
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका नयाँपुलमा शुक्रवार डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ट्रकको ठक्करबाट सडकछेउ हिँड्दै गरेकी गोरखा पालुङटारकी १० वर्षीया सुरता परियारको मृत्यु भएको छ ।
उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।
ट्रकको ठक्करबाट १३ वर्षीय सुमित परियार घाइते भएको र उनको भरतपुरमा उपचार भइरहेको छ । मृतक बालिकाको दाहिने खुट्टा र कम्मरमुनिको भाग ट्रकको चक्काले पेलिएको थियो । चालक र ट्रक प्रहरी नियन्त्रणमा छन् ।
घाइतेको उपचार हुँदै
तनहुँको घिरिङ गाउँपालिकास्थित कृष्ण मोटरमार्गमा शुक्रवार भएको बस दुर्घटनामा परी घाइते भएका २२ जनाको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको छ । पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग१ख ६१७५ नम्बरको बस घिरिङ थानीमाईमा अनियन्त्रित भई सडकबाट ४० मिटर तल खस्दा बसमा सवार २ जनाको मृत्यु भएको थियो ।
दुर्घटनामा घिरिङ –१ बस्ने २० वर्षीया मुना थापा र घिरिङ–३ बस्ने ४२ वर्षीया नानीमाया गुरुङको मृत्यु भएको थियो प्रहरी नायब उपरीक्षक लामिछानेले घाइतेको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको बताए ।