
अस्थायीरूपमा ट्रयाक खुलेर यातायात सञ्चालन हुन थालेको १४ वर्षपछि पासागाड–रिम्ना सडकखण्डको कालोपत्र गर्ने कार्य शुरू भएको छ ।
भेरी करिडोरअन्तर्गत पर्ने जिल्ला सदरमुकामको पासागाडबाट रिम्नासम्मको पहिलो चरणमा कालोपत्रको काम शुरू गरिएको सडक डिभिजन कार्यालय चौरजहारीले जनाएको छ ।
मंगलवार डिभिजन कार्यालयले बोलपत्र आह्वान गरेर कामको शुरूआत गरेको हो ।
जाजरकोटको पासागाडबाट डोल्पासम्म पर्ने भेरी करिडोरअन्तर्गत बहुवर्षे ठेक्कामार्फत काम शुरू गरिएको छ । पहिलो चरणमा पासागाड–रिम्ना सडकखण्डको काम शुरू गर्ने प्रक्रिया अगाडि बढेको छ भने दोस्रो चरणमा रिम्ना–चिसापानी हुँदै तल्लुसम्मको काम शुरू हुने सडक डिभिजन कार्यालयले जनाएको छ ।
छिन्चु–जाजरकोट सडकखण्डमा पासागाडसम्म कालोपत्र भएकाले त्यहाँबाट रिम्नासम्म पहिलो चरणमा कालोपत्र गर्न लागिएको हो ।
भेरी करिडोरअन्तर्गत सडकको स्तरोन्नतिसँगै कालोपत्र गर्ने काम यो आर्थिक वर्षबाट शुरू भइसकेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताए । मन्त्री बस्नेतको भेरी करिडोरमा तत्काल कालोपत्र गर्ने चुनावी नारासमेत रहेको थियो । अस्थायी ट्रयाक खोलेको १४ वर्षसम्म सडकको स्तरोन्नति नहुँदा सडकखण्डमा यात्रा गर्ने यात्रुले सास्ती भोग्दै आएका थिए ।
जाजरकोट–डोल्पा सडकखण्डकको मुख्य भाग रहेको यस खण्डमा कच्ची तथा साँघुरो सडक हुँदा आधा दर्जन दुर्घटनासमेत भइसकेका छन् । वर्षायाममा वर्षेनी अवरुद्ध हुँदै आएको यस खण्डमा हिउँदयाममा मात्र यातायातका साधन सञ्चालन हुने गरेका छन् ।
२८ किलोमिटर सडक पहिलो चरणमा काम हुनेछ । बहुवर्षे ठेक्काअनुसार काम पूरा गर्दै अगाडि बढ्दै जाने लक्ष्यका साथ काम शुरू भएको मन्त्री बस्नेतले जानकारी दिए । – हेमन्त केसी/रासस