
यती समूहले दरबारमार्गमा निर्माण गरेको भवनको काम रोक्नु भन्दै उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गएको छ ।
सरकारले यती समूहसँग गरेको सम्झौतामा त्रुटी रहेको भन्दै पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले भवन निर्माणको कार्य रोक्न अन्तरिम आदेश जारी गरेको हो ।
अदालतले छलफलका लागि भन्दै दुवै पक्षलाई माघ १ गते बोलाएको छ ।
'निवेदकले अन्तरिम आदेशसमेत माग गरेकोतर्फ विचार गर्दा निवेदकले उठाएको विषयवस्तुको प्रकृतिलाई हेर्दा दुवै पक्षबीच छलफल गरी अन्तरिम आदेश जारी हुने नहुने टुंगो गर्न उपयुक्त देखिएकाले माघ १ गतेको पेशी तोकिएको छ,' आदेशमा भनिएको छ, 'सम्झौता जे जुन अवस्थामा छ यथास्थितिमा राख्नु, सम्झौताबमोजिमको कार्य अगाडि नबढाउनु भनी उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ ।'
यती समूहसँग सरकारले गरेको सम्झौता त्रुटीपूर्ण रहेको भन्दै अधिवक्ता परिवर्तन राईले अदालतमा रिट हालेका थिए ।