काठमाडौं, ६ पुस- रौतहटस्थित नेपाल–भारत सीमा क्षेत्रबाट घातक हतियार इन्सास नेपाल भित्रिएको विषयमा सुरुमा प्रहरीले चासो देखाएको भए पनि अहिले अनुसन्धान नै नगरी चुपचाप बसेको आजको राजधानी दैनिकमा खबर छ | सो घटनालाई सुरुमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, विशेष ब्युरो तथा मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडा र रौतहट प्रहरीले पनि चासो दिएको थियो । तर, हतियार ल्याउने मानिस नै दोहोरो भिडन्तमा मारिएको भन्दै प्रहरी अहिले अनुसन्धान नै अगाडि नबढाई चुपचाप बसेको हो ।
.jpg?1482283832794)
२९ कात्तिकमा रौतहटको लालबकैया नदीको बाँधनजिकै हतियार कारोबारी सक्रिय रहेको भन्दै मध्यक्षेत्रीय प्रहरीको विशेष टोली र रौतहट प्रहरीले संयुक्त कारबाही गर्दा भारतीय नागरिक तेजिलाल साह सो हतियार ल्याउँदै गरेको अवस्थामा दोहोरो भिडन्तमा मारिएका थिए । त्यतिबेला मध्यक्षेत्रीय प्रहरी कार्यालय दरबन्दी भएका प्रहरी जवान सुरेन्द्र चौधरी घाइते भएका थिए ।
प्रहरीले सो समूहको साथमा रहेको एक थान इन्सास राइफल, एक थान इटालियन पेस्तोल र एक थान नलकटुवा बन्दुक तथा गोली बरामद गरेको थियो । भिडन्तका क्रममा हतियारधारी समूहले १२ राउन्ड र प्रहरीले २८ राउन्ड गोली चलाएको थियो । त्यतिबेला रौतहट प्रहरीले विशेष ब्युरोलाई आपराधिक समूह भएको रिपोर्ट दिएपछि ब्युरोले चासो दिएन ।
‘हाम्रो काम उसको संलग्नता भूमिगत समूह वा अन्य राजनीतिक समूहसँग छ कि भन्ने थियो, त्यस्तो रिपोर्ट नआएपछि त्यो घटनामा चासो दिइएन,’ ब्युरो स्रोतले भन्यो ।