगाएर बस्नुपर्ने देखिन्छ,’ सांसद देवले भने, ‘संविधान र लोकतन्त्रप्रति आस्था छ भने यो समस्यालाई धेरै दिन अड्काएर राख्नु हुँदैन । प्रदेश नम्बर ३ लाई नियमावली अनुसार प्रदेशको नाम राख्ने निर्णय दिनुपर्दछ । २७ गते प्रतिनिधि सभाले सभामुख निर्वाचन गर्न पाउनुपर्छ ।’

नेकपाको राजनीतिक सिद्धान्तप्रति उनले प्रश्न गरे, ‘संविधान नमान्ने यो पार्टी बहुदलीय जनवाद छाडेर एकदलीय तानाशाहीमा गएको हो ?’

देशभर वर्षा उच्च पहाडी र हिमाली भू–भागमा हिमपात 

पश्चिमी न्यूनचापीय वायुको प्रभावले बुधवार काठमाडौँ उपत्यकासहित देशभर हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
 
सोमबार बेलुकाबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशैभरि बदलीसहित वर्षा तथा उच्च पहाडी र हिमाली भू–भागमा हिमपात भइरहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो । 'पश्चिमी वायुको प्रभाव भोलिसम्म कायम रहनेछ', मौसमविद् बासीले भने। 

हाल देशका पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने तथा बाँकी स्थानमा सामान्य बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भेगका अधिकांश भू–भागमा हिमपात भइरहेको बताइएको छ ।
 
मौसम पूर्वानुमान महाशाखाले आगमी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेकाले यसकै कारणले जाडो बढ्ने हुनाले चिसोबाट जोगिन आग्रह गरेको छ । 

राति देशको मध्य तथा पूर्वी भू–भागमा सामान्य बदली रही उच्च पहाडी र हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि देशका पूर्वी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ । शनिबार  देशका पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने औँल्याएको छ । 

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम छ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ११ दशमलव नौ डिग्री सेल्सियस रहेको छ । यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्