
स्थानीय जनप्रतिनिधि र प्रहरीको संयुक्त पहलमा छाउगोठ भत्काउने अभियान शुरू भएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिकामा मंगलवार १२ वटा छाउगोठ भत्काइएको छ ।
भीमदत्त नगरपालिका–३ तिलकपुरमा ७ र वडा नम्बर ७ मा ५ गरी १२ वटा छाउगोठ भत्काइएको हो ।
वडा प्रहरी कार्यालय भीमदत्तनगरका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले वडा कार्यालयसितको समन्वयमा छाउगोठ भत्काउने काम भएको जानकारी दिँदै अभियानले निरन्तरता पाउने बताए ।
भत्काएका छाउगोठ पुनःनिर्माण गरिए वडा कार्यालयबाट उपलब्ध सुविधा दिन रोक लगाइने भीमदत्त नगरपालिका–३ का वडाध्यक्ष रामबहादुर जप्रेलले बताए ।
‘यसअघि पनि हामीले छाउगोठ भत्काएका थियौं,’ वडाध्यक्ष जप्रेलले भने, ‘केही स्थानीयले फेरि निर्माण गरेको पनि भेटियो ।’
कञ्चनपुरको शुक्लाफाँटामा पनि सोमवारदेखि स्थानीय तह र प्रहरी प्रशासनको पहलमा छाउगोठ भत्काउने अभियान शुरू भएको शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरले जानकारी दिए ।